सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

२ कोरिन्थी १०:१-१८

१०  अब म पावल, ख्रीष्टले देखाउनुभएको नम्रता र दयाको आधारमा तिमीहरूलाई बिन्ती गर्छु, तिमीहरूमाझ हुँदा म रवाफिलो नदेखिए तापनि अनुपस्थित हुँदा भने म कडाइकासाथ तिमीहरूलाई सम्झाउँछु। २  म तिमीहरूलाई साँच्चै बिन्ती गर्छु, तिमीहरूमाझ उपस्थित हुँदा मैले कडाइकासाथ तिमीहरूलाई सम्झाउन नपरोस् जस्तो कि हामी शारीरिक झुकावअनुसार चल्छौं भन्ठान्ने कसै-कसैलाई मैले सम्झाउने विचार गरेको थिएँ। ३  किनकि हाम्रो जीवन अरू मानिसहरूको भन्दा फरक नभए तापनि शारीरिक सोचाइअनुसार हामी लडाइँ लड्दैनौं। ४  किनकि हामीले लडाइँमा चलाउने हतियार शारीरिक होइनन्‌ तर परमेश्वरले दिनुभएका शक्तिशाली हतियार हुन्‌ जसले गहिरो जरा गाडेर बसेका कुराहरूलाई उखेल्न सक्छ। ५  किनकि परमेश्वरको ज्ञानविरुद्ध उठाइने तर्कवितर्क र हरेक विघ्नबाधालाई हामी उखेल्दैछौं; अनि हरेक विचारलाई कैद गरेर त्यसलाई ख्रीष्टको आज्ञाकारी बनाइरहेका छौं; ६  अनि तिमीहरूले आफूलाई पूर्णतया आज्ञाकारी साबित गर्नेबित्तिकै प्रत्येक अनाज्ञाकारीलाई सजाय दिन हामी तयार भएर बसेका छौं। ७  तिमीहरू मुख हेरेर निर्णय गर्छौ। यदि कसैले आफू ख्रीष्टको हुँ भनेर आफैमाथि भरोसा गर्छ भने उसले यो कुरा फेरि विचार गरोस् कि जसरी ऊ ख्रीष्टको हो, हामी पनि ख्रीष्टका हौं। ८  किनकि यदि प्रभुले हामीलाई दिनुभएको अख्तियारको विषयमा मैले अलि बढी नै घमन्ड गरें भने पनि म सरममा पर्नेछैन किनभने हामीले त्यो अख्तियार तिमीहरूको उत्थान गराउन पाएका हौं, पतन गराउन होइन। ९  तर मैले यस्तो कुरा गरेर आफ्ना पत्रहरूमार्फत तिमीहरूलाई तर्साउन खोजेको हुँ भनी नठान। १०  किनकि तिनीहरू भन्छन्‌: “उसका पत्रहरू वजनदार अनि जोडदार छन्‌ तर यहाँ उपस्थित हुँदा भने उसको ठाँटबाँट केही देखिंदैन र सुन्न लायकको केही कुरा उसले बोल्दैन।” ११  त्यस्तो मानिसले यो कुरा विचार गरोस् कि अनुपस्थित हुँदा हामी आफ्ना पत्रहरूमार्फत जे भन्छौं, उपस्थित हुँदा त्यही गरेर पनि देखाउनेछौं। १२  किनकि आफ्नो तारिफ गर्ने कोही-कोही मानिसहरूको श्रेणीमा आफूलाई राख्ने वा तिनीहरूसित आफूलाई दाँज्ने आँट हामी गर्दैनौं। आफ्नो नापले आफैलाई नापेर अनि आफूलाई आफैसित दाँजेर तिनीहरूले वास्तवमा आफू बेसमझका छौं भनी देखाउँछन्‌। १३  जहाँसम्म हाम्रो कुरा छ, हामीलाई जुन इलाका खटाइएको छ, त्यसको सीमा नाघेर घमन्ड गर्दैनौं तर नापेर जुन इलाका परमेश्वरले हामीलाई तोकिदिनुभएको छ, त्यस सीमाभित्र तिमीहरू पनि पर्ने भएकाले त्यही सीमाभित्र रहेर हामी घमन्ड गर्छौं। १४  मानौं, तिमीहरू हाम्रो इलाकामा पर्दै नपरे जस्तो गरी हामी आफ्नो इलाकाबाहिर गएका छैनौं, किनकि ख्रीष्टसित सम्बन्धित सुसमाचार घोषणा गर्न तिमीहरूकहाँ सबैभन्दा पहिला पुग्ने हामी नै थियौं। १५  अहँ, हामी आफूलाई खटाइएको इलाकाको सीमाबाहिर गएर अरू कसैको परिश्रममा घमन्ड गर्दैनौं, बरु जहाँसम्म हाम्रो इलाकाको कुरा छ, हामीले यो आशा राखेका छौं कि जसै-जसै तिमीहरूको विश्वास बढ्दै जान्छ, तिमीहरूमाझ हाम्रो सफलता पनि झन्‌-झन्‌ बढ्दै जानेछ। त्यसपछि हामी झनै बढ्दै जानेछौं र १६  तिमीहरूको भन्दा पर-परका देशहरूमा पनि सुसमाचार घोषणा गर्नेछौं। किनकि अरू कसैको इलाकामा पहिल्यै भइसकेको काममा हामी घमन्ड गर्न चाहँदैनौं। १७  “बरु जसले घमन्ड गर्छ, उसले यहोवामा घमन्ड गरोस्।” १८  किनकि जसले आफ्नो तारिफ गर्छ, उसले यहोवाको अनुमोदन पाउँदैन तर त्यो मानिसले पाउँछ, जसको तारिफ उहाँ गर्नुहुन्छ।

फुटनोटहरू