अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ पत्रुस ४:१-१९

 मानिसको रूपमा हुनुहुँदा ख्रीष्टले दुःख भोग्नुभएको हुनाले तिमीहरूले पनि उहाँको जस्तै मानसिक झुकाव विकास गर; किनकि जसले मानिसको रूपमा दुःख भोगेको हुन्छ, उसले पाप गर्न छोडेको हुन्छ, २  ताकि उसले आफ्नो मानव जीवनको बाँकी समय मानिसहरूको अभिलाषा पूरा गर्न होइन तर परमेश्वरको इच्छा पूरा गर्न बिताउन सकोस्। ३  किनकि छाडा आचरण, कामवासना, अचाक्ली मद्यपान, भोजको मोजमस्ती, मद्यपानको होडबाजी र घृणित मूर्तिपूजामा लागेर तिमीहरूले संसारका मानिसहरूको इच्छा पूरा गर्न जे-जति समय बितायौ, त्यो नै यथेष्ट छ। ४  तिमीहरू तिनीहरूसित यस्तो दुराचारको दलदलमा नबसिरहेको हुनाले तिनीहरू चकित भएका छन्‌ र तिमीहरूको विषयमा दुर्वचन बोल्छन्‌। ५  तर यी मानिसहरूले जीवित र मृतकहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनेछन्‌। ६  वास्तवमा, यसै उद्देश्यले मृतकहरूलाई* पनि सुसमाचार घोषणा गरियो, ताकि मानिसहरूले तिनीहरूको बाहिरी रूप हेरेर न्याय गरून्‌ तर परमेश्वरको नजरमा तिनीहरू उहाँको पवित्र शक्तिको निर्देशनअनुसार जिऊन्‌। ७  तर सबै कुराको अन्त नजिक आइपुगेको छ। त्यसैले सुझबुझ चलाओ र प्रार्थना गर्ने विषयमा सजग भइरहो। ८  विशेष गरी, आपसमा प्रगाढ प्रेम गर, किनकि प्रेमले असङ्ख्य पापहरू ढाक्छ। ९  गनगन नगरी एक-अर्काको अतिथि-सत्कार गर। १०  तिमीहरू हरेकले परमेश्वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्न तरिकामा प्रकट भएको परमेश्वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एक-अर्काको सेवा गर्नमा चलाओ। ११  यदि कोही बोल्छ भने परमेश्वरको पवित्र वचन बोलोस् अनि यदि कसैले सेवा गर्छ भने परमेश्वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्, ताकि येशू ख्रीष्टद्वारा सबै कुरामा परमेश्वरको महिमा होस्। महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्‌। आमिन। १२  हे प्रियहरू हो, तिमीहरूबीच परीक्षाको जुन आगो सल्किरहेको छ, मानौं आफूमाथि कुनै अनौठो घटना आइलागेजस्तो गरी यसमा अचम्म नमान। १३  बरु ख्रीष्टका दुःखहरूमा साझेदार हुन पाएकोमा रमाओ। त्यसो गऱ्यौ भने उहाँको महिमा प्रकट हुँदा तिमीहरू रमाउन र अत्यन्तै खुसी हुन सक्नेछौ। १४  ख्रीष्टको नामको खातिर तिमीहरूको बदनाम भइरहेको छ भने तिमीहरू आनन्दित हौ, किनकि परमेश्वरको पवित्र शक्ति र त्यसको महिमा तिमीहरूमाथि छ। १५  तर तिमीहरू कसैले पनि हत्यारा, चोर, कुकर्मी वा अरूको निजी मामिलामा हात हाल्ने मानिसको रूपमा दुःख भोग्नु नपरोस्। १६  तर यदि कसैले ख्रीष्टियन भएको कारण दुःख भोग्छ भने उसले सरम नमानोस् तर ख्रीष्टियनको रूपमा जीवन बिताएर परमेश्वरको महिमा गरिरहोस्। १७  किनकि परमेश्वरको घरबाटै न्याय सुरु गर्न तोकिएको समय अहिल्यै हो। अब यदि हामीबाटै न्याय सुरु हुन्छ भने परमेश्वरको सुसमाचारप्रति आज्ञाकारी नहुनेहरूको हालत के होला? १८  “यदि परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसको त बल्लतल्ल उद्धार हुन्छ भने उहाँको स्तरविपरीत चल्ने र पापी मानिस झन्‌ कहाँ टिक्न सक्ला र?” १९  त्यसकारण, परमेश्वरको इच्छाअनुसार चलेको हुनाले ज-जसले दुःख भोगिरहेका छन्‌, तिनीहरूले असल काम गर्दै आफ्नो ज्यान विश्वासयोग्य सृष्टिकर्तालाई सुम्पिरहून्‌।

फुटनोटहरू

१प ४:६ * स्पष्ट छ, यसले आफ्ना पापहरूको कारण जो मरेसरह थिए, तिनीहरूलाई बुझाउँछ। एफिसी २:१ हेर्नुहोस्।