अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

याकूब १:१-२७

 म याकूब, परमेश्वरको र प्रभु येशू ख्रीष्टको दास, विभिन्न ठाउँमा तितरबितर भएका बाह्रै कुललाई लेख्दैछु: अभिवादन! २  हे मेरा भाइहरू हो, विभिन्न किसिमको परीक्षामा पर्दा तिमीहरू यसलाई खुसीको कुरा सम्झ, ३  किनकि तिमीहरूलाई थाहै छ, कि यसरी जाँचिएर प्रमाणित भएको तिमीहरूको विश्वासले सहनशीलता उत्पन्न गराउँछ। ४  तर सहनशीलतालाई त्यसको पूरा काम गर्न देओ; यसप्रकार तिमीहरू हर क्षेत्रमा पूर्ण र दोषरहित हुनेछौ अनि तिमीहरूमा कुनै कुराको अभाव हुनेछैन। ५  त्यसैले, यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्वरसित मागिरहोस् र उसलाई त्यो दिइनेछ, किनकि उहाँले नझर्कीकन सबैलाई उदारचित्तले दिनुहुन्छ। ६  तर उसले रत्तीभर शङ्का नगरी विश्वाससहित मागिरहोस्, किनकि जसले शङ्का गर्छ, ऊ बतासले उचाल्दै पछार्दै गरेको समुद्रको छालजस्तो हो। ७  भनौं भने, त्यस्तो मानिसले यहोवाबाट केही पाउँछु भनी नठाने पनि हुन्छ। ८  त्यो मानिस दोमनको र आफ्नो सबै कामकुरामा अस्थिर हुन्छ। ९  तर जो भाइ गरिब छ, ऊ आफूलाई उच्च पारिएकोमा रमाओस्, १०  अनि जो धनी छ, आफू होच्याइएकोमा रमाओस्, किनकि धनी मानिस मैदानको फूलझैं सुकिहाल्नेछ। ११  घाम उदाएपछि त्यसको चर्को रापले बोटबिरुवा ओइलाउँछ र त्यसको फूल झर्छ अनि त्यसको सौन्दर्य उडेर जान्छ। त्यसरी नै धनी मानिस पनि जीवनमा भागदौड गर्दागर्दै बितेर जानेछ। १२  आनन्दित हो त्यो मानिस, जसले परीक्षा सहिरहन्छ, किनकि परमेश्वरबाट अनुमोदन पाएपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुट यहोवाले आफूलाई प्रेम गरिरहनेहरूका लागि प्रतिज्ञा गर्नुभएको छ। १३  परीक्षामा पर्दा कसैले पनि यसो नभनोस्: “परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको छ।” किनकि कुनै खराब मनसायले परमेश्वरको परीक्षा लिन सकिंदैन न त उहाँ आफैले कुनै खराब मनसायले कसैको परीक्षा लिनुहुन्छ। १४  तर हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। १५  जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ; अनि पाप गरेपछि मृत्यु उत्पन्न हुन्छ। १६  हे मेरा प्रिय भाइहरू हो, नबहकिओ। १७  हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ अनि सरिरहने छायाजस्तो उहाँ परिवर्तन भइरहनुहुन्न। १८  हामी उहाँका सृष्टिहरूको अगौटे फल होस् भनेर उहाँले आफ्नो इच्छाअनुसारै हामीलाई सत्यको वचनद्वारा जन्माउनुभयो। १९  हे मेरा प्रिय भाइहरू हो, तिमीहरूलाई यो कुरा थाह होस्। हरेक मानिसले चनाखो भई सुन्नुपर्छ, बोल्न हतार गर्नुहुँदैन अनि झट्टै रिसाइहाल्नुहुँदैन, २०  किनकि रिस गर्ने मानिस परमेश्वरको स्तरबमोजिम चलिरहेको हुँदैन। २१  त्यसकारण, सबै अशुद्धता र त्यो अनावश्यक कुरा अर्थात्‌ खराबीलाई हटाओ अनि तिमीहरूको ज्यान* बचाउन सक्ने वचन परमेश्वरले तिमीहरूमा रोप्नुहुँदा त्यसलाई नम्रतासाथ स्वीकार। २२  तर वचन पालन गर्ने होओ, सुन्ने मात्र होइन, जसले झूटा तर्कहरूद्वारा आफैलाई धोका दिन्छन्‌। २३  यदि कसैले वचन सुन्छ तर पालन गर्दैन भने ऊ आफ्नो अनुहार ऐनामा हेर्ने मानिसजस्तै हुन्छ, २४  किनकि उसले आफ्नो अनुहार हेर्न त हेर्छ तर आफू कस्तो छु भनेर त्यहाँबाट हिंड्नेबित्तिकै बिर्सिहाल्छ। २५  तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, त्यो मानिस आनन्दित हुनेछ, किनकि ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस भएको छ। २६  यदि कुनै मानिसले आफूलाई परमेश्वरको उपासक सम्झन्छ तर आफ्नो जिब्रोमा लगाम लगाउँदैन र आफूलाई* धोका दिन्छ भने त्यस मानिसको उपासना व्यर्थ हो। २७  हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।

फुटनोटहरू

या १:२१ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
या १:२६ * शाब्दिक, “आफ्नो मनलाई।”