अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ तिमोथी १:१-२०

 हाम्रा उद्धारक परमेश्वर अनि हाम्रा आशा ख्रीष्ट येशूको आज्ञाबमोजिम म पावल ख्रीष्ट येशूको प्रेषित* बनेको हुँ २  र म विश्वासमा मेरो साँचो छोरा तिमोथीलाई यो पत्र लेख्दैछु। परमेश्वर, हाम्रा बुबाको अनि हाम्रा प्रभु, ख्रीष्ट येशूको असीम अनुग्रह, कृपा र शान्ति तिमीसित रहोस्। ३  म म्यासिडोनियातर्फ जान लाग्दा मैले तिमीलाई एफिससमै बस्ने प्रोत्साहन दिएको थिएँ र अहिले पनि त्यसै गर्ने प्रोत्साहन दिन्छु, ताकि तिमीले केही मानिसहरूलाई के आज्ञा दिन सकोस् भने तिनीहरूले बेग्लै सिद्धान्त नसिकाऊन्‌, ४  अनि झूटा कथाहरू र कहिल्यै नटुङ्गिने वंशावलीहरूमा ध्यान नदेऊन्‌, किनकि विश्वासलाई बलियो बनाउने परमेश्वरका कुराहरू प्रदान गर्नुको सट्टा त्यसले खोजतलास गर्नका लागि प्रश्नहरू मात्र खडा गर्छ। ५  वास्तवमा, यो आज्ञाको उद्देश्य यही हो, कि हामीले शुद्ध मन, सफा अन्तस्करण अनि निष्कपट विश्वासका साथ आपसमा प्रेम गर्नुपर्छ। ६  यी कुराहरूबाट तर्केर कोही-कोही व्यर्थको गफ गर्नतिर लागेका छन्‌। ७  तिनीहरू व्यवस्थाको शिक्षक हुन चाहन्छन्‌ तर आफूले भनेको वा ठोकुवा गरेको कुरा आफैले बुझ्दैनन्‌। ८  हामीलाई थाह छ, मोशाको व्यवस्था राम्रो छ तर यति हो कि यसलाई ठीकसित चलाउन जान्नुपर्छ। ९  अनि यो कुरा पनि मनमा राख्नुपर्छ, कि व्यवस्था परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिसका लागि होइन तर यस्ता मानिसहरूका लागि हो: कुकर्मी, बेकाइदासित चल्ने, भक्तिहीन, पापी, विश्वासघाती,* पवित्र कुरालाई तुच्छ ठान्ने, आमाबाबुको हत्या गर्ने, ज्यानमारा, १०  अवैध यौनसम्बन्ध राख्ने, पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुष, अपहरणकारी, फटाहा अनि आफ्नो कसम तोड्नेहरू। अनि ती अरू सबै कुराका लागि पनि हो, जुन साँचो शिक्षाविपरीत छन्‌। ११  यो शिक्षा आनन्दित परमेश्वरको महिमित सुसमाचारअनुरूप छ र त्यो सुसमाचार मलाई सुम्पिइएको थियो। १२  मलाई शक्ति दिनुहुने हाम्रा प्रभु, ख्रीष्ट येशूप्रति म आभारी छु, किनभने सेवाको काम सुम्पेर उहाँले मलाई विश्वासयोग्य ठान्नुभयो। १३  हुन त पहिले म परमेश्वरको निन्दा गर्ने, खेदो गर्ने र सोमत नभएको मानिस थिएँ, तैपनि ममाथि कृपा देखाइयो, किनभने म अनजान थिएँ र ममा विश्वास थिएन। १४  तर मैले प्रशस्त गरी हाम्रा प्रभुको असीम अनुग्रह र विश्वास पाउनुका साथै ख्रीष्ट येशूको चेला भएको नाताले प्रेम पनि पाएँ। १५  यो वचन विश्वासयोग्य र पूर्णतया स्वीकारयोग्य छ, कि ख्रीष्ट येशू यस संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभयो। यिनीहरूमध्ये मचाहिं मुख्य हुँ। १६  यद्यपि, पापीहरूमध्ये म मुख्य भएकोले अनन्त जीवन पाउन उहाँमाथि विश्वास गर्नेजति सबैलाई ख्रीष्ट येशूले आफ्नो सारा धीरजको उदाहरणस्वरूप मलाई देखाउन सकून्‌ भनेर नै ममाथि कृपा देखाइएको हो। १७  युगयुगका महाराजा, अविनाशी, अदृश्य, एक मात्र परमेश्वरले सदासर्वदा आदर र महिमा पाइरहून्‌। आमिन। १८  हे मेरो छोरा तिमोथी, तिम्रो विषयमा स्पष्टसित गरिएका भविष्यवाणीहरूअनुसार म तिमीलाई आज्ञा दिन्छु, कि तिमी त्यसैअनुसार असल लडाइँ लड्दै जाऊ, १९  विश्वासलाई पक्रिराख अनि अन्तस्करण सफा राख, जसलाई कसै-कसैले बेवास्ता गरेका छन्‌ र तिनीहरूको विश्वासको जहाज क्षतिग्रस्त भएको छ। २०  हाइमेनियस र अलेक्जेन्डर यस्ताहरूमध्ये पर्छन्‌ र मैले तिनीहरूलाई सैतानको हातमा सुम्पिदिएँ, ताकि तिनीहरूले अनुशासन पाऊन्‌ र ईश्वरनिन्दा गर्न हुँदैन भनेर सिकून्‌।

फुटनोटहरू

१ति १:१ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
१ति १:९ * वा, “वफादार भई दया नदेखाउने।”