सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

रोमी १५:१-३३

१५  तर हामी बलियाहरूले तिनीहरूका कमजोरीहरू सहनुपर्छ, जो बलिया छैनन्‌ अनि हामीले आफूलाई मात्र खुसी पार्न खोज्नुहुँदैन।  हामी प्रत्येकले आफ्नो छिमेकीको उत्थान हुने राम्रो काम गरेर उसलाई खुसी पारौं।  किनकि ख्रीष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन, तर जस्तो लेखिएको छ: “जसले तपाईंको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।”  पहिले लेखिएका सबै कुरा हाम्रो शिक्षाका लागि लेखिएका हुन्‌, ताकि हाम्रो सहनशीलता र धर्मशास्त्रबाट पाइने सान्त्वनाद्वारा हामीलाई आशा होस्‌।  अब सहनशीलता र सान्त्वना दिनुहुने परमेश्‍वरले तिमीहरू सबैलाई ख्रीष्ट येशूको जस्तै मनोभाव देऊन्‌,  ताकि एकै मनको भएर तिमीहरूले एउटै सोरमा हाम्रा प्रभु येशू ख्रीष्टको परमेश्‍वर र बुबाको प्रशंसा गर्न सक।  त्यसैले, जसरी ख्रीष्टले हामीलाई स्वीकार्नुभयो, त्यसरी नै एक-अर्कालाई स्वीकार गर र यसरी परमेश्‍वरको प्रशंसा होस्‌।  किनकि म भन्छु, ख्रीष्ट वास्तवमा, खतना भएकाहरूको सेवक बन्‍नुभयो, ताकि परमेश्‍वर सत्य हुनुहुन्छ र उहाँले तिनीहरूका पुर्खाहरूसित गर्नुभएका प्रतिज्ञाहरू भरोसायोग्य छन्‌ भनेर प्रमाणित गर्न सकियोस्‌  र परमेश्‍वरले देखाउनुभएको कृपाको लागि अन्यजातिहरूले उहाँको प्रशंसा गरून्‌। जस्तो लेखिएको छ: “त्यसैले जाति-जातिका मानिसहरूमाझ म तपाईंलाई खुलेआम स्वीकार्नेछु र तपाईंको नामको स्तुतिगान गाउनेछु।” १०  अनि फेरि यस्तो भनिएको छ: “हे जाति-जातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ।” ११  र फेरि: “हे जाति-जातिका मानिसहरू हो, यहोवाको प्रशंसा गर र सबै मानिसले उहाँको प्रशंसा गरून्‌।” १२  अनि फेरि यशैया भन्छन्‌: “यिशैको जरा देखा पर्नेछ र जाति-जातिमाथि शासन गर्न एक जना खडा हुनेछ। ऊमाथि नै जाति-जातिका मानिसहरूले आफ्नो आशा राख्नेछन्‌।” १३  आशा दिनुहुने परमेश्‍वरले, तिमीहरूले गरेको विश्‍वासको आधारमा तिमीहरूलाई सारा खुसी र शान्तिले भरिदिऊन्‌, ताकि पवित्र शक्‍तिको तागतद्वारा तिमीहरूको आशा बढ्‌दै जाओस्‌। १४  अब ए भाइहरू हो, म तिमीहरूबारे विश्‍वस्त छु, तिमीहरू पनि भलाइ र सारा ज्ञानले भरिपूर्ण छौ र तिमीहरू एक-अर्कालाई सल्लाह दिन पनि सक्छौ। १५  तथापि, तिमीहरूलाई फेरि सम्झाउन केही बुँदाहरूमा म अझ खुलेरै लेख्दैछु। परमेश्‍वरले मलाई असीम अनुग्रह देखाउनुभएकोले म यसो गर्दैछु। १६  अनि ख्रीष्ट येशूको जनसेवक भएर अन्यजातिका मानिसहरूलाई परमेश्‍वरको सुसमाचार घोषणा गर्ने पवित्र काममा म लाग्न सकूँ भनेर पनि यो असीम अनुग्रह मलाई देखाइयो। अन्यजातिका मानिसहरूलाई पवित्र शक्‍तिद्वारा पवित्र पारिएको ग्रहणयोग्य भेटीको रूपमा परमेश्‍वरलाई