अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

हिब्रू ११:१-४०

११  विश्वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु र अहिले नदेखिएका वास्तविकताहरूको स्पष्ट प्रमाण हो। २  किनकि यसैले गर्दा पहिले-पहिलेका मानिसहरूले आफ्नो विषयमा राम्रो साक्षी पाएका थिए। ३  विश्वासैले गर्दा हामी बुझ्छौं कि परमेश्वरको वाणीद्वारा ब्रह्माण्डमा भएका कुराहरू सृष्टि भए।* यसप्रकार, जुन कुराहरू देखिएका छन्‌, ती नदेखिने कुराहरूबाट आएका हुन्‌। ४  विश्वासैले गर्दा हाबिलले कयिनले भन्दा उत्तम बलिदान परमेश्वरलाई चढाए। यसै विश्वासले गर्दा तिनले आफू परमेश्वरको नजरमा असल छु भन्ने साक्षी पाए अनि तिनको भेटी स्वीकृत भएको साक्षी परमेश्वरले दिनुभयो। अनि तिनी मरिसकेको भए तापनि यसै विश्वासले गर्दा अझै बोल्दैछन्‌। ५  विश्वासैले गर्दा हनोकलाई स्थानान्तरण गरियो, ताकि तिनले आफ्नो मृत्यु देख्न नपरोस्। अनि तिनी कतै पनि भेटिएनन्‌ किनभने परमेश्वरले तिनलाई स्थानान्तरण गरिसक्नुभएको थियो। तिनलाई स्थानान्तरण गरिनुअघि तिनले परमेश्वरलाई असाध्यै खुसी पारेको साक्षी पाइसकेका थिए। ६  साथै, विनाविश्वास उहाँलाई खुसी पार्न असम्भव छ किनभने जो परमेश्वरसामु जान्छ, उसले उहाँ साँच्चै हुनुहुन्छ र जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई इनाम दिनुहुन्छ भनेर पत्यार गर्नुपर्छ। ७  विश्वासैले गर्दा नूहले आफूले नदेखेका कुराहरूबारे परमेश्वरबाट चेतावनी पाएपछि उहाँको डर राखे अनि आफ्नो परिवारलाई बचाउन जहाज निर्माण गरे। यही विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए अनि विश्वासको परिणामस्वरूप परमेश्वरको नजरमा असल ठहरिने सुअवसरको तिनी उत्तराधिकारी बने। ८  विश्वासैले गर्दा अब्राहाम, जब तिनलाई बोलाइयो, तब आज्ञाकारी भएर त्यस ठाउँमा गए, जुन तिनले उत्तराधिकारको रूपमा पाउनेथिए। आफू कहाँ जाँदैछु भनेर थाह नभए तापनि आफ्नो ठाउँ छोडेर तिनी गए। ९  विश्वासैले गर्दा तिनी प्रतिज्ञा गरिएको भूमिमा विदेशमा झैं प्रवासी भएर बसोबास गरे। अनि इसहाक र याकूबसँग पालमा बसे, जो तिनीजस्तै यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए। १०  किनकि तिनी साँचो जग भएको त्यस सहरको प्रतीक्षामा थिए, जुन सहरको निर्माता र रचनाकार परमेश्वर हुनुहुन्छ। ११  विश्वासैले गर्दा साराले गर्भधारण गर्ने शक्ति पाइन्‌ जबकि गर्भधारण गर्ने तिनको उमेर नाघिसकेको थियो, किनकि प्रतिज्ञा गर्ने व्यक्तिलाई तिनी विश्वासयोग्य ठान्थिन्‌। १२  त्यसैगरि मरेतुल्य एक जना मानिसबाट आकाशको ताराजत्तिकै असङ्ख्य र समुद्र किनाराका बालुवाजत्तिकै अनगिन्ती सन्तान जन्मिए। १३  तिनीहरू सबैले आफ्नो मृत्यु नहोउन्जेल अन्तसम्मै विश्वास गरे। आफूलाई प्रतिज्ञा गरिएका कुराहरू तिनीहरूको जीवनकालमा पूरा नभए तापनि ती कुराहरूलाई टाढैबाट देखे र स्वागत गरे अनि आफू बसोबास गरिरहेको भूमिमा परदेशी र अस्थायी बासिन्दा हौं भनी जनसमक्ष घोषणा गरे। १४  किनकि जो यस्ता कुरा गर्छन्‌, तिनीहरू जोडतोडले त्यस्तो ठाउँ खोज्दैछन्‌ भनेर प्रमाण दिन्छन्‌, जुन ठाउँ तिनीहरूको आफ्नै हुनेछ। १५  अनि यदि तिनीहरूले आफूले छोडेर आएको ठाउँलाई सम्झिरहेका भए तिनीहरूसित फेरि त्यहीं फर्कने मौका हुनेथियो। १६  तर अब अझ उत्तम ठाउँ हासिल गर्न तिनीहरू अघि बढिरहेका छन्‌, जसको सम्बन्ध स्वर्गसित छ। यसैले तिनीहरूको परमेश्वर भनेर कहलाइन परमेश्वर सर्माउनुहुन्न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ। १७  विश्वासैले गर्दा अब्राहामले आफ्नो परीक्षा हुँदा इसहाकलाई झन्डै बलि चढाइसकेका थिए, प्रतिज्ञाहरू खुसीसाथ स्वीकारेका यी मानिस आफ्नो एक मात्र छोरालाई बलि चढाउन ठिक्क परेका थिए। १८  हुन त, तिनलाई यसो