अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

रोमी १६:१-२७

१६  म तिमीहरूलाई हाम्री बहिनी फिबीबारे लेख्दैछु, जो सिनक्रियामा भएको मण्डलीको सेवक हुन्‌। २  म आग्रह गर्छु कि पवित्र जनहरूलाई जसरी स्वागत गर्नुपर्ने हो, तिमीहरूले उनलाई पनि प्रभुमा त्यसरी नै स्वागत गर अनि उनलाई तिमीहरूबाट जे-जस्तो मदतको खाँचो पर्छ, सहयोग गर, किनकि उनी आफै पनि धेरैको लागि अनि हो, मेरो लागि समेत मदतगार साबित भएकी छिन्‌। ३  ख्रीष्ट येशूमा मेरा सहकर्मीहरू प्रिस्का* र अक्वीलालाई मेरो अभिवादन छ भनिदेओ, ४  जसले मेरो ज्यान* बचाउन आफ्नो गर्दन खतरामा पारे अनि जसलाई मैले मात्र होइन तर अन्यजातिका सबै मण्डलीले पनि धन्यवाद दिन्छन्‌। ५  अनि उनीहरूको घरमा भेला हुने मण्डलीलाई पनि अभिवादन छ। मेरो प्रिय इपेनितसलाई अभिवादन छ, जो एसियामा* प्रभुका अगौटे फलहरूमध्येका हुन्‌। ६  मरियमलाई अभिवादन छ, जसले तिमीहरूका निम्ति धेरै मेहनत गरेकी छिन्‌। ७  एन्ड्रोनिकस र युनियसलाई अभिवादन छ, जो मेरा नातेदार र मेरा सँगी-कैदीहरू हुन्‌। तिनीहरूले प्रेषितहरूमाझ राम्रो नाम कमाएका छन्‌ र तिनीहरू मभन्दा पहिला ख्रीष्टको चेला बनेका हुन्‌। ८  प्रभुमा मेरो प्रिय एमप्लिआतसलाई मेरो अभिवादन छ भनिदेओ। ९  ख्रीष्टमा हाम्रा सहकर्मी उर्बानस र मेरो प्रिय स्ताकिसलाई अभिवादन छ। १०  ख्रीष्टमा असल नाम कमाएका अपेल्लेसलाई अभिवादन छ। अरिस्तोबलसको घरमा भएकाहरूलाई अभिवादन छ। ११  मेरो नातेदार हेरोदियनलाई अभिवादन छ। नर्सिससको घरमा भएकाहरू, जो प्रभुमा छन्‌, उनीहरूलाई अभिवादन छ। १२  त्रिफेना र त्रिफोसालाई अभिवादन छ, जसले प्रभुमा कडा परिश्रम गरिरहेका छन्‌। हाम्री प्रिय परसीसलाई अभिवादन छ, किनकि उनले प्रभुमा धेरै मेहनत गरिन्‌। १३  प्रभुमा चुनिएका रूफसलाई र तिनकी आमालाई मेरो अभिवादन छ, जो मेरी पनि आमा हुन्‌। १४  असिङ्क्रितस, फ्लेगन, हर्मेस, पत्रोबास र हर्मसलाई अभिवादन छ अनि ती भाइहरूलाई पनि, जो तिनीहरूसित छन्‌। १५  फिलोलोगस र जुलिया, नेरियस र तिनकी बहिनी* अनि ओलिम्पासलाई अभिवादन छ अनि ती सबै पवित्र जनहरूलाई पनि, जो तिनीहरूसित छन्‌। १६  पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर। ख्रीष्टका सबै मण्डलीले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। १७  अब ए भाइहरू हो, म तिमीहरूलाई उत्कट आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन्‌ र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्याउँछन्‌। यिनीहरूबाट टाढै बस। १८  किनकि यस्ता मानिसहरू हाम्रा प्रभु ख्रीष्टका होइनन्‌ तर आफ्नै पेटका दासहरू हुन्‌ अनि तिनीहरूले चिप्ला कुराहरू गरेर अनि फुरुक्क पार्ने बोलीद्वारा सीधासादाहरूको मन बहकाउँछन्‌। १९  तिमीहरूको आज्ञाकारिताबारे सबैले थाह पाएका छन्‌। त्यसैले तिमीहरूको कारण म खुसी छु। तर तिमीहरू राम्रो कुरामा बुद्धिमान्‌ र खराब कुरामा निर्दोष होओ भन्ने म चाहन्छु। २०  तिमीहरूलाई शान्ति दिनुहुने परमेश्वरले चाँडै सैतानलाई तिमीहरूको खुट्टामुनि राखेर कुल्चनुहुनेछ। हाम्रा प्रभु येशूको असीम अनुग्रह तिमीहरूसित रहोस्। २१  मेरो सहकर्मी तिमोथी अनि मेरा नातेदारहरू लुसियस, जेसन र सोसिपेटरले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २२  यो पत्र लेख्ने म तर्तियसको तर्फबाट पनि तिमीहरूलाई प्रभुमा अभिवादन छ। २३  मेरो मेजमान, गायसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌, जसको घरमा मण्डली भेला हुनेगर्छ। सहरका खजान्ची इरास्तसले तिमीहरूलाई अभिवादन पठाएका छन्‌ र तिनका भाइ क्वार्टसले पनि। २४  * — २५  परमेश्वरले तिमीहरूलाई येशू ख्रीष्टसित सम्बन्धित सुसमाचारद्वारा स्थिर बनाउन सक्नुहुन्छ। मैले घोषणा गर्ने यो सुसमाचार, पवित्र रहस्यबारे जे प्रकाशमा आएको छ, त्यससित सम्बन्धित छ, जुन युगौंदेखि गुप्तमा राखिएको थियो २६  तर अहिले भने प्रकट गरिएको छ। अनि सदैव रहिरहनुहुने परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूको लेखोटद्वारा सबै जातिहरूलाई थाह दिइएको छ, ताकि विश्वास देखाएर तिनीहरू आज्ञाकारी बनून्‌। २७  येशू ख्रीष्टमार्फत एक मात्र बुद्धिमान्‌ परमेश्वरको सदासर्वदा महिमा भइरहोस्। आमिन।

फुटनोटहरू

रोमी  १६:३ * वा, “प्रिस्किला।”
रोमी १६:४ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
रोमी १६:५ प्रेषित २:९ को फुटनोट हेर्नुहोस्।
रोमी १६:१५ * वा, “दिदी।”
रोमी १६:२४ * सबैभन्दा पुराना ग्रीक पाण्डुलिपिहरूमा “हाम्रा प्रभु येशूको असीम अनुग्रह तिमीहरू सबैसित रहोस्। आमिन” भन्ने वाक्य पाइँदैन, जुन पद २० को अन्तिम भागसित मेल खान्छ।