अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

लूका १५:१-३२

१५  तब कर उठाउने* सबै जना र तिनीहरू जस्तै अरू पापीहरू उहाँको कुरा सुन्न उहाँकहाँ आउन थाले। २  यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” ३  अनि उहाँले तिनीहरूलाई यो दृष्टान्त बताउनुभयो: ४  “तिमीहरूमध्ये कुनचाहिं मानिस यस्तो होला, जसको सय वटा भेडा छन्‌ र तीमध्ये एउटा हरायो भने उनान्सयलाई उजाडस्थानमै छोडेर हराएको त्यो भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन? ५  अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। ६  तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’ ७  म तिमीहरूलाई भन्छु, यसरी नै एक जना पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ, त्यति रमाहट परमेश्वरको स्तरबमोजिम असल काम गर्ने उनान्सय जना मानिसका लागि हुँदैन, जसलाई पश्‍चात्तापको कुनै खाँचो छैन। ८  “अथवा कुनचाहिं स्त्री यस्तो होला, जसले आफूसित भएको दस वटा सिक्कामध्ये* एउटा हराउँदा त्यो नभेट्टाउन्जेल दियो बालेर आफ्नो घर बढार्दै धुइँधुइँती खोज्दिन? ९  अनि भेट्टाएपछि आफ्ना दौंतरी र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छे: ‘तिमीहरू पनि मसँगसँगै रमाओ किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’ १०  म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्‍चात्ताप गर्दा परमेश्वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।” ११  अनि उहाँले भन्नुभयो: “कुनै एक जना मानिसका दुई छोरा थिए। १२  कान्छोचाहिंले बुबालाई भन्यो: ‘बुबा, मलाई मेरो अंश दिनुहोस्।’ तब बुबाले आफ्नो सम्पत्ति अंशबण्डा गरेर तिनीहरूलाई दियो। १३  पछि, धेरै दिन बित्न नपाउँदै, कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। १४  आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्यो र उसलाई धौ-धौ पर्न थाल्यो। १५  यहाँसम्म कि, त्यस देशको एक जना मानिसकहाँ गएर उसले काम माग्यो र तिनले उसलाई आफ्नो खेतमा सुँगुर चराउन पठाए। १६  अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिंदैनथ्यो। १७  “जब उसको होस खुल्यो, तब उसले भन्यो: ‘मेरा बुबाका त्यत्रा कामदारहरूलाई रोटीको कुनै अभाव छैन तर म भने यहाँ अनिकालले मर्नै लागिसकें! १८  अब म बुबाकहाँ जान्छु र उहाँलाई भन्छु: “बुबा, मैले परमेश्वर* र तपाईंको विरुद्धमा पाप गरेको छु। १९  अब म तपाईंको छोरा भनिन लायकको छैन। त्यसैले मलाई तपाईंको ज्यालादारी कामदार बनाउनुहोस्।” ’ २०  अनि ऊ उठेर आफ्नो बुबाकहाँ गयो। बुबाले टाढैबाट उसलाई आउँदै गरेको देख्यो र टिठायो अनि दौडेर गयो र उसलाई अँगालो हालेर चुम्बन गऱ्यो। २१  तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्वर र तपाईंको विरुद्धमा पाप गरेको छु। अब म तपाईंको छोरा भनिन लायकको छैन। त्यसैले मलाई तपाईंको ज्यालादारी कामदार बनाउनुहोस्।’ २२  तर बुबाले आफ्ना दासहरूलाई भन्यो: ‘झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औंठी र जुत्ता पनि लगाइदेओ! २३  त्यसपछि मोटोघाटो बहर ल्याएर काट अनि हामी खाऔं र रमाइलो गरौं, २४  किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो; ऊ हराएको थियो तर अहिले भेटियो।’ अनि तिनीहरूले रमाइलो गर्न थाले। २५  “त्यतिखेर उसको जेठो छोरा खेतमा थियो अनि फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। २६  त्यसैले उसले नोकरहरूमध्ये एक जनालाई बोलायो र के हुँदैछ भनी सोध्यो। २७  त्यसले उसलाई भन्यो: ‘तपाईंको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईंका बुबाले मोटोघाटो बहर काट्न लगाउनुभयो।’ २८  तब ऊ क्रोधित भयो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। २९  तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईंको चाकरी गरें अनि कहिल्यै तपाईंको आज्ञा मान्न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईंले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। ३०  तर वेश्याहरूसित तपाईंको सम्पत्ति उडाउने तपाईंको यो छोरा आउनेबित्तिकै तपाईंले उसको लागि मोटोघाटो बहर काट्न लगाउनुभयो।’ ३१  तब बुबाले उसलाई भन्यो: ‘बाबु, तिमी त सधैं मसितै छौ अनि मेरो जे-जति छ, ती सब तिम्रै हो, ३२  तिम्रो यो भाइ मरेको थियो तर फेरि जिउँदो भयो अनि हराएको थियो तर फेरि भेटियो। त्यसैले हामी खुसी हुनु र रमाइलो गर्नु उचित हो।’ ”

फुटनोटहरू

लूका १५:१ * त्यतिखेरका मानिसहरू कर उठाउनेहरूको इज्जत गर्दैनथे।
लूका १५:८ * शाब्दिक, “ड्राक्मामध्ये।” ड्राक्मा ३.४० ग्राम तौल भएको चाँदीको ग्रीक सिक्का हो।
लूका १५:१८ * शाब्दिक, “स्वर्ग।”