अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

रोमी ९:१-३३

 म ख्रीष्टमा सत्य बोल्दैछु; मैले झूट बोलेको होइन किनभने पवित्र शक्तिसित मिलेर मेरो अन्तस्करणले साक्षी दिन्छ, २  कि मेरो मनमा ठूलो शोक र यस्तो पीडा छ, जुन कहिल्यै कम भएन। ३  मेरा भाइहरू, जो रगतको नाताले मेरा नातेदार हुन्‌, तिनीहरूको सट्टा मचाहिं ख्रीष्टबाट श्रापित भएर अलग भइदिए हुन्थ्यो, ४  जो वास्तवमा इस्राएलीहरू हुन्‌ र जसलाई धर्मपुत्रको रूपमा स्वीकारियो अनि गौरव, करार, मोशाको व्यवस्था, पवित्र सेवा र प्रतिज्ञाहरू सुम्पिइयो। ५  तिनीहरूबाटै हाम्रा पुर्खाहरू आए र तिनीहरूकै सन्तानको रूपमा ख्रीष्ट पनि जन्मिनुभयो। परमेश्वर, जो सबैभन्दा उच्च हुनुहुन्छ, सदासर्वदा धन्यका होऊन्‌। आमिन। ६  तथापि, परमेश्वरको वचन असफल भयो भन्न खोजेको त होइन। किनकि इस्राएलबाट जन्मेकाहरू सबै जना साँच्चै इस्राएलीहरू होइनन्‌। ७  न त अब्राहामको वंशबाट आए भन्दैमा तिनीहरू सबै तिनका सन्तान हुन्‌, तर यस्तो लेखिएको छ: “जसलाई ‘तिम्रो वंश’ भनिनेछ, त्यो इसहाकमार्फत आउनेछ।” ८  यसको मतलब के हो भने, रगतको नाताले सन्तान भएकाहरू वास्तवमा परमेश्वरका सन्तान होइनन्‌ तर प्रतिज्ञामार्फत जो उहाँका सन्तान भएका छन्‌, तिनीहरूलाई नै अब्राहामको वंश मानिन्छ। ९  किनकि परमेश्वरले यस्तो प्रतिज्ञा गर्नुभएको थियो: “अर्को वर्ष यसै बेला म आउनेछु अनि साराले एउटा छोरो जन्माउनेछे।” १०  यद्यपि, यो प्रतिज्ञा त्यही एक चोटि मात्र गरिएको थिएन बरु हाम्रा पुर्खा इसहाकबाट रिबेकाले जुम्ल्याहालाई गर्भधारण गर्दा पनि गरिएको थियो। ११  तिनीहरू नजन्मँदै अनि तिनीहरूले कुनै असल वा खराब काम नगर्दै यसो गरिएको थियो, ताकि परमेश्वरको उद्देश्यअनुरूप छनौट गर्ने काम बोलाउनुहुनेमा निर्भर भइरहोस् तर कसैको कामहरूमा होइन। १२  रिबेकालाई यस्तो भनिएको थियो: “जेठोचाहिं कान्छोको दास हुनेछ।” १३  जस्तो लेखिएको छ: “मैले याकूबलाई प्रेम गरें तर एसावलाई भने घृणा गरें।” १४  त्यसोभए, हामी के भनौं? के परमेश्वरले अन्याय गर्नुहुन्छ? त्यस्तो कहिल्यै नहोस्! १५  किनकि उहाँ मोशालाई भन्नुहुन्छ: “म जसलाई कृपा देखाउन चाहन्छु, उसैलाई कृपा देखाउनेछु अनि म जसलाई करुणा देखाउन चाहन्छु, उसैलाई करुणा देखाउनेछु।” १६  त्यसैले यो न त इच्छा गर्दैमा, न दौडधूप गर्दैमा पाइन्छ तर परमेश्वरमा निर्भर हुन्छ, जसले कृपा देखाउनुहुन्छ। १७  किनकि धर्मशास्त्रले मिश्रका राजालाई* भन्छ: “मैले तिमीलाई यसैकारण अहिलेसम्म जीवित राखें ताकि तिमीद्वारा मेरो शक्ति देखाउन सकूँ अनि मेरो नाम सारा पृथ्वीमा घोषणा