अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ पत्रुस १:१-२५

 येशू ख्रीष्टको प्रेषित,* पत्रुसको तर्फबाट पोन्टस, गलातिया, क्यापाडोसिया, एसिया * अनि बिथिनियामा अस्थायी बासिन्दाका रूपमा तितरबितर भएका चुनिएका जनहरूलाई, २  जसलाई आज्ञाकारी बनाउन र येशू ख्रीष्टको रगत छर्किन परमेश्वर, हाम्रा बुबाले आफ्नो पूर्वज्ञानअनुसार रोज्नुका साथै आफ्नो पवित्र शक्तिद्वारा पवित्र पार्नुभएको छ: तिमीहरूले पाइरहेको परमेश्वरको असीम अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्। ३  हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि बुबा धन्यका होऊन्‌, किनकि येशू ख्रीष्टलाई मृत्युबाट पुनर्जीवित* गरेर परमेश्वरले आफ्नो ठूलो कृपाअनुसार हामीलाई नयाँ जन्म दिएर जीवित आशा ४  अनि अविनाशी, विशुद्ध र नओइलाउने उत्तराधिकार दिनुभयो, जुन तिमीहरूका लागि स्वर्गमा साँचिएको छ। ५  हो, तिमीहरूसित विश्वास भएकोले आखिरी समयमा प्रकट गरिने उद्धारका लागि परमेश्वरले आफ्नो शक्तिद्वारा तिमीहरूलाई सुरक्षित राखिरहनुभएको छ। ६  यसमा तिमीहरू आफै पनि ठूलो रमाहट गर्छौ। तथापि, विभिन्न परीक्षाहरूले गर्दा अहिले केही समयका लागि भने तिमीहरूले दुःख भोग्नु आवश्यक छ, ७  ताकि आगोले खारिएको भए तापनि नष्ट भइजाने सुनभन्दा यसरी जाँचिएर अमूल्य साबित भएको तिमीहरूको विश्वास येशू ख्रीष्ट प्रकट हुँदा प्रशंसा, महिमा अनि आदर पाउने कारण बन्न सकोस्। ८  तिमीहरूले उहाँलाई कहिल्यै देखेनौ, तैपनि उहाँलाई प्रेम गर्छौ। अहिले तिमीहरू उहाँलाई देख्दैनौ, तैपनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय अनि ठूलो रमाहटले खुसी मनाउछौ। ९  किनकि तिमीहरूलाई थाह छ, तिमीहरूको विश्वासले गर्दा तिमीहरूले इनामस्वरूप उद्धार पाउनेछौ। १०  तिमीहरूका लागि साँचेर राखिएको असीम अनुग्रहबारे भविष्यवाणी गर्ने भविष्यवक्ताहरूले यही उद्धारबारे लगनशील भई सोधपुछ गर्नुका साथै होसियार भई खोजतलास गरेका थिए। ११  ख्रीष्टले भोग्ने दुःखकष्ट अनि त्यसपछि पाउने महिमाबारे आफूमाथि काम गरिरहेको पवित्र शक्तिले पहिल्यै साक्षी दिंदा त्यसले ख्रीष्टबारे कुन समय वा कुन परिस्थितिलाई औंल्याइरहेको थियो भनेर यी भविष्यवक्ताहरूले खोजतलास गरिरहे। १२  तर तिनीहरूले यसरी आफ्नो होइन, तिमीहरूको सेवा गरिरहेका थिए भनेर तिनीहरूलाई प्रकट गरियो। तिमीहरूलाई सुसमाचार सुनाउनेहरूले स्वर्गबाट पठाइएको पवित्र शक्तिद्वारा ती कुरा अहिले तिमीहरूसामु घोषणा गरेका छन्‌। स्वर्गदूतहरूसमेत ती कुराहरू बुझ्न अति इच्छा गर्छन्‌। १३  त्यसैले तिमीहरू आफ्नो कम्मर कस, पूर्णतया सचेत रहो अनि येशू ख्रीष्ट प्रकट हुँदा तिमीहरूलाई देखाइने असीम अनुग्रहमाथि आफ्नो आशा राखिरहो। १४  परमेश्वरको ज्ञान नहुँदा तिमीहरू जुन इच्छाअनुसार हिंड्थ्यौ, अब आज्ञाकारी बालकहरू भएर त्यसअनुसार चल्न छोड। १५  तर तिमीहरूलाई बोलाउनुहुने परमेश्वर जस्तो पवित्र हुनुहुन्छ तिमीहरू पनि आफ्नो सारा चालचलनमा पवित्र होओ, १६  किनभने यस्तो लेखिएको छ: “तिमीहरू पवित्र हुनै पर्छ, किनकि म पवित्र छु।” १७  यसबाहेक, हरेकको कामअनुसार निष्पक्ष न्याय गर्नुहुने बुबालाई तिमीहरू पुकार्छौ भने अहिले प्रवासी भएर बसिरहेको बेला तिमीहरू परमेश्वरको डर मान्दै चल। १८  किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट पाएको निरर्थक परम्पराबाट चाँदी वा सुनजस्ता नाशवान्‌ वस्तुहरूद्वारा छुटकारा पाएका होइनौ, १९  तर निष्खोट अनि बेदाग थुमा, अर्थात्‌ ख्रीष्टको अमूल्य रगतद्वारा पाएका हौ। २०  हो, संसारको प्रारम्भ* हुनुअगावै परमेश्वरले ख्रीष्टलाई चुन्नुभएको थियो तर तिमीहरूका खातिर अन्तको समयमा मात्र उहाँ प्रकट गराइनुभयो, २१  जसद्वारा तिमीहरू परमेश्वरमाथि विश्वास गर्छौ र तिमीहरूले परमेश्वरमाथि विश्वास अनि आशा गर्न सक भनेर उहाँले ख्रीष्टलाई मृत्युबाट ब्यूँताएर महिमा दिनुभयो। २२  सत्यको वचन पालन गरेर तिमीहरूले आफूलाई* शुद्ध पारेको हुनाले अब निष्कपट भ्रातृस्नेह देखाओ अनि आपसमा मनैदेखि प्रगाढ प्रेम गर। २३  तिमीहरूले विनाशी होइन तर अविनाशी बीउ अर्थात्‌ जीवित र अनन्त परमेश्वरको वचनद्वारा नयाँ जन्म पाएका छौ। २४  किनकि, “सबै मानिस घाँसजस्तै हुन्‌ अनि तिनीहरूको गौरव घाँसको फूलजस्तै; घाँस ओइलाउँछ र त्यसको फूल पनि झरिहाल्छ २५  तर यहोवाको वचन भने सधैंभरि रहिरहन्छ।” यो त्यही “वचन” हो, जुन तिमीहरूलाई सुसमाचारको रूपमा सुनाइएको छ।

फुटनोटहरू

१प १:१ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलस।”
१प १:१ प्रेषित २:९ को फुटनोट हेर्नुहोस्।
१प १:३ * वा, “पुनरुत्थान।”
१प १:२० मत्ती २५:३४ को फुटनोट हेर्नुहोस्।
१प १:२२ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।