अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

हिब्रू १३:१-२५

१३  तिमीहरूको भ्रातृप्रेम कायम रहोस्। २  अतिथि-सत्कार गर्न नबिर्स किनकि कसै-कसैले यसरी थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरे। ३  झ्यालखानामा थुनिएकाहरूलाई सम्झ र आफू पनि तिनीहरूसित थुनामा परेझैं ठान अनि दुर्व्यवहारको शिकार भइरहेकाहरूलाई पनि सम्झ, किनकि तिमीहरू पनि यसै पृथ्वीमा छौ। ४  तिमीहरूको विवाह सबै मानिसहरूसामु आदरणीय होस्, तिमीहरूको वैवाहिक सम्बन्ध नबिटुलिओस्। किनकि अवैध यौनसम्बन्ध राख्ने अनि आफ्नो पति वा पत्नीबाहेक अरूसित यौनसम्बन्ध राख्ने मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। ५  तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्, बरु अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ। किनकि उहाँले यसो भन्नुभएको छ: “म तिमीलाई कुनै हालतमा छोड्नेछैन, न त कहिल्यै त्याग्ने नै छु।” ६  यसप्रकार हामी असाध्यै साहसी भएर यसो भन्न सकौं: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैन। मानिसले मलाई के गर्न सक्छ र?” ७  जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌ अनि जसले तिमीहरूलाई परमेश्वरको वचन सुनाएका छन्‌, तिनीहरूलाई सम्झ। तिनीहरूको आचरणको असल परिणामलाई राम्ररी विचार गर्दै तिनीहरूको विश्वासको अनुकरण गर। ८  येशू ख्रीष्ट हिजो, आज अनि सधैंभरि उस्तै हुनुहुन्छ। ९  तिमीहरू थरीथरीका अनि अनौठा शिक्षाहरूको बहकाउमा नपर। किनकि भोजनसम्बन्धी नियमहरूद्वारा होइन तर असीम अनुग्रहद्वारा मनलाई दह्रो बनाउनु बेस हो। यस्ता नियमहरूलाई चाहिनेभन्दा धेरै महत्त्व दिनेहरूलाई कुनै फाइदा भएको छैन। १०  हामीसित यस्तो वेदी छ, जसबाट पालमा पवित्र सेवा चढाउनेहरूले खाने कुनै अधिकार छैन। ११  किनकि जुन पशुको रगत प्रधान पुजारीले पापमोचनका लागि महापवित्रस्थानभित्र लैजान्छन्‌, त्यस पशुको शरीर छाउनीबाहिर लगेर जलाइन्छ। १२  त्यसैगरि येशूले पनि आफ्नो रगतले मानिसहरूलाई पवित्र पार्न सहरको ढोकाबाहिर कष्ट भोग्नुभयो। १३  त्यसैले आओ, उहाँले सहनुभएको अपमान सहँदै हामी छाउनीबाहिर उहाँकहाँ जाऔं, १४  किनकि यहाँ हामीसित सधैंभरि रहिरहने सहर छैन, बरु हामी आउँदै गरेको सहरको उत्कट प्रतीक्षा गर्दैछौं। १५  आओ, हामी येशूद्वारा परमेश्वरलाई सधैं प्रशंसाको बलिदान अर्थात्‌ ओठको फल चढाऔं, जसद्वारा हामी उहाँको नाम जनसमक्ष घोषणा गर्छौं। १६  यसबाहेक भलाइ गर्न अनि अरूसित बाँडचुँड गर्न नबिर्स, किनकि यस्तै बलिदानहरूसित परमेश्वर असाध्यै खुसी हुनुहुन्छ। १७  जसले तिमीहरूबीच अगुवाइ लिइरहेका छन्‌, तिनीहरूप्रति आज्ञाकारी होओ र तिनीहरूको अधीनमा बस, किनकि परमेश्वरलाई लेखा दिनुपर्छ भनी सम्झेर तिनीहरूले तिमीहरूको हेरचाह गरिरहेका छन्‌। तिनीहरूले यो काम खुसीसाथ गरून्‌, सुस्केरा हाल्दै होइन, नत्र त त्यो तिमीहरूका लागि हानिकारक हुनेछ। १८  हामीसित सफा* अन्तस्करण छ भनेर हामी विश्वस्त छौं, किनकि हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं। त्यसैले हाम्रो निम्ति प्रार्थना गरिरहो। १९  बरु म तिमीहरूलाई अझ बढी त्यसो गर्न आग्रह गर्छु ताकि म छिट्टै तिमीहरूकहाँ आउन सकूँ। २०  अब जसले भेडाहरूको महान्‌ गोठाला अर्थात्‌ हाम्रा प्रभु येशूलाई चिरस्थायी करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो, तिनै शान्तिका परमेश्वरले २१  उहाँको इच्छा पूरा गर्न तिमीहरूलाई हर असल कुराले सुसज्जित पारून्‌ अनि येशू ख्रीष्टमार्फत हामीभित्र ती काम गरिरहून्‌, जुन उहाँको नजरमा मनपर्दा छन्‌। उहाँले नै सदासर्वदा गौरव पाऊन्‌। आमिन। २२  अब ए भाइहरू हो, सान्त्वनाले भरिएका मेरा यी शब्दहरू कृपया स्वीकार भनी म आग्रह गर्छु, किनकि मैले आफ्नो पत्रमा दुई-चार शब्द मात्र लेखेको छु। २३  हाम्रा भाइ तिमोथी मुक्त भइसकेका छन्‌ भनेर म तिमीहरूलाई थाह दिन चाहन्छु। तिनी छिट्टै आए भने तिनीसँगै म तिमीहरूलाई भेट्न आउनेछु। २४  तिमीहरूबीच अगुवाइ लिइरहेकाहरू अनि अरू सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ भनिदेओ। इटालीमा भएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २५  हाम्रा प्रभुको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्।

फुटनोटहरू

हिब्रू १३:१८ * वा, “इमानदार।”