भनिएको थियो: “जसलाई ‘तिम्रो वंश’ भनिनेछ, त्यो इसहाकमार्फत आउनेछ।” १९  तर पनि तिनलाई थाह थियो, परमेश्वरले इसहाकलाई मृत्युबाट समेत ब्यूँताउन सक्नुहुन्छ। अनि तिनले आफ्नो छोरालाई साँच्चै फिर्ता पाए, जुन पछि हुने कुराको नमुना थियो। २०  विश्वासैले गर्दा इसहाकले पछि आउने कुराहरूबारे याकूब र एसावलाई आशिष्‌ दिए। २१  विश्वासैले गर्दा याकूबले आफू मर्नै लाग्दा यूसुफका दुवै छोरालाई आशिष्‌ दिए अनि आफ्नो लौरोको टुप्पोमा अडेस लागेर परमेश्वरको उपासना गरे। २२  विश्वासैले गर्दा आफ्नो जीवनको अन्ततिर यूसुफले इस्राएलका छोराहरू मिश्रबाट प्रस्थान गर्नेबारे उल्लेख गरे। अनि तिनले आफ्ना हड्डीहरू त्यहाँबाट लैजाने आज्ञा दिए। २३  विश्वासैले गर्दा मोशाका आमाबाबुले तिनी जन्मेपछि तीन महिनासम्म तिनलाई लुकाइराखे किनभने तिनीहरूले त्यो सानो बालकलाई सुन्दर देखे र तिनीहरू राजाको हुकुमदेखि डराएनन्‌। २४  विश्वासैले गर्दा मोशाले आफू हुर्किएपछि मिश्रका राजाकी* छोरीको छोरा कहलाइन इन्कार गरे २५  अनि पापको क्षणिक सुखभोग गर्नभन्दा परमेश्वरका जनहरूसित दुर्व्यवहार भोग्न रोजे। २६  किनभने तिनले मिश्रका धनसम्पत्तिलाई भन्दा ख्रीष्टको* नाताले निन्दा सहनुलाई बढी मोलको ठाने। किनकि आफूले पाउने इनाममा तिनले आफ्नो नजर लगाएका थिए। २७  विश्वासैले गर्दा तिनले मिश्र छोडे, राजाको क्रोधसित डराएर त होइन, किनकि अदृश्य परमेश्वरलाई देखेझैं गरी तिनी अटल रहिरहे। २८  विश्वासैले गर्दा तिनले निस्तार-चाड मनाएका थिए अनि रगत छ्यापेका थिए, ताकि नाश गर्नेले इस्राएलीहरूका जेठो सन्तानलाई हात नलगाओस्। २९  विश्वासैले गर्दा तिनीहरूले सुक्खा भूमिमा हिंडेझैं गरी लाल समुद्र पार गरे तर मिश्रीहरूले त्यसै गर्ने आँट गर्दा भने समुद्रले तिनीहरूलाई निल्यो। ३०  विश्वासैले गर्दा तिनीहरूले यरिहो सहरको पर्खाललाई सात दिनसम्म फन्को लगाएपछि त्यो ढल्यो। ३१  विश्वासैले गर्दा वेश्या राहाब, अनाज्ञाकारी मानिसहरूसँगसँगै नाश भइनन्‌ किनभने तिनले जासुसहरूलाई मित्रभावले स्वागत गरिन्‌। ३२  अझ अरू क-कसको विषयमा म भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्तह, दाऊद, शमूएलका साथै अरू भविष्यवक्ताहरूको विषयमा बताउन थालें भने मलाई समय पुग्दैन। ३३  विश्वासैले गर्दा यिनीहरूले भिडन्त गर्न आएका राज्यहरूलाई परास्त गरे, परमेश्वरको स्तर स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहहरूका मुख थुने, ३४  दनदनी बलिरहेको आगोबाट उम्के, तरबारको धारबाट बचे, कमजोर अवस्थाबाट शक्तिशाली बनाइए, युद्धमा वीरता देखाए, विदेशी फौजलाई खेदे। ३५  स्त्रीहरूले मरिसकेका आफ्ना मानिसहरू पुनर्जीवित भएको पाए। अरू पुरुषहरूले भने आफूलाई सताइए तापनि कुनै सम्झौता गरेर छुट्न मानेनन्‌, किनकि तिनीहरू पुनर्जीवित भएर उत्तम जीवन पाउन चाहन्थे। ३६  हो, अरू कति भने गिल्ला अनि कोर्राको शिकार भए। यति मात्र होइन, तिनीहरू साङ्लाले बाँधिए अनि झ्यालखानामा थुनिए। ३७  तिनीहरू ढुङ्गाले हानिए, विश्वासको सम्झौता हुने प्रलोभनमा पारिए, करौंतीले चिरिए, तरबारले मारिए, भेडा-बाख्राको खाल ओडेर हिंडे। तिनीहरू खाँचोमा र सङ्कष्टमा परे अनि दुर्व्यवहारको शिकार भए। ३८  संसार तिनीहरूको लायक थिएन। तिनीहरू निर्जन ठाउँ, पहाड, गुफा र जमिनका प्वालहरू हुँदो भौंतारिए। ३९  विश्वासैले गर्दा यिनीहरू सबैले आफ्नो विषयमा राम्रो साक्षी पाए तापनि प्रतिज्ञा पूरा भएको भने देख्न पाएनन्‌, ४०  किनकि तिनीहरू हामीविना पूर्ण नहोऊन्‌ भनेर परमेश्वर हामीलाई अझ उत्तम कुरा दिन चाहनुहुन्थ्यो।

फुटनोटहरू

हिब्रू ११:३ * वा, “युगको स्थापना भयो।”
हिब्रू ११:२४ * शाब्दिक, “फारोकी।” मिश्रका राजाहरूको एउटा उपाधि।
हिब्रू ११:२६ * वा, “अभिषिक्त जनको।”