अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

रोमी १:१-३२

 येशू ख्रीष्टको दास, म पावल तिमीहरूलाई यो पत्र लेख्दैछु। म प्रेषित* बन्न बोलाइएको अनि परमेश्वरको सुसमाचार सुनाउनका लागि अलग पारिएको मानिस हुँ। २  यही सुसमाचार परमेश्वरले आफ्ना भविष्यवक्ताहरूमार्फत पवित्र धर्मशास्त्रमा पहिल्यै प्रतिज्ञा गर्नुभएको थियो। ३  यो सुसमाचार उहाँको छोराको विषयमा हो, जो दाऊदको वंशबाट मानिसको रूपमा जन्मिनुभयो ४  अनि मृत्युबाट पुनर्जीवित* भएर पवित्र शक्तिद्वारा परमेश्वरको छोरा ठहराइनुभयो। हो, यही छोरा हाम्रा प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। ५  सबै जातिले उहाँमाथि विश्वास गरेर आज्ञाकारी बनून्‌ र यसरी उहाँको नामको महिमा गरून्‌ भनेर उहाँद्वारा नै हामीले असीम अनुग्रह पाउनुका साथै प्रेषितको जिम्मेवारी पनि पायौं। ६  तिमीहरू पनि ती जातिहरूमध्येकै हौ र परमेश्वरले तिमीहरूलाई पनि येशू ख्रीष्टका हुन बोलाउनुभएको छ। ७  रोममा बस्ने तिमीहरू सबैलाई म लेख्दैछु, जो परमेश्वरका प्रिय छन्‌ र जसलाई पवित्र जन बन्न बोलाइएको छ: परमेश्वर, हाम्रा बुबाबाट र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई असीम अनुग्रह र शान्ति मिलोस्। ८  सर्वप्रथम, तिमीहरू सबैको विषयमा येशू ख्रीष्टमार्फत म आफ्नो परमेश्वरलाई धन्यवाद दिन्छु, किनकि तिमीहरूको विश्वासको विषयमा सारा संसारभरि चर्चा भइरहेको छ। ९  म आफ्नो प्रार्थनामा कति अटुट रूपमा तिमीहरूलाई सधैं समावेश गर्छु भन्ने कुराको साक्षी परमेश्वर हुनुहुन्छ, जसको छोराको विषयमा सुसमाचार सुनाएर म उहाँलाई तनमनले पवित्र सेवा चढाउँछु। १०  अनि परमेश्वरको इच्छा भए म जसरी भए पनि तिमीहरूकहाँ आउन सकूँ भनेर उहाँलाई बिन्ती गर्छु। ११  परमेश्वरको तर्फबाट केही वरदान दिन सकूँ भनेर तिमीहरूलाई भेट्ने तीव्र इच्छा म गर्दैछु, ताकि तिमीहरूलाई स्थिर बनाउन सकूँ, १२  वा भनौं, मैले र तिमीहरूले, हामी दुवैले आ-आफ्नो विश्वासद्वारा एकअर्कालाई प्रोत्साहन दिन सकौं। १३  ए भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस् भन्ने म चाहन्छु, कि बाँकी अरू गैर-यहूदीहरूको बीचमा बटुलेजस्तै तिमीहरूको बीचमा पनि केही फल बटुल्न सकूँ भनेर धेरै पल्ट म तिमीहरूकहाँ आउन चाहेको थिएँ तर अहिलेसम्म मलाई रोकिराखेको छ। १४  ग्रीकभाषीहरू र अरू भाषा बोल्नेहरू दुवैप्रति अनि बुद्धिमान्‌हरू र निर्बुद्धिहरू दुवैप्रति म ऋणी छु: १५  त्यसैले त्यहाँ रोममा भएका तिमीहरूलाई पनि सुसमाचार सुनाउन म उत्सुक छु। १६  सुसमाचार सुनाउन म सर्माउदिनँ, किनकि वास्तवमा यो विश्वास गर्नेहरू जति सबैलाई, पहिला यहूदीहरूलाई अनि त्यसपछि ग्रीकहरूलाई* पनि उद्धार गर्ने परमेश्वरको शक्तिशाली माध्यम हो। १७  यसै सुसमाचारद्वारा परमेश्वरले आफ्नो भलाइ प्रकट गर्नुहुन्छ। अनि जोसित विश्वास छ, उसले यो देख्छ र उसको विश्वासलाई अझ बलियो बनाउँछ, किनकि यस्तो लेखिएको छ: “तर परमेश्वरको स्तरबमोजिम असल काम गर्ने मानिस विश्वासद्वारा नै जिउनेछ।” १८  सत्यलाई गलत तरिकामा दबाइरहेका मानिसहरूको सबै भक्तिहीनता र खराबीविरुद्ध स्वर्गबाट परमेश्वरको क्रोध प्रकट भइरहेको छ। १९  परमेश्वरबारे जे-जति जान्न सकिन्छ, त्यो तिनीहरूसामु छर्लङ्गै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो प्रकट गर्नुभएको छ। २०  उहाँका अदृश्य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्गै देखिंदै आएका छन्‌। यी गुणहरूलगायत उहाँको अनन्त शक्ति र ईश्वरत्वसमेत उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिने भएकोले तिनीहरूले कुनै बहाना बनाउन सक्दैनन्‌। २१  तिनीहरूले परमेश्वरलाई चिनेको भए तापनि उहाँलाई परमेश्वरको रूपमा महिमा दिएनन्‌, न त उहाँलाई धन्यवाद नै दिए। तर तिनीहरूले व्यर्थको तर्क गरे र तिनीहरूको अबुझ मन झन्‌ अँध्यारो भयो। २२  आफू बुद्धिमान्‌ छौं भनेर दाबी गरे तापनि तिनीहरू मूर्ख भए २३  अनि अविनाशी परमेश्वरलाई दिनुपर्ने महिमा नाशवान्‌ मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जन्तुहरूको प्रतिमालाई दिए। २४  त्यसैले तिनीहरूले आफ्नै शरीरको अनादर गरून्‌ भनेर परमेश्वरले तिनीहरूलाई तिनीहरूको मनको इच्छाअनुसारै अशुद्धतामा छोडिदिनुभयो। २५  परमेश्वरको सत्यलाई विश्वास गर्नुको सट्टा तिनीहरूले झूटलाई विश्वास गरे अनि सृष्टिकर्तालाई उपासना र पवित्र सेवा चढाउनुको सट्टा सृष्टिको उपासना गरे र पवित्र सेवा चढाए। तर सृष्टिकर्ता मात्र सदासर्वदा प्रशंसा पाउन योग्यको हुनुहुन्छ। आमिन। २६  परमेश्वरले तिनीहरूलाई पतित कामवासनामै डुबिरहून्‌ भनी छोडिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले प्राकृतिक यौनसम्बन्ध राख्न छोडेर अप्राकृतिक सम्बन्ध राखे, २७  अनि त्यसैगरि पुरुषहरूले पनि स्त्रीहरूसित प्राकृतिक सम्बन्ध राख्न छोडेर एकअर्कासित अर्थात्‌ पुरुषहरू पुरुषहरूसितै कामेच्छाले जलेर निर्लज्ज काम गरे र तिनीहरूले आफ्नो कर्तुतको पूरापूर उचित दण्ड पाए। २८  परमेश्वरको सही ज्ञान लिन आवश्यक नठानेकोले तिनीहरूले अनुचित काम नै गरिरहून्‌ भनेर परमेश्वरले तिनीहरूलाई त्यस्तो भ्रष्ट मनस्थितिमै छोडिदिनुभयो। २९  किनकि तिनीहरू हरप्रकारका कुकर्म, दुष्टता, लालच, खराबी, ईर्ष्या, हत्या, कलह, छल र द्वेषले भरिएका छन्‌ अनि तिनीहरू चुक्ली लगाउने, ३०  बदख्वाइँ गर्ने, परमेश्वरलाई घृणा गर्ने, बेसोमती, अहङ्कारी, धक्कु लगाउने, दुष्ट कुरा रचिहिंड्ने, आमाबाबुको आज्ञा नमान्ने, ३१  बेसमझका, विश्वासघाती, स्वाभाविक स्नेह नभएका र निर्दयी भएका छन्‌। ३२  यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन्‌ भन्ने परमेश्वरको न्यायोचित उर्दी तिनीहरूलाई राम्ररी थाह छ तैपनि तिनीहरू यस्ता कामहरू गरिरहन्छन्‌ र गर्नेहरूलाई पनि मन्जुरी दिन्छन्‌।

फुटनोटहरू

रोमी १:१ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
रोमी १:४ * वा, “पुनरुत्थान।”
रोमी १:१६ * स्पष्ट छ, यसले ग्रीक भाषा बोल्ने गैर-यहूदीहरूलाई बुझाउँछ।