अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ पत्रुस ३:१-२२

 त्यसैगरि, हे पत्नीहरू हो, आ-आफ्ना पतिको अधीनमा बस, ताकि तिनीहरूमध्ये कसै-कसैले परमेश्वरको वचन नमाने तापनि तिमीहरूको असल चालचलनद्वारा विनावचन तिनीहरूलाई मनाउन सकियोस्; २  तिमीहरूको चोखो चालचलन अनि गहिरो आदर आफ्नै आँखाले देखेर तिनीहरू परमेश्वरको वचन पालन गर्ने होऊन्‌। ३  त्यसैगरि, तिमीहरूको सिंगार बाहिरी सिंगार नहोस्, जस्तै कपाल बाट्ने, सुनको गरगहना लगाउने वा राम्रा-राम्रा लुगाहरू लगाउने; ४  बरु तिमीहरूको सिंगार मनको सिंगार होस् र तिमीहरू शान्त अनि नम्र मनोभावको अविनाशी पोसाक लगाओ, किनकि परमेश्वरको नजरमा त्यो ठूलो मोलको हुन्छ। ५  किनभने परमेश्वरमाथि आशा राख्ने उहिले-उहिलेका पवित्र स्त्रीहरूले पनि आ-आफ्ना पतिको अधीनमा बसेर आफूलाई त्यसैगरि सिंगार्थे। ६  जस्तै, साराले अब्राहामलाई “प्रभु” भनेर पुकार्दै तिनको आज्ञा पालन गर्थिन्‌। तिमीहरूले असल काम गरिरह्यौ अनि कुनै कुरामा डराएनौ भने तिमीहरू पनि उनका छोरीहरू बन्न सक्नेछौ। ७  त्यसैगरि, हे पतिहरू हो, आ-आफ्ना पत्नीको मनको कुरा राम्ररी बुझेर तिनीहरूसित जीवन बिताइरहो। स्त्रीजातिलाई आफूभन्दा कोमल पात्र सम्झेर आदर गर, किनकि तिनीहरू पनि तिमीहरूजस्तै परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू हुन्‌। यसो गऱ्यौ भने तिमीहरूको प्रार्थनामा बाधा पुग्नेछैन। ८  अन्तमा म के भन्न चाहन्छु भने, तिमीहरू सबै एकै मनका होओ, एक-अर्काको पीडा महसुस गर, भ्रातृस्नेह प्रकट गर, कोमलताले भरिएको करुणा देखाओ अनि नम्र मनोभाव राख, ९  खराबीको बदला खराबी नगर, गालीको सट्टा गाली नगर, बरु यसको ठीक विपरीत तिनीहरूलाई आशिष्‌ देओ, किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ, ताकि तिमीहरू आफै पनि आशिष्‌को उत्तराधिकारी हुन सक। १०  “जसले जीवनलाई प्रेम गर्छ र आनन्दित भएर जीवन बिताउन चाहन्छ, उसले आफ्नो जिब्रोलाई खराबीबाट अलग राखोस् र आफ्नो ओठलाई छली कुरा बोल्नदेखि रोकोस्, ११  खराबीबाट फर्केर उसले जे असल छ, त्यो गरोस् अनि शान्ति खोजेर त्यसलाई कायमै राख्ने प्रयास गरिरहोस्। १२  किनकि ज-जसले परमेश्वरको स्तरबमोजिम असल काम गर्छन्‌, तिनीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूको उत्कट बिन्ती सुन्न उहाँले आफ्नो कान थाप्नुहुन्छ; तर ज-जसले खराब काम गर्छन्‌, तिनीहरूदेखि यहोवाले आफ्नो अनुहार फर्काउनुहुन्छ।” १३  हुन पनि, तिमीहरू असल काम गर्नमा जोसिला भयौ भने कसले तिमीहरूलाई हानि पुऱ्याउन सक्छ र? १४  बरु परमेश्वरको स्तरबमोजिम असल काम गरेकोले दुःख भोग्नै पऱ्यो भने पनि तिमीहरू आनन्दित हुनेछौ। तथापि, तिनीहरू जुन कुरासित डराउँछन्‌, तिमीहरू त्यससित नडराओ न त त्यसले गर्दा व्याकुल नै होओ। १५  आ-आफ्नो मनमा ख्रीष्टलाई प्रभु मानेर तिमीहरू उहाँलाई पवित्र सम्झ। यदि कसैले तिमीहरूको आशाको कारणबारे सोध्यो भने तिनीहरूलाई जवाफ दिन सधैं तयार भइरहो तर जवाफ दिंदा तिमीहरूले कोमल भाव र गहिरो आदर देखाओ। १६  आफ्नो अन्तस्करण सफा राख, ताकि ज-जसले तिमीहरूविरुद्ध केही बोल्छन्‌ र तिमीहरूको असल ख्रीष्टियन आचरणबारे कुरा काट्छन्‌, तिनीहरू लज्जित होऊन्‌। १७  असल काम गर्दागर्दै पनि तिमीहरूले दुःख भोगोस् भन्ने परमेश्वरको इच्छा रहेछ भने खराब काम गरेर दुःख भोग्नुभन्दा त असल काम गरेर दुःख भोग्नु नै बेस। १८  भनौं भने, परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस अर्थात्‌ ख्रीष्ट आफै पनि हाम्रा पापहरू हटाउन अनि हामीलाई डोऱ्याएर परमेश्वरकहाँ पुऱ्याउन एकै चोटि सदाका लागि मर्नुभयो। उहाँ मानिसको रूपमा मर्नुभयो तर अदृश्य व्यक्तिको* रूपमा ब्यूँताइनुभयो। १९  यस्तै रूपमा उहाँ आफ्नो बाटो लाग्नुभयो र कैदमा परेका दुष्ट स्वर्गदूतहरूलाई प्रचार गर्नुभयो, २०  जसले नूहको दिनमा परमेश्वरले धैर्य गरिरहनुभएको बेला उहाँको आज्ञा उल्लङ्घन गरेका थिए। त्यसबेला जहाज पनि निर्माण हुँदै थियो, जसभित्र पसेर केही मानिसहरू अर्थात्‌ आठ जना* पानीबाट बचे। २१  यस घटनाले जुन कुरालाई सङ्केत गर्छ, अर्थात्‌ बप्तिस्माले* (जसको अर्थ, शरीरको मैला पखाल्नु होइन तर सफा अन्तस्करणको निम्ति परमेश्वरसित बिन्ती गर्नु हो,) येशू ख्रीष्टको पुनर्जीवनद्वारा अहिले तिमीहरूलाई पनि बचाउँदैछ। २२  उहाँ स्वर्ग गइसक्नुभयो, त्यसैले उहाँ परमेश्वरको दाहिने हाततर्फ हुनुहुन्छ अनि स्वर्गदूतहरू, अख्तियारहरू अनि शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।

फुटनोटहरू

१प ३:१८ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
१प ३:२० * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
१प ३:२१ मत्ती ३:१ को फुटनोट हेर्नुहोस्।