अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ थिस्सलोनिकी २:१-२०

 हे भाइहरू हो, तिमीहरूलाई थाहै छ, कि हामीले तिमीहरूसित गरेको भेटघाट बेकार गएन, २  बरु कसरी फिलिप्पीमा दुःख अनि बेइज्जती भोगिसकेपछि (जुन कुरा तिमीहरूलाई थाहै छ) परमेश्वरको मदत पाएर हामीले साहस बटुल्यौं र ठूलो सङ्घर्ष गर्दै तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौं। ३  किनकि हामी तिमीहरूलाई कुनै गलत वा अशुद्ध कुराको आधारमा वा कुनै छली मनसायले अर्ती दिंदैनौं, ४  तर परमेश्वर, जसले हाम्रो मन जाँच्नुहुन्छ, उहाँले नै हामीलाई जाँचेर सुसमाचार सुम्पिन योग्य साबित गर्नुभएको हुनाले मानिसहरूलाई होइन तर परमेश्वरलाई प्रसन्न पार्न हामी प्रचार गर्छौं। ५  भनौं भने, हामीले न त कहिल्यै तिमीहरूको चापलुसी गऱ्यौं (जुन कुरा तिमीहरूलाई थाहै छ) न आफ्नो लालच ढाकछोप गर्न ढोंग नै रच्यौं, जसको साक्षी परमेश्वर हुनुहुन्छ! ६  हुन त, ख्रीष्टका प्रेषितहरू* भएको नाताले हामी तिमीहरूको निम्ति खर्चिलो बोझ बन्न सक्थ्यौं तर हामीले मानिसहरूबाट प्रशंसा खोजेनौं; अहँ, न तिमीहरूबाट न त अरूहरूबाटै। ७  बरु जसरी एक जना आमाले आफ्नो नवजात शिशुलाई दूध खुवाउँछिन्‌ अनि स्याहार गर्छिन्‌, त्यसरी नै हामीले पनि तिमीहरूसित कोमल व्यवहार गऱ्यौं। ८  तिमीहरूको निम्ति हामी यत्ति धेरै कोमल स्नेहले भरिएका थियौं, कि तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान* दिनसमेत हामी असाध्यै खुसी थियौं, किनकि तिमीहरू हाम्रो निम्ति प्रिय भएका थियौ। ९  हे भाइहरू हो, हाम्रो मेहनत र कडा परिश्रम तिमीहरूले पक्कै पनि बिर्सेका छैनौ। तिमीहरूमध्ये कसैको निम्ति खर्चिलो बोझ नबनौं भनेर दिनरात काम पनि गर्दै हामीले तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गऱ्यौं। १०  तिमीहरू, जो येशूका चेलाहरू भइसकेका छौ, तिमीहरूमाझ हामी कत्ति वफादार, असल अनि दोषरहित साबित भएका छौं, तिमीहरू आफै त्यसको साक्षी छौ अनि परमेश्वर पनि त्यसको साक्षी हुनुहुन्छ। ११  यसप्रकार, एक जना बुबाले आफ्नो छोराछोरीलाई गरेजस्तै हामीले पनि तिमीहरू हरेकलाई कसरी अर्ती र सान्त्वना दियौं अनि सम्झाइबुझाइ गऱ्यौं, त्यो तिमीहरूलाई राम्ररी थाह छ, १२  किनकि परमेश्वर, जसले तिमीहरूलाई आफ्नो राज्य अनि महिमाको भागीदार हुन बोलाउँदै हुनुहुन्छ, उहाँको सेवक कहलाइन योग्य जीवन तिमीहरूले बिताओस् भन्ने हामी चाहन्थ्यौं। १३  त्यसैले हामी निरन्तर परमेश्वरलाई धन्यवाद पनि चढाइरहन्छौं, किनकि तिमीहरूले हामीबाट सुनेको परमेश्वरको वचनलाई मानिसहरूको वचनको रूपमा होइन तर परमेश्वरकै वचनको रूपमा, जुन साँच्चै हो पनि, ग्रहण गऱ्यौ। अनि तिमीहरू, जो येशूका चेलाहरू भइसकेका छौ, तिमीहरूबीच त्यही वचनले काम पनि गरिरहेको छ। १४  हे भाइहरू हो, तिमीहरूले यहूदियामा भएका परमेश्वरका मण्डलीहरू, जो ख्रीष्ट येशूसित एकतामा छन्‌, तिनीहरूको अनुकरण गऱ्यौ, किनकि तिनीहरूले यहूदीहरूको हातबाट जस्तो दुःखकष्ट भोगिरहेका छन्‌, तिमीहरूले पनि आफ्ना देशवासीहरूको हातबाट त्यस्तै दुःखकष्ट भोग्न थालेका छौ। १५  ती यहूदीहरूले भविष्यवक्ताहरू अनि प्रभु येशू ख्रीष्टलाई समेत मारे र हाम्रो खेदो गरे। तिनीहरू परमेश्वरलाई मनपर्ने होइन, तर सबै मानिसहरूको अहित हुने काम गर्छन्‌। १६  जाति-जातिका मानिसहरूको उद्धार नहोस् भनेर उनीहरूलाई प्रचार गर्नदेखि तिनीहरू हामीलाई रोक्न खोज्छन्‌। यसो गरेर तिनीहरू आफ्नै पापको घैंटो भर्दैछन्‌। त्यसैले, तिनीहरूमाथि परमेश्वरको क्रोध पोखाउने समय अन्ततः आइपुगेको छ। १७  हे भाइहरू हो, केही समयका लागि बिछोड हुँदा तिमीहरूदेखि टाढा हुनु परे तापनि मनमा त तिमीहरू हामीसितै थियौ र तिमीहरूको मुहार हेर्ने तीव्र इच्छा गर्दै तिमीहरूलाई भेट्न हामीले भरमग्दुर कोसिस गऱ्यौं। १८  यसैकारण हामी तिमीहरूकहाँ आउन चाहन्थ्यौं। हो, म पावल तिमीहरूकहाँ आउन चाहन्थें तर सैतानले एक चोटि होइन, दुई-दुई चोटि हाम्रो बाटो छेक्यो। १९  हुन पनि, हाम्रा प्रभु येशूको उपस्थितिको बेला उहाँसामु हाम्रो आशा, खुसी अनि विजयको मुकुट के हुनेछ? के तिमीहरू नै हुनेछैनौ र? २०  निस्सन्देह, तिमीहरू नै हाम्रो महिमा अनि खुसी हौ।

फुटनोटहरू

१थि २:६ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
१थि २:८ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।