गरियोस्।” १८  त्यसैले उहाँ जसलाई चाहनुहुन्छ, उसैलाई कृपा देखाउनुहुन्छ तर जो कठोर हुन चाहन्छ, उसलाई त्यस्तै हुन दिनुहुन्छ। १९  तसर्थ तिमी मलाई भन्नेछौ: “उहाँ किन अझै गल्ती खोजिरहनुहुन्छ त? उहाँले प्रकट गर्नुभएको इच्छाविरुद्ध को खडा हुन सकेको छ र?” २०  त्यसोभए, ए मानिस, परमेश्वरलाई जवाफ फर्काउन तिम्रो हैसियत के? के बनाइएको वस्तुले बनाउनेलाई “किन तपाईंले मलाई यस्तो बनाउनुभयो” भन्छ र? २१  माटोको एउटै डल्लोबाट आदरणीय प्रयोगको लागि एउटा भाँडो र अनादरणीय प्रयोगको लागि अर्को भाँडो बनाउन माटोमाथि कुमालेको अधिकार हुन्छ भनेर के तिमीलाई थाह छैन? २२  अब आफ्नो क्रोध प्रदर्शन गर्ने र आफ्नो शक्ति प्रकट गर्ने इच्छा भए तापनि विनाशको लायक क्रोधका भाँडाहरूलाई परमेश्वरले धीरज गरेर सहनुभयो, २३  ताकि कृपाका भाँडाहरूमाथि प्रचुर मात्रामा गौरव देखाउन सकियोस्। तिनीहरूले गौरव पाऊन्‌ भनेर उहाँले यी भाँडाहरूलाई पहिल्यै तयार पार्नुभएको थियो, २४  अर्थात्‌ हामीलाई, जसलाई उहाँले यहूदीहरूको माझबाट मात्र होइन तर अन्यजातिहरूबाट पनि बोलाउनुभयो। के यसमा हामी केही भन्न सक्छौं र? २५  जस्तो उहाँले होशेको पुस्तकमा पनि भन्नुभएको छ: “जो मेरा मानिसहरू होइनन्‌, तिनीहरूलाई ‘मेरा मानिसहरू’ भन्नेछु अनि जो मेरी प्रिय थिइनन्‌, उनलाई ‘प्रिय’ भन्नेछु २६  अनि जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका छोराहरू’ कहलाइनेछन्‌।” २७  यसबाहेक, इस्राएलबारे यशैया ठूलो स्वरले यसो भन्छन्‌: “इस्राएलका छोराहरू समुद्रका बालुवासरी भए तापनि बाँकी रहेकाहरूको मात्र उद्धार गरिनेछ। २८  किनकि यहोवाले पृथ्वीको लेखा लिनुहुनेछ, उहाँले केही बाँकी नराखी यो काम झट्टै सक्नुहुनेछ।” २९  जस्तो यशैयाले पहिल्यै यसो भनेका थिए: “सेनाहरूका यहोवाले हाम्रो लागि वंश नछोड्नुभएको भए हामी सदोमजस्तै हुनेथियौं अनि हाम्रो हालत गमोराको जस्तै हुनेथियो।” ३०  त्यसोभए, हामी के भनौं? अन्यजातिका मानिसहरूले असल ठहरिन कोसिस नगरे तापनि विश्वासले गर्दा तिनीहरू परमेश्वरको नजरमा असल ठहरिए। ३१  तर इस्राएलले व्यवस्थामा तोकिएबमोजिम असल ठहरिने कोसिस गरे तापनि तिनीहरूले व्यवस्थाको माग पूरा गरेनन्‌। ३२  के कारणले गर्दा? किनभने तिनीहरूले विश्वासद्वारा होइन तर कामहरूद्वारा असल ठहरिन कोसिस गरे। तिनीहरूले “ठेस लाग्ने ढुङ्गामा” ठेस खाए। ३३  जस्तो लेखिएको छ: “हेर, म सियोनमा ठेस लाग्ने ढुङ्गा र ठक्कर खाने चट्टान बसाल्दैछु तर जसले त्यसमा विश्वास गर्छ, ऊ निराश हुनेछैन।”

फुटनोटहरू

रोमी ९:१७ * शाब्दिक, “फारोलाई।” मिश्रका राजाहरूको एउटा उपाधि।