सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ पत्रुस २:१-२५

 त्यसैले, हरकिसिमका खराबी, छल, कपट, ईर्ष्या अनि अरूको कुरा काट्ने बानी त्यागिहाल, २  र नवजात शिशुहरूले झैं परमेश्वरको वचनमा पाइने शुद्ध दूधको तिर्सना गर, जसद्वारा तिमीहरू उद्धार पाउनका लागि बढ्दै जान सक्नेछौ, ३  किनकि प्रभु दयालु हुनहुन्छ भनेर तिमीहरूले स्वाद पाइसकेका छौ। ४  हो, जसलाई मानिसहरूले तिरस्कार गरे तर परमेश्वरले चुन्नुभयो अनि बहुमूल्य ठान्नुभयो, तिमीहरू त्यस जीवित ढुङ्गोकहाँ आयौ ५  अनि तिमीहरू पवित्र पुजारीको दल बन्न सकोस् र परमेश्वरको पवित्र शक्तिको निर्देशनबमोजिम तिमीहरूले येशू ख्रीष्टमार्फत उहाँलाई स्वीकार्य बलिदान चढाउन सकोस् भनेर तिमीहरू आफै पनि जीवित ढुङ्गाको हैसियतले परमेश्वरको पवित्र शक्तिद्वारा बनाइँदै गरेको घर भएका छौ। ६  किनकि धर्मशास्त्रमा यस्तो लेखिएको छ: “हेर, म सियोनमा एउटा ढुङ्गो बसाल्दैछु, जुन चुनिएको अनि जगको कुनाको शिरढुङ्गो हो र त्यो बहुमूल्य छ; त्यसमाथि विश्वास गर्ने कोही पनि कुनै हालतमा निराश हुनेछैन।” ७  त्यसैले तिमीहरूको निम्ति उहाँ बहुमूल्य हुनुहुन्छ, किनकि तिमीहरूले उहाँमाथि विश्वास गऱ्यौ तर विश्वास नगर्नेहरूको निम्ति भने “जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ।” ८  अनि “ठेस लाग्ने ढुङ्गा र ठक्कर खाने चट्टान” बनेको छ। तिनीहरू ठेस खान्छन्‌, किनकि तिनीहरू परमेश्वरको वचन पालन गर्दैनन्‌। तिनीहरूको अन्त यसरी नै हुनुपर्ने हो। ९  तर तिमीहरू त “चुनिएको जाति,” शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्वरको विशेष सम्पत्ति हौ। त्यसकारण, जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्भुत ज्योतिमा ल्याउनुभयो, उहाँका असल गुणहरूबारे तिमीहरूले चारैतिर घोषणा गर्नुपर्छ। १०  किनकि कुनै बेला तिमीहरू परमेश्वरका जन थिएनौ तर अहिले परमेश्वरका जन हौ; तिमीहरू कृपा नपाएका मानिसहरू थियौ तर अहिले भने कृपा पाएका मानिसहरू भएका छौ। ११  हे मेरा प्रियहरू हो, परदेशी अनि प्रवासीहरूझैं शरीरका लालसाहरूदेखि अलग बसिरहो भनेर म तिमीहरूलाई आग्रह गर्छु। किनकि यस्तै लालसाहरूले तिमीहरूको जीवनसित* सङ्घर्ष गर्छ। १२  संसारका मानिसहरूबीच तिमीहरूको चालचलन असल भइरहोस्, ताकि तिमीहरूलाई कुकर्मी भनेर दोष लगाउने मानिसहरूले आफ्नै आँखाले तिमीहरूको असल काम देखून्‌ र परमेश्वरले जाँच्नुहुने दिनमा उहाँको महिमा गरून्‌। १३  प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस: चाहे राजाको, किनकि तिनी अरूभन्दा ठूला हुन्‌ १४  वा चाहे राज्यपालहरूको, किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न तिनले पठाएका मानिसहरू हुन्‌। १५  परमेश्वरको इच्छा पनि यही छ, कि तिमीहरूले असल काम गरेर ती अज्ञानी मानिसहरूको मुखमा बुजो लगाओ, जो तिमीहरूविरुद्ध बेकारका कुराहरू बोल्दै हिंड्छन्‌। १६  स्वतन्त्र मानिसहरूझैं बाँच तर आफ्नो स्वतन्त्रतालाई खराब काम गर्ने आड नबनाओ, बरु तिमीहरू परमेश्वरका दासहरूझैं चल। १७  हरप्रकारका मानिसहरूको आदर गर, सबै भाइहरूलाई प्रेम गर, परमेश्वरको डर मान अनि राजाको आदर गर। १८  आफ्ना मालिकहरूलाई दिनुपर्ने आदर दिंदै नोकरहरू उनीहरूको अधीनमा बसून्‌। तिनीहरू असल अनि व्यावहारिक मालिकहरूको मात्र होइन तर रिझाउन गाह्रो मालिकहरूको पनि अधीनमा बसून्‌। १९  परमेश्वरसामु आफ्नो अन्तस्करण सफा राख्न यदि कसैले दुःख झेल्छ अनि अन्याय सहन्छ भने त्यो राम्रै कुरा हो। २०  किनकि तिमीहरूले पाप गरेको हुनाले तिमीहरूलाई चड्कन हानियो र तिमीहरूले सह्यौ भने कुन ठूलो कुरा भयो र? तर तिमीहरूले असल काम गर्दागर्दै पनि दुःख आइपऱ्यो र तिमीहरूले सह्यौ भने त्यो पो परमेश्वरको नजरमा राम्रो कुरा हो। २१  भनौं भने, यसैको निम्ति तिमीहरू बोलाइएका हौ। किनभने ख्रीष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो र तिमीहरूले राम्ररी उहाँको पदचिन्ह पछ्याओस् भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्नुभयो। २२  उहाँले एउटै पाप गर्नुभएन अनि उहाँको मुखमा कुनै छल पाइएन। २३  अरूले गाली गर्दा उहाँले गाली फर्काउनुभएन। आफूले दुःख भोग्नुपर्दा उहाँले धम्काउनुभएन, बरु उचित ढङ्गमा न्याय गर्न सक्नुहुनेको हातमा आफूलाई सुम्पनुभयो। २४  हाम्रा पापहरू मेटिऊन्‌ अनि हामीले परमेश्वरको स्तरबमोजिम असल काम गर्न सकौं भनेर उहाँ आफैले हाम्रा पापहरू बोक्नुभयो र खम्बामा टाँगिनुभयो। अनि “उहाँका घाउहरूद्वारा तिमीहरू निको भयौ।” २५  तिमीहरू बाटो बिराएका भेडाहरूजस्तै थियौ; तर अब तिमीहरू आफ्नो गोठालो अनि तिमीहरूको जीवनको* रेखदेख गर्नेकहाँ फर्किएका छौ।

फुटनोटहरू

१प २:११ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
१प २:२५ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।