सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी ५:१-२५

 वृद्ध पुरुषको कडा आलोचना नगर, तिनलाई बरु बुबालाई जस्तै गरी सम्झाऊ। त्यस्तै, युवकहरूलाई भाइलाई जस्तै गरी,  वृद्ध स्त्रीहरूलाई आमालाई जस्तै गरी अनि युवतीहरूलाई चाहिं चोखो मनले बहिनी सम्झेर सम्झाऊ।  साँच्चै खाँचोमा परेका विधवाहरूको आदर गर।  तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिना छन्‌ भने पहिला यिनीहरूले नै आफ्नो घरपरिवारमा परमेश्वरको भक्ति गर्न सिकून्‌ अनि आफ्नो आमाबाबु र बाजेबज्यैलाई उनीहरूले देखाएको उपकारको साटो तिरिरहून्‌, किनकि परमेश्वरको नजरमा यो ग्रहणयोग्य हुन्छ।  जो विधवालाई साँच्चै खाँचो परेको हुन्छ अनि जसको हेरविचार गर्ने कोही हुँदैन, तिनले आफ्नो आशा परमेश्वरमा राखेकी हुन्छिन्‌ र तिनी दिनरात उत्कट बिन्ती र प्रार्थना गर्नमा लागिरहन्छिन्‌।  तर जो शरीरको अभिलाषा पूरा गर्नतिर लाग्छिन्‌, तिनी जिउँदो भए तापनि मरेकै बराबर हो।  त्यसैले यी आज्ञाहरू दिइरह, ताकि तिनीहरू दोषरहित होऊन्‌।  हुन पनि यदि कसैले आफन्तको र अझ विशेष गरी आफ्नै परिवारका सदस्यहरूको हेरविचार गर्दैन भने उसले विश्वासलाई त्यागेको हुन्छ र विश्वास नगर्ने मानिसभन्दा पनि खराब हुन्छ।  त्यस्ता विधवाहरूको नाम सूचीमा लेख, जो साठी वर्ष नाघेकी छिन्‌, जो आफ्नो पतिप्रति वफादार थिइन्‌, १०  जसले छोराछोरी हुर्काइन्‌, परदेशीहरूको सत्कार गरिन्‌, पवित्र जनहरूको खुट्टा धोइन्‌, सङ्‌कष्टमा परेकाहरूलाई मदत गरिन्‌ र लगनशील भई हरकिसिमका असल काम गरिन्‌ अनि तिनले यस्ता असल कामहरू गरिन्‌ भनेर अरूले पनि राम्रो साक्षी दिएका छन्‌। ११  अर्कोतर्फ, तरुणी विधवाहरूको नाम सूचीमा नलेख, किनकि आफ्नो यौनइच्छाले ख्रीष्टको सेवा गर्न बाधा पुऱ्याउँदा तिनीहरूले विवाह गर्ने इच्छा गर्न सक्छन्‌ १२  र यसरी आफूले पहिले गरेको वाचा तोडेर आफूलाई दोषी ठहराउँछन्‌। १३  त्यसबाहेक तिनीहरू काम नगरी खाली हात बस्न र घर-घर चाहर्दै हिंड्‌न सिक्छन्‌। हो, काम नगरी खाली हात बस्ने मात्र होइन तर कुरा ओसार्ने, अरूको कुरामा हात हाल्ने र बोल्न नहुने कुरा बोल्ने पनि हुन्छन्‌। १४  त्यसकारण, तरुणी विधवाहरूले विवाह गरेको, छोराछोरी जन्माएको र घरबार सम्हालेको म चाहन्छु, ताकि तिनीहरूले विरोधीहरूलाई कुरा काट्‌ने कुनै मौका नदेऊन्‌। १५  वास्तवमा, कोही-कोही तर्केर सैतानको पछि लागिसकेका छन्‌। १६  यदि कुनै ख्रीष्टियन स्त्रीको आफन्त विधवा छिन्‌ भने तिनले उनको हेरविचार गरेर मण्डलीको बोझ कम गरून्‌। यसो गर्दा मण्डलीले साँच्चै खाँचोमा परेका विधवाहरूको हेरविचार गर्न सक्नेछ। १७  राम्ररी अगुवाइ लिने एल्डरहरूलाई दोबर आदरको योग्य ठान्नू; विशेष गरी तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्‌। १८  किनकि धर्मशास्त्र यसो भन्छ: “दाइँ गरिरहेको गोरुलाई मोहलो नलगाउनू।” साथै, यसो पनि भन्छ: “कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।” १९  दुई वा तीन जना साक्षीको प्रमाणविना एल्डरविरुद्ध लगाइएको आरोप स्वीकार नगर। २०  जसले पाप गरिरहन्छन्‌, तिनीहरूलाई सबैसामु सुधार, ताकि अरूहरू पनि पाप गर्नदेखि डराऊन्‌। २१  परमेश्वर, ख्रीष्ट येशू र चुनिएका स्वर्गदूतहरूसामु म तिमीलाई यो गम्भीर आज्ञा दिन्छु, कि पहिला सबै कुरा होसियारीपूर्वक छानबिन नगरी यीमध्ये कुनै कुरा नगर्नू, अनि कसैको पक्ष लिएर केही नगर्नू। २२  कुनै मानिसमाथि हतार गरेर कहिल्यै आफ्नो हात नराख्नू। न त कहिल्यै अरूहरूका पापहरूको हिस्सेदार बन्नू, बरु आफूलाई चोखो राख्नू। २३  अबदेखि पानी नपिउनू* तर तिम्रो पेटको खातिर र तिमी घरीघरी बिरामी परिरहेकोले अलिअलि दाखमद्य * पिउने गर्नू। २४  कसै-कसैको पाप जनसमक्ष प्रकट हुन्छ र तिनीहरूले तुरुन्तै दण्ड पाउँछन्‌ तर अरूको पाप पनि प्रकट हुन्छ, चाहे ढिलै किन नहोस्। २५  त्यसैगरि, असल काम पनि जनसमक्ष प्रकट हुन्छ र प्रकट नभएका कामहरूलाई पनि लुकाएर राख्न सकिंदैन।

फुटनोटहरू

यसले दूषित पानी नपिउनुलाई सङ्‌केत गरेको हुन सक्छ, जसले गर्दा तिमोथी बिरामी परेका थिए।
वा, “अङ्‌गुरबाट बनेको मद्य।”