सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

हिब्रू ६:१-२०

 यसकारण, ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तलाई पछाडि छोडिसकेकोले अब हामी परिपक्वतातर्फ अघि बढौं। हामी यस्ता कुराहरू सुरुदेखि सिकेर फेरि जग नबसालौं, जस्तै: व्यर्थ कामहरूबाट पश्‍चात्ताप गर्ने, परमेश्वरमाथि विश्वास गर्ने,  अनि विभिन्न किसिमका बप्तिस्मा,* हात राख्ने, मरेकाहरू पुनर्जीवित * हुने अनि अनन्त न्यायदण्डसित सम्बन्धित शिक्षा।  परमेश्वरले साँच्चै अनुमति दिनुहुन्छ भने हामी परिपक्वतातर्फ बढ्‌नेछौं।  किनकि जसले एकचोटि ज्ञानको ज्योति पाइसकेका छन्‌, जसले स्वर्गबाट सित्तैंमा दिइने वरदान हासिल गरिसकेका छन्‌, जो पवित्र शक्तिको भागीदार भइसकेका छन्‌,  र जसले परमेश्वरको मीठो वचन अनि आउँदै गरेको युगको शक्ति चाखिसकेका छन्‌,  तर जसको पतन भइसकेको छ, तिनीहरूलाई फेरि फर्काएर पश्‍चात्तापसम्म पुऱ्याउन असम्भव छ। किनकि तिनीहरू आफैले परमेश्वरको छोरालाई फेरि टाँग्छन्‌ र मानिसहरूसामु उहाँको बेइज्जत गर्छन्‌।  उदाहरणका लागि, जब जमिनले आफूमाथि आकाशबाट अक्सर बर्सिरहने पानी पिउँछ र खनजोत गर्नेका निम्ति भोजन होस् भनेर वनस्पति उमार्छ, तब त्यसले परमेश्वरबाट आशिष्‌ पाउँछ।  तर यदि त्यसले काँडा र जङ्‌गली झार उमार्छ भने त्यो तिरस्कृत हुन्छ अनि सराप पाउन लायकको हुन्छ र अन्तमा डढेलो लगाइन्छ।  हुन त हामी यसरी कुरा गरिरहेका छौं, तैपनि ए प्रियहरू हो, हामी पक्का छौं, तिमीहरूको अवस्था तिनीहरूको भन्दा राम्रो छ अनि तिमीहरूसित उद्धारतर्फ लैजाने कुराहरू छन्‌। १०  तिमीहरूले पवित्र जनहरूको सेवा गरेका छौ र निरन्तर गर्दै पनि छौ, यसरी तिमीहरूले परमेश्वरको नामको निम्ति देखाएको प्रेम अनि कामलाई बिर्सन उहाँ अन्यायी हुनुहुन्न। ११  तर तिमीहरू हरेकले यस्तै मेहनत गरिरहो र आफ्नो आशा पूरा हुनेछ भनी अन्तसम्मै निश्‍चिन्त होओ भन्ने हामी चाहन्छौं, १२  ताकि तिमीहरू अल्छे होइन बरु तिनीहरूको देखासिकी गर्नेहरू होओ, जसले विश्वास अनि धैर्य गरेर परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू हासिल गर्छन्‌। १३  जब परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो, तब कसम खानलाई आफूभन्दा ठूलो कोही नभएकोले आफ्नै कसम खानुभयो १४  र यसो भन्नुभयो: “म निश्चय पनि तँलाई आशिष्‌ दिनेछु र तेरो ठूलो वृद्धि गराउनेछु।” १५  अनि अब्राहामले धैर्य गरेपछि परमेश्वरको त्यस्तो प्रतिज्ञा पाए। १६  मानिसहरू आफूभन्दा ठूलोको कसम खान्छन्‌ र तिनीहरूले खाएको शपथले जुनसुकै विवादको टुङ्‌गो लगाउँछ, किनकि शपथ, तिनीहरूको निम्ति कानुनी ग्यारेन्टी हो। १७  त्यसैगरि आफ्नो उद्देश्य अपरिवर्तनीय छ भनेर प्रतिज्ञाका उत्तराधिकारीहरूलाई अझ ठूलो प्रमाण दिन परमेश्वरले शपथ पनि खानुभयो, १८  ताकि परमेश्वरले झूट बोल्न असम्भव दुई अपरिवर्तनीय कुराद्वारा हामीले अर्थात्‌ भागेर उहाँको शरणमा आएकाहरूले आफूसामु राखिएको आशालाई पक्रिराख्ने ठूलो प्रोत्साहन पाउन सकौं। १९  यो आशा हाम्रो जीवनको लङ्‌गर हो, अनि यो पक्का र अटल छ र यसले हामीलाई पर्दाको* पछाडि पुऱ्याउँछ, २०  जहाँ हाम्रा अगुवा, येशू हाम्रो तर्फबाट पस्नुभएको छ, अनि जो सधैंभरिका लागि मल्कीसेदेकजस्तो प्रधान पुजारी बन्नुभएको छ।

फुटनोटहरू

मत्ती ३:१ को फुटनोट हेर्नुहोस्।
वा, “पुनरुत्थान।”
यसले मन्दिरको पवित्रस्थान र महापवित्रस्थानलाई छुट्टयाउने पर्दालाई बुझाउँछ।