अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

हिब्रू ५:१-१४

 मानिसहरूमध्येबाट छानिएका हरेक प्रधान पुजारी मानिसहरूको तर्फबाट परमेश्वरको सेवा गर्न नियुक्त भएका हुन्छन्‌ र तिनले पापको निम्ति भेटी र बलिदान चढाउँछन्‌। २  अनजानमा गल्ती गर्नेहरूसित तिनले सहानुभूतिसाथ व्यवहार गर्न सक्छन्‌, किनकि तिनका पनि आफ्नै कमीकमजोरीहरू हुन्छन्‌। ३  त्यसैले, अरू मानिसहरूका निम्ति चढाएजस्तै तिनले आफ्ना पापहरूको निम्ति पनि भेटी चढाउनु आवश्यक छ। ४  साथै, मानिस आफैले यस्तो सम्मानजनक ओहदा लिन सक्दैन तर हारूनलाई जस्तै तिनलाई पनि परमेश्वर आफैले नियुक्त गरेको हुनुपर्छ। ५  त्यसैगरि ख्रीष्टले पनि आफूले आफैलाई प्रधान पुजारी नियुक्त गरेर आफ्नो महिमा गर्नुभएन तर जसले उहाँको विषयमा यसो भन्नुभयो, उहाँले नै ख्रीष्टलाई यस्तो महिमा दिनुभएको हो: “तिमी मेरो छोरा हौ। म आज तिम्रो बुबा बनेको छु।” ६  जस्तो अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ: “तिमी सधैंका लागि मल्कीसेदेकजस्तो पुजारी हौ।” ७  पृथ्वीमा हुनुहुँदा ख्रीष्टले उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै उत्कट बिन्ती अनि निवेदन चढाउनुभयो र उहाँको सुनुवाइ भयो, किनकि उहाँ परमेश्वरको डर मान्नुहुन्थ्यो। ८  उहाँ परमेश्वरको छोरा हुनुहुन्थ्यो तैपनि आफूले भोगेको दुःखबाट उहाँले आज्ञाकारी हुन सिक्नुभयो, ९  अनि पूर्ण बनाइनुभएपछि उहाँले आफ्नो आज्ञा पालन गर्नेजति सबैलाई चिरस्थायी उद्धार दिने जिम्मेवारी पाउनुभयो, १०  किनकि परमेश्वरले नै उहाँलाई मल्कीसेदेकजस्तो प्रधान पुजारी नियुक्त गर्नुभएको हो। ११  उहाँको विषयमा भन्नुपर्ने थुप्रै कुरा हामीसित छ तर तिमीहरूलाई बुझाउन गाह्रो छ, किनकि तिमीहरूको कान बोधो भएको छ। १२  हुन पनि समयको हिसाबले अहिलेसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्ने हो तर तिमीहरूलाई फेरि कसैले परमेश्वरका पवित्र सन्देशका आधारभूत कुराहरू सुरुदेखि सिकाउनु आवश्यक परेको छ अनि तिमीहरू यस्ता मानिसहरू भएका छौ, जसलाई खँदिलो खानेकुरा होइन तर दूधैको आवश्यकता छ। १३  दूध पिउनेजति सबै बालकै भएकोले परमेश्वरको वचनसित तिनीहरू अनभिज्ञ हुन्छन्‌। १४  तर खँदिलो खानेकुराचाहिं परिपक्व मानिसहरूको निम्ति हो, जसले आफ्नो सोच्ने-बुझ्ने क्षमता चलाएर त्यसलाई सही र गलत छुट्टयाउन तालिम दिएका हुन्छन्‌।

फुटनोटहरू