सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ थिस्सलोनिकी ३:१-१३

 बिछोडको पीडा सहन गाह्रो भएपछि एथेन्समा एक्लै रहनु हामीलाई ठीक लाग्यो; २  अनि हाम्रा भाइ तिमोथी, जो ख्रीष्टबारे सुसमाचार सुनाउन परमेश्वरले खटाउनुभएको सेवक हुन्‌, तिनले नै तिमीहरूलाई स्थिर गराऊन्‌ र तिमीहरूको विश्वासलाई दह्रो बनाऊन्‌ भनेर तिनलाई तिमीहरूकहाँ पठायौं, ३  ताकि यस्ता सङ्कष्टहरूले गर्दा तिमीहरूमध्ये कोही पनि ढलपल नहोस्। किनकि यी कुराहरू हामीमाथि निश्चय आइपर्नेछन्‌ भनेर तिमीहरूलाई पनि थाहै छ। ४  वास्तवमा, हामीले सङ्कष्ट भोग्नुपर्नेछ भनेर तिमीहरूसित हुँदा हामीले पहिल्यै भन्ने गरेका थियौं र ठीक त्यस्तै भएको छ, जुन तिमीहरूलाई पनि थाहै छ। ५  हो, यसरी तिमीहरूसितको बिछोड सहन गाह्रो भइरहेको बेला, कतै प्रलोभकले तिमीहरूलाई कसै गरी प्रलोभनमा त पारेन अनि कतै हाम्रो मेहनत खेर त गएन भनी तिमीहरूको वफादारिताबारे बुझ्न मैले तिमोथीलाई पठाएँ। ६  तर तिनी भर्खरै तिमीहरूकहाँबाट फर्केका छन्‌ र तिमीहरूको वफादारिता अनि प्रेमबारे हामीलाई राम्रो खबर सुनाएका छन्‌। तिमीहरू सधैं हाम्रो मीठो सम्झना गरिरहन्छौ र हामीले तिमीहरूलाई भेट्ने तीव्र इच्छा गरेजस्तै तिमीहरू पनि हामीलाई भेट्न तीव्र इच्छा गरिरहेका छौ भनेर पनि तिनले हामीलाई बताए। ७  त्यसैले हे भाइहरू हो, हामीले खाँचो अनि सङ्कष्टको सामना गर्नु परिरहेको भए तापनि तिमीहरूले देखाएको वफादारिताले गर्दा सान्त्वना पाइरहेका छौं। ८  प्रभुमा तिमीहरू स्थिर भएर बसेको हुनाले हामीमा फेरि ज्यान फर्केको छ। ९  तिमीहरूको निम्ति अनि तिमीहरूले गर्दा परमेश्वरसामु हामीले जुन आनन्द महसुस गरिरहेका छौं, ती सबैको निम्ति परमेश्वरलाई हामी के नै धन्यवाद दिन सक्छौं र? १०  तिमीहरूको मुहार हेर्न पाऔं अनि तिमीहरूको विश्वासमा जे-जस्तो कमी छ, त्यो पूरा गर्न पाऔं भनेर हामी दिनरात पूरा जोसका साथ उत्कट बिन्ती चढाइरहन्छौं। ११  अब हाम्रा परमेश्वर अनि बुबा आफैले र हाम्रा प्रभु येशूले तिमीहरूसम्म पुग्ने बाटो हामीलाई देखाऊन्‌। १२  यसबाहेक, जसरी तिमीहरूप्रति हाम्रो प्रेम बढ्दै गइरहेको छ, त्यसरी नै प्रभुले एक-अर्काप्रति अनि सबैप्रति तिमीहरूको प्रेम पनि बढाइरहून्‌; हो, तिमीहरूमा प्रशस्त गरी प्रेम भरिदेऊन्‌। १३  यसप्रकार, हाम्रा प्रभु येशू आफ्ना सबै पवित्र जनहरूसित उपस्थित हुनुहुँदा हाम्रा परमेश्वर अनि बुबासामु उहाँले तिमीहरूको मनलाई स्थिर, दोषरहित अनि पवित्र बनाऊन्‌।

फुटनोटहरू