अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी ४:१-१६

 तथापि, भविष्यमा केही मानिसहरूले विश्वास त्याग्नेछन्‌ भनेर परमेश्वरको प्रेरित वाणीले तोकेरै बताएको छ। किनकि तिनीहरूले भ्रामक प्रेरित वाणीहरू* अनि दुष्ट स्वर्गदूतहरूका शिक्षाहरूमा ध्यान दिनेछन्‌, २  अनि झूट बोल्ने मानिसहरूको कपटमा पर्नेछन्‌, जसको अन्तस्करण तातो फलामले डामेझैं डामिएको हुन्छ। ३  तिनीहरू विवाह गर्न निषेध गर्छन्‌ अनि परमेश्वरले सृजनुभएका ती खानेकुराहरूदेखि अलग बस्ने आज्ञा दिन्छन्‌, जुन विश्वास हुने र सत्यको सही ज्ञान हुनेले धन्यवाद चढाएर खान सक्छ। ४  यसो भन्नुको कारण के हो भने, परमेश्वरको हरेक सृष्टि असल छ अनि धन्यवाद चढाएर खाने हो भने खान नहुने त्यस्तो कुनै कुरा छैन, ५  किनकि त्यस खानेकुरालाई परमेश्वरको वचनले र त्यसको निम्ति चढाइएको प्रार्थनाले पवित्र पारिसकेको हुन्छ। ६  भाइहरूलाई यस्ता सुझावहरू दिएर तिमी ख्रीष्ट येशूको असल सेवक बन्नेछौ, जसले विश्वासका वचनहरूबाट र असल शिक्षाबाट पोषण पाएको हुन्छ अनि तिमीले यस्तै शिक्षा होसियारीसाथ पालन गर्दै आएका पनि छौ। ७  पवित्र थोकलाई बिटुलो पार्ने अनि बूढी आइमाईहरूले सुनाउने झूटा कथाहरू सुन्न इन्कार गर। बरु परमेश्वरको भक्ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ। ८  किनकि शारीरिक तालिमबाट केही फाइदा त हुन्छ तर परमेश्वरको भक्तिबाट भने सबै कुरामा फाइदा हुन्छ, किनकि त्यसमा वर्तमान र भावी दुवै जीवनमा पाइने आशिष्‌हरूको प्रतिज्ञा समावेश हुन्छ। ९  यो वचन विश्वासयोग्य अनि पूर्णतया स्वीकारयोग्य छ। १०  यसैको निम्ति हामी कडा परिश्रम अनि सङ्घर्ष गर्दैछौं, किनभने हामीले जीवित परमेश्वरमाथि आफ्नो आशा राखेका छौं, जो सबै किसिमका मानिसहरू र अझ विशेष गरी विश्वासी जनहरूको उद्धारक हुनुहुन्छ। ११  यी आज्ञाहरू दिइरह अनि सिकाइरह। १२  तिम्रो कम उमेर देखेर कसैले तिमीलाई हेला नगरोस्, बरु बोली, चालचलन, प्रेम, विश्वास अनि चोखो आचरणको सन्दर्भमा विश्वासी जनहरूको निम्ति उदाहरण बन। १३  म नआउन्जेल तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्ने अनि अर्ती दिने र सिकाउने काममा लागिरह। १४  तिम्रो विषयमा गरिएको भविष्यवाणीमार्फत तिमीलाई दिइएको अनि एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा तिमीले पाएको वरदानलाई हेला नगर। १५  यी कुराहरूमा चिन्तनमनन गर, त्यसैमा डुबिरह, ताकि तिम्रो प्रगति सबै मानिसहरूसामु प्रकट होस्। १६  आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा तिमी सधैं होसियार होऊ। ती कुराहरूलाई पक्रिराख, यसो गऱ्यौ भने तिमीले आफ्नो र तिम्रो कुरा सुन्नेहरूको उद्धार गर्नेछौ।

फुटनोटहरू

१ति ४:१ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
१ति ४:१४ प्रेषित ११:३० को फुटनोट हेर्नुहोस्।