अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

लूका १९:१-४८

१९  अनि उहाँ यरिहो पस्नुभयो र त्यही सहरको बाटो भएर जाँदै हुनुहुन्थ्यो। २  त्यहाँ जक्कै नाम गरेका एक जना मानिस थिए। तिनी कर उठाउने मानिसहरूका हाकिम थिए र धनी पनि थिए। ३  येशू भन्ने मानिस को रहेछ भनेर तिनी हेर्न चाहन्थे तर भीडले गर्दा देख्न सकेनन्‌, किनकि तिनी पुड्का थिए। ४  त्यसैले तिनी दौडेर अरूभन्दा अगाडि गए र उहाँलाई हेर्न जङ्गली अन्जीरको रूखमा चढे, किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो। ५  अनि त्यस ठाउँमा पुगेपछि येशूले मास्तिर हेरेर तिनलाई भन्नुभयो: “ए जक्कै, झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नुछ।” ६  यो सुनेर तिनी तुरुन्तै तल ओर्ले र खुसी हुँदै उहाँलाई आफ्नो घरमा स्वागत गरे। ७  तर यो देखेर तिनीहरू सबै यसो भन्दै गनगनाउन थाले: “यो त पापी मानिसको घरमा पो बास बस्न गयो।” ८  तब जुरुक्क उठेर जक्कैले प्रभुलाई भने: “हेर्नुहोस् प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्छु अनि झूटो आरोप लगाएर मैले जे-जति लुटें, म त्यसको चार गुणा तिर्छु।” ९  तिनको कुरा सुनेर येशूले भन्नुभयो: “आज यो घरले उद्धार पाएको छ, किनकि ऊ पनि अब्राहामको छोरा हो। १०  मानिसको छोरा, हराएकोलाई खोज्न र उसलाई बचाउन आएको हो।” ११  तिनीहरूले यी कुराहरू सुनिरहेको बेला उहाँले एउटा दृष्टान्त पनि सुनाउनुभयो। किनकि उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो र परमेश्वरको राज्य तुरुन्तै प्रकट हुनेछ भनेर तिनीहरूले सोचिरहेका थिए। १२  त्यसैले उहाँले भन्नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए। १३  तिनले आफ्ना दस जना दासलाई बोलाएर चाँदीको दस-दस टुक्रा* दिए र भने: ‘म नफर्केसम्म यसबाट व्यापार गर।’ १४  तर तिनका जनता तिनलाई घृणा गर्थे। त्यसैले राजदूतहरूको एक दललाई तिनको पछि-पछि यसो भन्न पठाए: ‘यो मानिस हाम्रो राजा बनेको हामी चाहन्नौं।’ १५  “अन्तमा, राज्याधिकार हासिल गरेर तिनी फर्के। अनि आफूले चाँदीको पैसा दिएका दासहरूलाई बोलाउन हुकुम गरे। किनकि तिनीहरूले व्यापार गरेर के-कति कमाए भनेर तिनी पक्का गर्न चाहन्थे। १६  तब पहिलोचाहिं हाजिर भयो र भन्यो: ‘मालिक, तपाईंले दिनुभएको चाँदीको टुक्राबाट मैले अरू दस टुक्रा कमाएँ।’ १७  अनि तिनले त्यस दासलाई भने: ‘स्याबास, असल दास! तिमीले आफूलाई असाध्यै सानो कुरामा विश्वासिलो साबित गऱ्यौ। त्यसैले दस सहरमाथि अख्तियार चलाऊ।’ १८  त्यसैगरि, दोस्रो दास आयो र भन्यो: ‘मालिक, तपाईंले दिनुभएको चाँदीको टुक्राबाट मैले अरू पाँच टुक्रा कमाएँ।’ १९  तिनले उसलाई पनि यसो भने: ‘तिमी पनि पाँच सहरमाथि अख्तियार चलाऊ।’ २०  तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईंको चाँदीको टुक्रा यहाँ छ। मैले यसलाई कपडामा बेरेर राखें। २१  मलाई तपाईंको डर लाग्यो, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। तपाईं आफूले जम्मा नगरेको पैसा झिक्नुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’ २२  तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरो आफ्नै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा झिक्ने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त? २३  त्यसोभए, तैंले मेरो चाँदीको पैसा साहूकहाँ लगेर किन राखिनस्? तैंले त्यसो गरेको भए म फर्कंदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’ २४  “त्यसपछि तिनले नजिकै उभिरहेकाहरूलाई यसो भने: ‘ऊबाट चाँदीको टुक्रा खोसेर दस टुक्रा पाउनेलाई देओ।’ २५  तर तिनीहरूले यस्तो जवाफ दिए: ‘मालिक, ऊसित दस टुक्रा छँदै छ नि!’— २६  ‘म तिमीहरूलाई भन्छु, जससित छ, त्यसलाई अझ धेरै दिइनेछ तर जससित छैन, त्यससित भएको पनि खोसिनेछ। २७  साथै, मेरा शत्रुहरू, जो म तिनीहरूको राजा बनोस् भन्ने चाहँदैनन्‌, तिनीहरूलाई यहाँ ल्याओ र मेरै सामने तिनीहरूलाई काट।’ ” २८  अनि यी कुरा भनिसकेपछि उहाँ अघि-अघि हिंड्दै यरूशलेमतिर उक्लन थाल्नुभयो। २९  तब जैतुन डाँडा भनिने पहाडको बेथफागे अनि बेथानीनजिकै पुगेपछि उहाँले आफ्ना दुई चेलालाई यसो भनेर पठाउनुभयो: ३०  “तिमीहरूले देखिरहेको त्यो गाउँमा जाओ र त्यहाँ पसेपछि तिमीहरूले अहिलेसम्म कोही नचढेको एउटा पाजीलाई बाँधेर राखेको भेट्टाउनेछौ। त्यसलाई फुकाएर ल्याओ। ३१  तर यदि कसैले ‘तिमीहरू किन यसलाई फुकाउँदैछौ?’ भनेर सोध्यो भने यसो भन्नू, ‘प्रभुलाई यो चाहिएको छ।’ ” ३२  तब तिनीहरू गए र उहाँले जस्तो भन्नुभएको थियो, त्यस्तै पाए। ३३  तर तिनीहरूले पाजीलाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले सोधे: “तिमीहरू किन यस पाजीलाई फुकाउँदैछौ?” ३४  तिनीहरूले जवाफ दिए: “प्रभुलाई यो चाहिएको छ।” ३५  तब तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए र त्यस पाजीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि येशूलाई त्यसमाथि बसाए। ३६  अनि उहाँ अगाडि बढ्दै गर्दा तिनीहरूले आ-आफ्नो लुगा बाटोमा बिछ्याउन थाले। ३७  उहाँ जैतुन डाँडाबाट ओरालो झर्ने बाटो नजिक पुग्नेबित्तिकै चेलाहरूको सारा भीड आफूले देखेका सबै शक्तिशाली कामहरूका लागि आनन्द मनाउँदै चर्को स्वरले यसरी परमेश्वरको प्रशंसा गर्न थाल्यो: ३८  “यहोवाको नाममा आउने राजा धन्यका होऊन्‌! स्वर्गमा शान्ति अनि सबैभन्दा उच्चस्थानमा विराजमान हुनुहुनेको महिमा होस्!” ३९  यो सुनेर भीडबाट केही फरिसीहरूले उहाँलाई भने: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्।” ४०  तर उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई भन्छु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू कराउनेछन्‌।” ४१  जब उहाँ नजिक पुग्नुभयो, तब सहरलाई हेरेर रुनुभयो ४२  र भन्नुभयो: “यदि आजको दिन तैंले, हो तैंले कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए— तर ती अब तेरो नजरबाट लुकाइएका छन्‌। ४३  किनकि यस्तो बेला आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिर तीखा-तीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन्‌ र चारैतिरबाट तँलाई पेल्नेछन्‌। ४४  तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने केटाकेटीहरूलाई भुइँमा पछार्नेछन्‌ र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोड्नेछैनन्‌, किनकि तेरो जाँच भइरहेको समयलाई तैंले चिन्न सकिनस्।” ४५  अनि उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ बेचबिखन गरिरहेकाहरूलाई बाहिर लघार्दै ४६  यसो भन्न थाल्नुभयो: “यस्तो लेखिएको छ: ‘अनि मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनायौ।” ४७  साथै, उहाँले हरेक दिन मन्दिरमा सिकाउन थाल्नुभयो। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए। ४८  तर तिनीहरूले त्यसो गर्ने राम्रो मौका पाएनन्‌, किनकि सबका सब मानिसहरू उहाँको कुरा सुन्न उहाँको वरिपरि झुम्मिरहन्थे।

फुटनोटहरू

लूका १९:१३ * शाब्दिक, “मीना।” मीना तौल नाप्ने युनानी इकाई थियो र एक मीना बराबर ३४० ग्राम चाँदी हुन्थ्यो।