अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

लूका २१:१-३८

२१  अनि उहाँले नजर उठाएर हेर्दा धनी मानिसहरूले दानपात्रमा भेटी खसालिरहेको देख्नुभयो। २  त्यहाँ एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसालेको पनि उहाँले देख्नुभयो ३  र यसो भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, गरिब भईकन यस विधवाले तिनीहरू सबैले भन्दा धेरै खसाली। ४  किनकि तिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी खसाले तर यस स्त्रीले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” ५  पछि, मन्दिर कस्ता-कस्ता सुन्दर पत्थरहरू र परमेश्वरलाई अर्पण गरिएका कुराहरूले सजिसजाउ छ भनेर कसै-कसैले कुरा गरिरहेका थिए। ६  त्यतिनैखेर उहाँले भन्नुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढल्नेछन्‌।” ७  अनि तिनीहरूले उहाँलाई यस्तो प्रश्न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन्‌ अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?” ८  उहाँले भन्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्। किनकि धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ र ‘बेला भइसकेको छ’ भन्दै आउनेछन्‌। तर तिनीहरूको पछि नलाग। ९  यसबाहेक, युद्ध र गोलमालको कोलाहल सुन्दा नआत्तिओ। किनकि पहिला यी सब हुनु आवश्यक छ, तर यस युगको अन्त त्यतिखेरै भइहाल्नेछैन।” १०  त्यसपछि उहाँले तिनीहरूलाई अझै यसो भन्नुभयो: “जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्नेछ, ११  ठूलठूला भूकम्प हुनेछ, ठाउँ-ठाउँमा महामारी हुनेछ र अनिकाल पर्नेछ। मानिसहरूले भयानक दृश्यहरू देख्नेछन्‌ र आकाशमा ठूलठूला चिन्हहरू हुनेछन्‌। १२  “तर यी सब हुनुअघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌, सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्‌ अनि मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ। १३  त्यतिखेर तिमीहरूले साक्षी दिने मौका पाउनेछौ। १४  तब आफ्नो सफाइ कसरी दिने भनी मनमनै पहिल्यै तयारी नगर, १५  किनकि तिमीहरूले के बोल्नुपर्ने हो, त्यो म तिमीहरूको मुखमा हालिदिनेछु र तिमीहरूलाई यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीहरूले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌। १६  साथै, आमाबाबु, दाजुभाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई सुम्पिदिनेछन्‌ र तिमीहरूमध्ये कसै-कसैलाई तिनीहरूले मार्नेछन्‌। १७  अनि तिमीहरू मेरा चेला भएकाले सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌। १८  तर तिमीहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन। १९  तिमीहरूले सह्यौ भने आफ्नो ज्यान* बचाउनेछौ। २०  “यसबाहेक, जब यरूशलेमलाई सैनिकहरूले घेरेको तिमीहरूले देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ। २१  अनि यहूदियामा हुनेजति डाँडाहरूतिर भाग्न थालून्‌, सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र बाहिर हुनेहरू त्यसभित्र नपसून्‌। २२  किनभने लेखिएका सबै कुरा पूरा होऊन्‌ भनेर त्यो दिन त्यसको न्याय हुनेछ। २३  ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय! किनकि त्यस भूमिमा ठूलो सङ्कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ। २४  तिनीहरू तरबारले मारिनेछन्‌ र सबै राष्ट्रहरूमा बन्दी बनाएर लगिनेछन्‌। अनि राष्ट्रहरूलाई दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरूशलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌। २५  “साथै, सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्‌ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्‌। २६  अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌। २७  तब तिनीहरूले मानिसको छोरालाई शक्ति र ठूलो गौरवसहित बादलमा आउँदै गरेको देख्नेछन्‌। २८  तर यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ, किनकि तिमीहरूको छुटकारा नजिक आउँदैछ।” २९  त्यसपछि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त बताउनुभयो: “अन्जीरको रूख र अरू सबै रूखहरूलाई हेर: ३०  तिनीहरूमा पालुवा लागिसकेको देखेपछि ग्रीष्म ऋतु नजिकै रहेछ भनेर तिमीहरूले थाह पाउँछौ। ३१  त्यसैगरि तिमीहरू पनि जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्वरको राज्य नजिकै छ भनेर जान। ३२  म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन। ३३  आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌। ३४  “तर तिमीहरू आफ्नो विषयमा होसियार बस, ताकि धेरै खाने र पिउने अनि जीवनको फिक्रीको बोझले तिमीहरूको मनलाई दबाउन नपाओस्, नत्रता त्यो दिन तिमीहरूमाथि अचानक ३५  पासोझैं आइपर्नेछ। किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। ३६  त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हर घडी उत्कट बिन्ती चढाउँदै जागा रहो।” ३७  उहाँ दिनभरि मन्दिरमा सिकाउनुहुन्थ्यो तर राती भने जैतुन डाँडा भनिने पहाडमा गएर बास बस्नुहुन्थ्यो। ३८  अनि उहाँको कुरा सुन्न सबै मानिसहरू बिहान सबेरै मन्दिरमा आउँथे।

फुटनोटहरू

लूका २१:२ * शाब्दिक, “दुई लेप्टन।” मर्कूस १२:४२ को फुटनोट पनि हेर्नुहोस्।
लूका २१:१९ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस।