सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

यूहन्ना ५:१-४७

 यी कुराहरूपछि यहूदीहरूको एउटा चाड आयो अनि येशू यरूशलेम उक्लनुभयो।  यरूशलेममा भेडा-ढोकानजिकै एउटा कुण्ड छ, जसलाई हिब्रू भाषामा बेथस्दा भनिन्छ र त्यसको चारैतिर खम्बै-खम्बा भएको दलान छ।  त्यहाँ बिरामी, अन्धा, लङ्‌गडा र हातखुट्टा सुकेका थुप्रै मानिस पस्रिरहेका थिए।  *  त्यहाँ एक जना मानिस थियो, जो बिरामी भएको अठतीस वर्ष भइसकेको थियो।  यस मानिसलाई पस्रिरहेको देखेपछि अनि ऊ यत्तिका लामो समयदेखि बिरामी रहेछ भनी थाह पाएपछि येशूले उसलाई भन्नुभयो: “के तिमी निको हुन चाहन्छौ?”  त्यस बिरामी मानिसले उहाँलाई जवाफ दियो: “हजुर, कुण्डको पानी छचल्किएको बेला मलाई त्यहाँ हालिदिने मानिस कोही पनि छैन; त्यसैले म त्यहाँ जाँदा-जाँदै मभन्दा अघि नै अर्को मानिस पसिहाल्छ।”  येशूले उसलाई भन्नुभयो: “उठ, तिम्रो खाट बोकेर जाऊ।”  उत्तिखेरै त्यो मानिस निको भयो र आफ्नो खाट बोकेर हिंड्‌न थाल्यो। अनि त्यो दिनमा विश्राम-दिन* परेको थियो। १०  त्यसकारण, निको भएको त्यस मानिसलाई यहूदीहरूले यसो भन्न थाले: “आज विश्राम-दिन हो; त्यसैले तिमीले खाट बोक्नु उचित छैन।” ११  तर उसले तिनीहरूलाई भन्यो: “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ‘तिम्रो खाट बोकेर जाऊ’ भन्नुभयो।” १२  तिनीहरूले उसलाई सोधे: “तिमीलाई ‘खाट बोकेर जाऊ’ भन्ने मानिस को हो?” १३  तर निको भएको त्यस मानिसलाई उहाँ को हुनुहुन्छ भनेर थाह थिएन, किनकि भीड जम्मा भएकोले येशू त्यहाँबाट अन्तै गइसक्नुभएको थियो। १४  यी कुराहरूपछि येशूले उसलाई मन्दिरमा भेट्‌नुभयो र भन्नुभयो: “हेर, तिमी निको भएका छौ। अब उप्रान्त पाप नगर, ताकि तिमीलाई यो भन्दा नराम्रो केही नहोस्।” १५  त्यो मानिस गयो अनि आफूलाई निको पारिदिने त येशू पो हुनुहुँदो रहेछ भनेर यहूदीहरूलाई बतायो। १६  यसकारण यहूदीहरूले येशूको खेदो गर्न थाले, किनभने उहाँले यी कामहरू विश्राम-दिनमा गरिरहनुभएको थियो। १७  तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “मेरो बुबा अहिलेसम्म काम गर्दै हुनुहुन्छ र म पनि गर्दैछु।” १८  यसकारण यहूदीहरूले उहाँलाई मार्न झन्‌ प्रयत्न गर्न थाले, किनभने तिनीहरूको विचारमा उहाँले विश्राम-दिनको नियम तोड्‌नुभएको मात्र होइन तर परमेश्वरलाई आफ्नो बुबा भनेर आफैलाई परमेश्वरको बराबर पनि बनाइरहनुभएको थियो। १९  त्यसैले येशूले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई म साँच्चै भन्छु, छोरा आफै अग्रसर भएर केही पनि गर्न सक्दैन तर बुबाले जे गर्नुभएको देख्छ, त्यही मात्र गर्छ। किनकि बुबाले जे-जे गर्नुहुन्छ, छोराले पनि ती कुराहरू त्यसरी नै गर्छ। २०  किनकि बुबाले छोरालाई माया गर्नुहुन्छ र आफूले गर्ने सबै कुरा उसलाई देखाउनुहुन्छ अनि तिमीहरू छक्क परोस् भनेर उहाँले उसलाई यीभन्दा ठूलठूला कामहरू देखाउनुहुनेछ। २१  किनकि जसरी बुबाले मरेकाहरूलाई ब्यूँताएर जीवित पार्नुहुन्छ, त्यसरी नै छोराले पनि जसलाई इच्छा लाग्छ उसलाई जीवित पार्छ। २२  किनकि बुबाले कसैको पनि न्याय गर्नुहुन्न तर न्याय गर्ने सम्पूर्ण जिम्मा उहाँले छोरालाई सुम्पनुभएको छ, २३  ताकि सबैले बुबाको जस्तै छोराको पनि आदर गरून्‌। छोराको आदर नगर्नेले उसलाई पठाउनुहुने बुबाको पनि आदर गर्दैन। २४  तिमीहरूलाई म साँच्चै भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ अनि उसको न्याय गरिंदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ। २५  “तिमीहरूलाई म साँच्चै