अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी ६:१-२१

 दासत्वको जुवामुनि हुनेहरूजति सबैले आ-आफ्नो मालिकलाई पूर्ण आदरको योग्य सम्झिरहून्‌, ताकि परमेश्वरको नाम र उहाँको शिक्षाको कहिल्यै बदनाम नहोस्। २  साथै, ज-जसको मालिक ख्रीष्टियन हुन्‌, तिनीहरूले आफ्नो मालिक सँगी भाइ त हो नि भन्दै नहेपून्‌। बरु तिनीहरूले अझ मेहनत गरेर सेवा गरून्‌, किनभने जसले तिनीहरूको असल सेवाबाट लाभ उठाइरहेका छन्‌, उनी तिनीहरूकै प्रिय ख्रीष्टियन भाइ हुन्‌। यी कुराहरू सिकाइरहनू अनि यी अर्तीहरू दिइरहनू। ३  यदि कुनै मानिसले अरू नै शिक्षा सिकाउँछ अनि हाम्रा प्रभु येशू ख्रीष्टको साँचो शिक्षा र परमेश्वरको भक्तिसित मेल खाने शिक्षासित ऊ सहमत हुँदैन भने ४  ऊ घमन्डले फुलेको हुन्छ र उसले कुनै कुरा बुझेको हुँदैन, बरु उसलाई सवालजबाफ गर्ने र शब्दहरूको विषयमा विवाद गर्ने मानसिक रोग लागेको हुन्छ। यी कुराहरूबाट ईर्ष्या, कलह, दुर्वचन र बदनियत शङ्का उत्पन्न हुन्छ। ५  भ्रष्ट दिमाग भएका र सत्यबाट तर्किएका ती मानिसहरू स-साना कुराहरूमा पनि चर्काचर्की गर्छन्‌ अनि परमेश्वरको भक्तिद्वारा केही लाभ पाउन सकिन्छ भन्ठान्छन्‌। ६  हो, धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्वरको भक्ति गर्नुपर्छ। ७  किनकि हामीले यस संसारमा न केही ल्यायौं न त केही बोकेर लैजान नै सक्छौं। ८  त्यसैले, खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं। ९  तर जो हरहालतमा धनी बन्न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌ अनि अनेकौं मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ। १०  किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन्‌ र थुप्रै पीडाले आफूलाई चोटै-चोट पुऱ्याएका छन्‌। ११  तर हे परमेश्वरको जन, तिमी भने यी कुराहरूदेखि भाग। बरु परमेश्वरको स्तरबमोजिमको असल काम, परमेश्वरको भक्ति, विश्वास, प्रेम, सहनशीलता र कोमल स्वभावको पछि लाग। १२  विश्वासको उत्तम लडन्त लड, अनन्त जीवनलाई दह्रोसित पक्रिराख, जसको निम्ति तिमी बोलाइएका थियौ अनि जसको पक्षमा तिमीले धेरै साक्षीसामु राम्रो जनघोषणा गरेका थियौ। १३  परमेश्वर, जसले सबै कुरालाई जीवित राख्नुहुन्छ अनि ख्रीष्ट येशू, जसले पन्तियस पिलातसको अगाडि राम्रो जनघोषणा गर्नुभयो, उहाँहरूसामु म तिमीलाई यो आदेश दिन्छु, १४  कि हाम्रा प्रभु येशू ख्रीष्ट प्रकट नहोउन्जेल बेदाग र दोषरहित रहेर यो आज्ञा पालन गर। १५  तोकिएको समयमा उहाँले आफूलाई प्रकट गर्नुहुनेछ, जो धन्य र एक मात्र अधिराज अनि राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हुनुहुन्छ, १६  जससित मात्र अमरता छ, जो कोही पुग्न नसक्ने ज्योतिमा बास गर्नुहुन्छ अनि जसलाई कुनै मानिसले देखेको छैन र देख्न पनि सक्दैन। आदर र अनन्त पराक्रम उहाँकै होस्। आमिन। १७  जो यस वर्तमान युगमा धनी छन्‌, तिनीहरूलाई के आदेश देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन तर हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित दिनुहुने परमेश्वरमा राखून्‌, १८  भलाइको काम गरून्‌, असल काममा धनी होऊन्‌, उदारचित्तका होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌ १९  अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ। यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌। २०  हे तिमोथी, तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसको हिफाजत गर अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र झूटा ज्ञानका परस्परविरोधी कुराहरूबाट अलग बस। २१  किनकि यस्तो ज्ञानको धक्कु लगाएर कोही-कोही विश्वासबाट तर्किएका छन्‌। परमेश्वरको असीम अनुग्रह तिमीहरूसित रहोस्।

फुटनोटहरू