सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

यूहन्ना २०:१-३१

२०  हप्ताको पहिलो दिन, झिसमिसेमै चिहानमा जाँदा मरियम मग्दलिनीले चिहानको मुखमा राखिएको ढुङ्‌गा हटाइसकेको पाइन्‌।  त्यसैले उनी दौडँदै सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ आइन्‌ र तिनीहरूलाई भनिन्‌: “तिनीहरूले प्रभुलाई चिहानबाट निकालेर लगेछन्‌! अनि उहाँलाई कहाँ राखेका छन्‌, हामीलाई थाह छैन।”  तब पत्रुस र ती अर्का चेला बाहिर निस्केर चिहानतिर लागे।  हो, तिनीहरू दुवै जना सँगै दौडन थाले तर अर्को चेला पत्रुसभन्दा छिटो अगि-अगि दौडे अनि चिहानमा तिनीभन्दा पहिला पुगे।  अनि निहुरिएर हेर्दा, तिनले भुइँमा पट्टीहरू देखे तर तिनी भित्र भने पसेनन्‌।  तब तिनको पछि-पछि सिमोन पत्रुस पनि आइपुगे र चिहानभित्र पसे। तिनले पट्टीहरूका साथै  उहाँको शिरमा बाँधिएको कपडा पनि देखे। त्यो कपडा भने पट्टीहरूसित थिएन तर बेरेर छुट्टै राखिएको थियो।  त्यसपछि, चिहानमा पहिला पुग्ने चेला पनि चिहानभित्र पसे र त्यो देखेपछि तिनले पत्याए।  किनकि उहाँ मृत्युबाट ब्यूँताइनै पर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा तिनीहरूले त्यतिबेलासम्म बुझेका थिएनन्‌। १०  तब ती चेलाहरू आ-आफ्नो घर फर्के। ११  तर मरियम भने चिहाननजिकै रूँदै उभिरहिन्‌। तब उनी रूँदै चिहानभित्र हेर्न निहुरिन्‌। १२  उनले सेतो लुगा लगाएका दुई जना स्वर्गदूतलाई देखिन्‌। पहिला येशूको शव जहाँ राखिएको थियो, त्यही ठाउँमा तिनीहरूमध्ये एक जना शिरनेर अनि अर्कोचाहिं पाउनेर बसिरहेका थिए। १३  अनि तिनीहरूले उनलाई सोधे: “ए नारी, तिमी किन रूँदैछ्यौ?” उनले तिनीहरूलाई भनिन्‌: “तिनीहरूले मेरा प्रभुलाई लगेछन्‌ अनि तिनीहरूले उहाँलाई कहाँ राखेका छन्‌, मलाई थाह छैन।” १४  यति भनिसकेपछि उनले पछाडि फर्केर हेरिन्‌ र येशूलाई उभिरहेको देखिन्‌ तर उहाँ येशू नै हुनुहुन्छ भनेर चिनिनन्‌। १५  येशूले उनलाई भन्नुभयो: “ए नारी, तिमी किन रूँदैछ्यौ? तिमी कसलाई खोज्दैछ्यौ?” उहाँलाई बगैंचे भन्ठानेर उनले भनिन्‌: “हजुर, यदि तपाईंले उहाँलाई लैजानुभएको हो भने लगेर कहाँ राख्नुभएको छ मलाई भन्नुहोस् र म उहाँलाई लैजानेछु।” १६  येशूले उनलाई “मरियम!” भनेर बोलाउनुभयो। फनक्क फर्केर उनले उहाँलाई हिब्रू भाषामा “रब्बोनी!” (जसको अर्थ हुन्छ, गुरुज्यू) भनिन्‌। १७  येशूले उनलाई भन्नुभयो: “मसित टाँसिन छोड, किनकि म बुबाकहाँ गइसकेको छैन। तर तिमी मेरा भाइहरूकहाँ जाऊ र तिनीहरूलाई भनिदेऊ: ‘मेरो बुबा र तिमीहरूको बुबा अनि मेरो परमेश्वर र तिमीहरूको परमेश्वरकहाँ म जाँदैछु।’ ” १८  मरियम मग्दलिनी उहाँका चेलाहरूकहाँ गइन्‌ र यस्तो खबर सुनाइन्‌: “मैले प्रभुलाई देखें!” अनि उहाँले आफूलाई भन्नुभएका कुराहरू पनि उनले बताइन्‌। १९  त्यसकारण, त्यो दिन अर्थात्‌ हप्ताको पहिलो दिन, साँझको बेला चेलाहरू यहूदीहरूको डरले गर्दा ढोका थुनेर बसिरहेका थिए। तर येशू आएर तिनीहरूको माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।” २०  यति भनेर उहाँले तिनीहरूलाई आफ्नो हात र कोखा देखाउनुभयो। तब प्रभुलाई देखेर चेलाहरू खुसी भए। २१  येशूले तिनीहरूलाई फेरि भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्। जसरी बुबाले मलाई पठाउनुभयो, त्यसरी नै म पनि तिमीहरूलाई पठाउँदैछु।” २२  यति भनेपछि उहाँले तिनीहरूतिर फू गरेर भन्नुभयो: “पवित्र शक्ति पाओ। २३  यदि तिमीहरूले कसैका पापहरू क्षमा गऱ्यौ भने ती क्षमा हुनेछन्‌; यदि तिमीहरूले कसैका पापहरू क्षमा गरेनौ भने ती रहिरहनेछन्‌।” २४  तर येशू आउनुहुँदा बाह्र जनामध्ये एक, दिदुमस भनिने थोमा तिनीहरूसित थिएनन्‌। २५  त्यसकारण अरू चेलाहरूले उनलाई भने: “हामीले प्रभुलाई देख्यौं!” तर उनले तिनीहरूलाई भने: “उहाँको हातमा कीलाको डोब नदेखेसम्म र त्यो डोबमा मेरो औंला नघुसारेसम्म अनि उहाँको कोखामा मेरो हात नहालेसम्म म पत्याउँदै पत्याउँदिनँ।” २६  अनि आठ दिनपछिको कुरा हो, उहाँका चेलाहरू फेरि ढोका थुनेर भित्र बसिरहेका थिए अनि थोमा पनि तिनीहरूसितै थिए। ढोका बन्द भए तापनि येशू आएर तिनीहरूमाझ उभिनुभयो र भन्नुभयो: “तिमीहरूलाई शान्ति होस्।” २७  त्यसपछि उहाँले थोमालाई भन्नुभयो: “तिम्रो औंला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्‌का गर्न छोड बरु विश्वास गर।” २८  थोमाले उहाँलाई भने: “हे मेरा प्रभु, मेरा परमेश्वर!” २९  येशूले तिनलाई भन्नुभयो: “के तिमीले मलाई देखेको हुनाले विश्वास गऱ्यौ? धन्य हुन्‌ ती, जसले नदेखीकनै विश्वास गर्छन्‌।” ३०  साँच्चै भन्ने हो भने, येशूले आफ्ना चेलाहरूसामु अरू पनि धेरै चमत्कार गर्नुभयो, जो यस मुठामा लेखिएका छैनन्‌। ३१  तर जे-जति लेखिए, ती यसैकारण लेखिए, ताकि येशू परमेश्वरको छोरा अनि ख्रीष्ट हुनुहुन्छ भनेर तिमीहरूले विश्वास गर्न सक र विश्वास गरेकोले उहाँको नामद्वारा तिमीहरूले जीवन पाउन सक।

फुटनोटहरू