भन्छु, बेला आउँछ र त्यो अहिल्यै हो, जब मरेकाहरूले परमेश्वरको छोराको सोर सुन्नेछन्‌ अनि ज-जसले उसको कुरा मान्छन्‌, तिनीहरू जिउनेछन्‌। २६  किनकि बुबासित अरूलाई जीवन दिने शक्ति भएजस्तै छोरालाई पनि उहाँले अरूलाई जीवन दिने शक्ति दिनुभएको छ। २७  अनि उहाँले उसलाई न्याय गर्ने अख्तियार सुम्पनुभएको छ, किनभने ऊ मानिसको छोरा हो। २८  यसमा अचम्म नमान, किनभने बेला आउँदैछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्‌ २९  र बाहिर निस्किआउनेछन्‌। ज-जसले असल काम गरे, तिनीहरू जीवन पाउनको लागि पुनर्जीवित* हुनेछन्‌ भने ज-जसले खराब काम गरे, तिनीहरू न्याय गरिनको लागि पुनर्जीवित हुनेछन्‌। ३०  म आफै अग्रसर भएर केही पनि गर्न सक्दिनँ; म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु; अनि मैले गर्ने न्याय सही छ, किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु। ३१  “यदि म एक्लैले आफ्नो विषयमा साक्षी दिन्छु भने मेरो साक्षी सत्य होइन। ३२  मेरो विषयमा साक्षी दिने अर्को एक जना हुनुहुन्छ अनि उहाँले मेरो विषयमा दिने साक्षी सत्य हो भनेर मलाई थाह छ। ३३  तिमीहरूले यूहन्नाकहाँ मानिसहरू पठाएका छौ अनि तिनले सत्यको साक्षी दिएका छन्‌। ३४  तथापि, म मानिसहरूको साक्षी स्वीकार्दिनँ तर म यसैकारण यी कुराहरू भन्दैछु, ताकि तिमीहरूको उद्धार होस्। ३५  ती मानिस बलिरहेको र चम्किरहेको बत्ती थिए अनि अलिक समय तिनको ज्योतिमा असाध्यै रमाउन तिमीहरू इच्छुक थियौ। ३६  तर मसित यूहन्नाको भन्दा ठूलो साक्षी छ, किनकि बुबाले मलाई जुन कामहरू पूरा गर्न खटाउनुभयो, ती कामहरूले नै बुबाले मलाई पठाउनुभएको हो भनेर साक्षी दिन्छन्‌ र तिनै कामहरू म अहिले गर्दैछु। ३७  साथै, मलाई पठाउनुहुने बुबा आफैले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले न कहिल्यै उहाँको सोर सुनेका छौ न त उहाँको रूप नै देखेका छौ; ३८  अनि उहाँको वचन तिमीहरूको मनमा छैन, किनभने जसलाई उहाँले पठाउनुभयो, उसलाई तिमीहरू विश्वास गर्दैनौ। ३९  “तिमीहरू धर्मशास्त्रमा खोजतलास गरिरहन्छौ, किनभने त्यसद्वारा अनन्त जीवन पाउनेछौं भनी तिमीहरू सोच्छौ; अनि यही धर्मशास्त्रले मेरो विषयमा साक्षी दिन्छ। ४०  तैपनि, जीवन पाउन सकौं भनेर तिमीहरू मकहाँ आउन चाहँदैनौ। ४१  मानिसहरूले दिने महिमा म स्वीकार्दिनँ, ४२  तर तिमीहरूमा परमेश्वरप्रतिको प्रेम छैन भनी मलाई राम्ररी थाह छ। ४३  म आफ्नो बुबाको नाममा आएको छु, तर तिमीहरू मलाई स्वीकार्दैनौ; यदि अरू कोही आफ्नै नाममा आयो भने तिमीहरू उसलाई स्वीकार्छौ। ४४  यदि तिमीहरू एक-अर्काबाट महिमा खोज्छौ अनि एक मात्र परमेश्वरले दिनुहुने महिमाचाहिं खोज्दैनौ भने तिमीहरू कसरी मलाई विश्वास गर्न सक्छौ? ४५  तिमीहरूलाई म बुबासामु दोष लगाउनेछु भनी नसोच; तिमीहरूलाई दोष लगाउने त मोशा हुन्‌, जसमाथि तिमीहरूले आफ्नो आशा राखेका छौ। ४६  वास्तवमा, तिमीहरूले मोशालाई विश्वास गरेका भए मलाई पनि विश्वास गर्नेथियौ, किनकि तिनले मेरै विषयमा लेखेका थिए। ४७  तर तिमीहरू तिनका लेखोटहरूलाई नै विश्वास गर्दैनौ भने मैले भनेका कुराहरू कसरी विश्वास गर्नेछौ?”

फुटनोटहरू

विभिन्न प्रमुख पुराना ग्रीक पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “किनभने प्रभुका स्वर्गदूत बेला-बेलामा कुण्डमा ओर्लन्थे र पानी छचल्काइदिन्थे। पानी छचल्किएपछि सबैभन्दा पहिला जो पानीभित्र पस्थ्यो, ऊ जस्तोसुकै रोगले ग्रस्त भए पनि निको हुन्थ्यो।”
मत्ती १२:१ को फुटनोट हेर्नुहोस्।
वा, “पुनरुत्थान।”