अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

हिब्रू ७:१-२८

 यी मल्कीसेदेक, जो सालेमका राजा थिए अनि सर्वोच्च परमेश्वरका पुजारी पनि थिए, तिनले अब्राहामलाई भेटे र उनलाई आशिष्‌ दिए, जो त्यतिखेर राजाहरूलाई मारेर फर्किरहेका थिए। २  अनि अब्राहामले तिनलाई सबै चीजको दशांश दिए। यही मल्कीसेदेक आफ्नो नामको अर्थअनुसार सर्वप्रथम “न्यायपरायण राजा” र त्यसपछि सालेमका राजा अर्थात्‌ “शान्तिका राजा” पनि थिए। ३  तिनको न बुबा, न आमा, न वंशावली नै छ। न त तिनको जन्म वा मृत्युबारे कसैलाई थाह छ। तर परमेश्वरको छोराजस्तै बनाइएकोले तिनी सधैंका लागि पुजारी भइरहन्छन्‌। ४  त्यसैले हेर, यी मानिस कत्ति महान्‌, जसलाई कुलपुरुष अब्राहामले आफ्नो लूटबाट सबैभन्दा असल चीजहरूको दशांश दिए। ५  हो, पुजारी पद पाएका लेवीका छोराहरूले मोशाको व्यवस्थाअनुसार मानिसहरूबाट अर्थात्‌ अब्राहामकै वंशबाट* आएका आफ्नै भाइहरूबाट दशांश उठाउने आज्ञा पाएका छन्‌। ६  तर यी मानिस जो लेवी कुलका थिएनन्‌, तिनले प्रतिज्ञा पाएका अब्राहामबाट दशांश लिए र उनलाई आशिष्‌ दिए। ७  अब यो कुरामा दुई मत छैन, सानोले ठूलोबाट आशिष्‌ पाउँछ। ८  एउटा अवस्थामा, ज-जसले दशांश पाउँछन्‌, तिनीहरू मरणशील मानिसहरू हुन्‌ तर अर्को अवस्थामा, जसले दशांश पाउँछ, ऊ भने बाँचिरहन्छ भनेर धर्मशास्त्रमा साक्षी दिइएको छ। ९  अनुमति भए म यहाँसम्म भन्न सक्छु कि, दशांश पाउने लेवीले समेत अब्राहामद्वारा तिनलाई दशांश तिरेका छन्‌। १०  किनकि मल्कीसेदेकले उनलाई भेट्दा लेवी आफ्नो पुर्खा अब्राहामको सन्तानको रूपमा जन्मिसकेका थिएनन्‌। * ११  यदि लेवीको पुजारीगिरीबाट (किनकि मानिसहरूलाई दिइएको मोशाको व्यवस्थाको एउटा पक्ष यो थियो) पूर्णता प्राप्त हुने भए अर्को पुजारी खडा हुने खाँचो किन पर्थ्यो र, जसको विषयमा हारूनजस्तो नभनी मल्कीसेदेकजस्तो भनिएको छ? १२  किनकि पुजारीगिरी परिवर्तन भएकोले व्यवस्था पनि परिवर्तन हुनु आवश्यक छ। १३  यी कुराहरू जुन मानिसको विषयमा भनिएका छन्‌, तिनी अर्कै कुलका सदस्य थिए, जसबाट आएका कसैले पनि वेदीमा सेवा गरेका छैनन्‌। १४  किनकि यो प्रस्टै छ कि हाम्रा प्रभु यहूदा कुलबाट आउनुभएको हो, जुन कुलबाट पुजारीहरू हुने विषयमा मोशाले केही पनि भनेनन्‌। १५  अनि यो झनै स्पष्ट छ कि मल्कीसेदेकसित मिल्दोजुल्दो अर्को पुजारी खडा हुन्छन्‌, १६  जो व्यवस्थाको नियमबमोजिम शरीरअनुसार होइन तर अविनाशी जीवनको शक्तिले गर्दा त्यस्तो भएका हुन्‌, १७  किनकि एउटा शास्त्रपदमा यसो भनिएको छ: “तिमी सधैंका लागि मल्कीसेदेकजस्तो पुजारी हौ।” १८  त्यसैले, यसअघिको आज्ञा कमजोर र प्रभावहीन भएकोले त्यसलाई रद्द गरियो। १९  किनकि मोशाको व्यवस्थाले कुनै कुरालाई पनि पूर्ण बनाएन तर एउटा यस्तो उत्तम आशाले पूर्ण बनायो, जसले गर्दा हामी परमेश्वरसित नजिक हुँदैछौं। २०  साथै, यो शपथविना भएको थिएन, २१  (किनकि शपथविना नै पुजारी भएका मानिसहरू छन्‌ तर एक जना यस्ता छन्‌, जसको विषयमा परमेश्वरले शपथ खाएर यसो भन्नुभयो: “यहोवाले शपथ खानुभएको छ (र उहाँ पछुताउनुहुनेछैन), ‘तिमी सधैंका लागि पुजारी हौ।’ ”) २२  यसैअनुसार येशू उत्तम करारको जमानी बन्नुभएको छ। २३  यसबाहेक, एकपछि अर्को गर्दै धेरै जना पुजारी बन्नुपऱ्यो किनभने मृत्युले गर्दा तिनीहरू पुजारी बनिरहन सकेनन्‌, २४  तर उहाँ सधैंभरि जीवित रहिरहने भएकोले उहाँको पुजारीगिरीको कोही उत्तराधिकारी छैन। २५  यसैले गर्दा उहाँमार्फत परमेश्वरको नजिक आउनेहरूलाई उहाँले पूरै उद्धार गर्न सक्नुहुन्छ किनभने उनीहरूको निम्ति बिन्ती गर्न उहाँ सधैं जीवित हुनुहुन्छ। २६  किनकि हाम्रो लागि यस्तै प्रधान पुजारी उपयुक्त थियो, जो वफादार, निर्दोष, निष्खोट र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च हुनुभएको छ। २७  अरू प्रधान पुजारीहरूले जस्तो पहिला आफ्ना पापहरूको लागि अनि त्यसपछि मानिसहरूका पापहरूको लागि उहाँले हरेक दिन बलिदान चढाउनु आवश्यक छैन: (किनकि उहाँले आफूलाई अर्पण गरेर एकै चोटिमा सदाको लागि यो काम पूरा गर्नुभयो।) २८  मोशाको व्यवस्थाले कमीकमजोरी भएका मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ तर मोशाको व्यवस्थापछि आएको शपथको यो वचनले परमेश्वरको छोरालाई नियुक्त गर्छ, जो सदाको लागि पूर्ण बनाइनुभएको छ।

फुटनोटहरू

हिब्रू ७:५ * शाब्दिक, “जाँघबाट।”
हिब्रू ७:१० * शाब्दिक, “अब्राहामको जाँघमै थिए।”