अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

१ कोरिन्थी ६:१-२०

 तिमीहरूमध्ये कसैको अर्कोको विरुद्ध केही कुरा हुँदा पवित्र जनहरूसामु जानुको साटो बेग्लै विश्वास हुने मानिसहरूसामु अदालत जाने हिम्मत कसरी गर्छौ? २  अथवा पवित्र जनहरूले संसारको न्याय गर्नेछन्‌ भनेर के तिमीहरूलाई थाह छैन? यदि संसारको न्याय गर्ने तिमीहरू नै हौ भने के तिमीहरू यस्ता झिनामसिना कुराहरूको चाहिं छिनोफानो गर्न अयोग्य छौ? ३  हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौं भनेर के तिमीहरूलाई थाह छैन? त्यसोभए, यस जीवनका कुराहरूको न्यायचाहिं किन नगर्ने? ४  त्यसो हो भने तिमीहरूबीच यस जीवनसम्बन्धी कुनै मामिलाको छिनोफानो गर्नुपर्दा मण्डलीले ठीक ठहराउन नसक्ने मानिसहरूलाई किन तिमीहरू आफ्नो न्यायाधीश बनाउँछौ? ५  तिमीहरूलाई सरममा पार्न म यो कुरा भन्दैछु। के यो साँचो हो, आफ्ना भाइहरूको न्याय गरिदिन सक्ने बुद्धिमान्‌ मानिस तिमीहरूमाझ कोही छैन, ६  त्यसैले एक जना भाइ अर्को भाइको विरुद्धमा अदालत जान्छ र त्यो पनि बेग्लै आस्था भएकाहरूसामु? ७  साँच्चै भन्ने हो भने, तिमीहरूले एक-अर्कालाई मुद्दा लगाउनु तिमीहरूको पूरै हार हो। बरु तिमीहरू किन अन्याय सहँदैनौ? बरु तिमीहरू किन ठगिएरै बसदैनौ? ८  यसको विपरीत तिमीहरू अन्याय गर्छौ र ठग्छौ, त्यो पनि आफ्नै भाइहरूलाई। ९  परमेश्वरको स्तरबमोजिम नचल्ने मानिसहरू उहाँको राज्यको हकदार हुनेछैनन्‌ भनेर के तिमीहरूलाई थाह छैन? नबहकिओ। अवैध यौनसम्बन्ध राख्नेहरू, मूर्तिपूजकहरू, आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्नेहरू, अस्वाभाविक यौनसम्बन्धका लागि राखिएका पुरुषहरू, पुरुषहरूसित यौनसम्बन्ध राख्ने पुरुषहरू, १०  चोरहरू, लोभीहरू, पियक्कडहरू, निन्दकहरू, लुटाहाहरू परमेश्वरको राज्यको हकदार हुनेछैनन्‌। ११  अनि तिमीहरूमध्ये कोही-कोही यस्तै थियौ। तर परमेश्वरले हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र आफ्नो पवित्र शक्तिद्वारा तिमीहरूलाई धोएर सफा बनाउनुभएको छ, पवित्र पार्नुभएको छ अनि असल ठहराउनुभएको छ। १२  सबै कुरा मेरो लागि न्यायसङ्गत छन्‌ तर सबै कुरा फाइदाजनक छैनन्‌। सबै कुरा मेरो लागि न्यायसङ्गत छन्‌ तर म आफूलाई कुनै कुराको वशमा पर्न दिन्नँ। १३  खानेकुरा पेटका लागि र पेट खानेकुराका लागि हो तर परमेश्वरले ती दुवैलाई नाश गर्नुहुनेछ। अब शरीर अवैध यौनसम्बन्धका लागि होइन तर प्रभुका लागि हो अनि प्रभुचाहिं शरीरका लागि हुनुहुन्छ। १४  तर परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा प्रभुलाई मृत्युबाट ब्यूँताउनुभयो र हामीलाई पनि ब्यूँताउनुहुनेछ। १५  तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्‌ भनेर के तिमीहरूलाई थाह छैन? त्यसोभए, के म ख्रीष्टका अङ्गहरूलाई लगेर वेश्याका अङ्गहरू बनाऊँ? त्यस्तो कहिल्यै नहोस्! १६  जो वेश्यासित जोडिन्छ, ऊ र त्यो वेश्या एउटै शरीर हुन्छन्‌ भनेर के तिमीहरूलाई थाह छैन? किनकि उहाँ भन्नुहुन्छ, “ती दुई एउटै शरीर हुनेछन्‌।” १७  तर जो प्रभुसित जोडिन्छ, उसको र प्रभुको झुकाव* एउटै हुन्छ। १८  अवैध यौनसम्बन्धदेखि भाग। मानिसले गर्ने अरू सबै पापले उसको शरीरलाई प्रत्यक्ष असर गर्दैन तर जसले अवैध यौनसम्बन्ध राख्नेगर्छ, उसले आफ्नै शरीरविरुद्ध पाप गरिरहेको हुन्छ। १९  के तिमीहरूलाई थाह छैन, तिमीहरू सबै मिलेर जुन शरीर बन्छ, त्यो परमेश्वरको त्यस पवित्र शक्तिको मन्दिर हो, जुन तिमीहरूमा बास गर्छ र जुन तिमीहरूले परमेश्वरबाट पाएका हौ? साथै, आफ्नै शरीरमाथि तिमीहरूको अधिकार छैन, २०  किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ। त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्वरको महिमा गर।

फुटनोटहरू

१को ६:१७ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।