चढाउन सकूँ भनेर म यो काममा लागेको हुँ। १७  त्यसैले ख्रीष्ट येशूको चेला भएको नाताले परमेश्‍वरप्रतिको मेरो सेवामा गर्व गर्ने कारण मसित छ। १८  अन्यजातिका मानिसहरूलाई आज्ञाकारी बनाउन ख्रीष्टले मद्वारा जे-जति गर्नुभयो, त्यसबाहेक अरू कुनै कुरा भन्‍ने आँट म गर्दिनँ। उहाँले यो काम मेरो वचन र कामद्वारा १९  अनि चमत्कार अनि आश्‍चर्यजनक कार्यहरूका तागतका साथै पवित्र शक्‍तिको तागतद्वारा सम्पन्‍न गर्नुभयो। मैले यरूशलेमदेखि लिएर इल्लिरिकुमसम्म चारैतिर ख्रीष्टको सुसमाचार पूर्णतया प्रचार गरेको छु। २०  वास्तवमा, यसरी ख्रीष्टको नाम पहिल्यै प्रचार भइसकेको ठाउँमा सुसमाचार घोषणा नगर्ने लक्ष्य मैले राखें, ताकि अर्को मानिसले बसालेको जगमाथि मैले निर्माण गरिरहेको नहोस्‌। २१  तर जस्तो लेखिएको छ: “जसलाई उहाँबारे बताइएको छैन, तिनीहरूले उहाँलाई देख्नेछन्‌ र जसले उहाँबारे सुनेका छैनन्‌, तिनीहरूले बुझ्नेछन्‌।” २२  त्यसैले पटक-पटकको यो उल्झनले गर्दा म तिमीहरूकहाँ आउन पाइनँ। २३  तर अब यी इलाकाहरूमा प्रचार गर्न बाँकी कुनै ठाउँ मसित छैन र केही वर्षदेखि तिमीहरूकहाँ आउने तिर्सना पनि मलाई लागिरहेको छ। २४  त्यसकारण, स्पेन जाँदा बाटोमा तिमीहरूकहाँ पसेर भेटघाट गर्ने ठूलो आशा राखेको छु अनि तिमीहरूसित केही बेर सङ्‌गत गरेपछि तिमीहरूले मलाई अलि परसम्म पुऱ्‍याइदेओ भन्‍ने म चाहन्छु। २५  तर अहिले भने म पवित्र जनहरूको सेवा गर्न यरूशलेमतिर जाने तरखर गर्दैछु। २६  किनकि यरूशलेमका पवित्र जनहरूमध्ये जो-जो गरिब छन्‌, तिनीहरूका लागि भनेर म्यासिडोनिया र अखैयाकाहरूले खुसीसाथ दान दिएका छन्‌। २७  हो, तिनीहरूले खुसीसाथ त्यसो गरे। हुन पनि, तिनीहरू उनीहरूप्रति ऋणी थिए, किनकि अन्यजातिका मानिसहरूले परमेश्‍वरबाट जे पाए, त्यो पवित्र जनहरूको हिस्साबाटै पाएका हुन्‌। त्यसैले उनीहरूको भौतिक आवश्‍यकता पूरा गरेर उनीहरूको सेवा गर्नु तिनीहरूको पनि कर्तव्य हो। २८  यसर्थ, यो काम सकेर यो नासो उनीहरूलाई थमाइसकेपछि म तिमीहरूकहाँ पसेर स्पेन जानेछु। २९  साथै, मलाई थाह छ, म तिमीहरूकहाँ आउँदा ख्रीष्टको तर्फबाट प्रशस्त आशिष्‌ लिएर आउनेछु। ३०  अब ए भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनि पवित्र शक्‍तिले तिमीहरूमा जगाएको प्रेमद्वारा म तिमीहरूलाई उत्कट आग्रह गर्छु कि मेरो निम्ति परमेश्‍वरसित प्रार्थना गर्न मसँगसँगै प्रयत्न गर, ३१  ताकि येशूमा विश्‍वास नगर्ने यहूदियावासीहरूको हातबाट म बच्न सकूँ र यरूशलेमका पवित्र जनहरूका लागि मैले गर्ने सेवा उनीहरूलाई स्वीकार्य होस्‌। ३२  यसरी परमेश्‍वरको इच्छाबमोजिम खुसीसाथ तिमीहरूकहाँ आउँदा तिमीहरूसँगै मैले पनि स्फूर्ति पाउन सकूँ। ३३  शान्ति दिनुहुने परमेश्‍वर तिमीहरू सबैसित रहून्‌। आमिन।

फुटनोटहरू