अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

यहूदा १:१-२५

१  म यहूदा, येशू ख्रीष्टको दास अनि याकूबको भाइ, ती जनहरूलाई लेख्दैछु, जसलाई परमेश्वर, हाम्रा बुबाले बोलाउनुका साथै प्रेम गर्नुभयो र येशू ख्रीष्टसित गाँसिएको सम्बन्धको कारण तिनीहरूलाई जोगाउनुभयो: २  तिमीहरूले पाइरहेको कृपा, शान्ति अनि प्रेम प्रशस्त हुँदै जाओस्। ३  हे प्रियहरू हो, हुन त मैले हामी सबैले पाउने उद्धारको विषयमा तिमीहरूलाई लेख्ने हर प्रयास गरेको थिएँ तर त्यस विश्वासको निम्ति अझ परिश्रम गरेर लड भनी लेख्नु नै मैले आवश्यक ठानें, जुन विश्वास सधैंभरिका लागि पवित्र जनहरूलाई सुम्पिइएको थियो। ४  मैले लेख्नुको कारण के हो भने, केही यस्ता मानिसहरू मण्डलीभित्र सुटुक्क घुसेका छन्‌, जसलाई धर्मशास्त्रले धेरै अघि नै दण्डयोग्य ठहराइसकेको थियो। यी दुष्ट मानिसहरू हुन्‌, जो परमेश्वरको असीम अनुग्रहलाई छाडा आचरणमा* चल्ने बहाना बनाउँछन्‌ अनि हाम्रा मालिक प्रभु येशू ख्रीष्टसित विश्वासघात गर्छन्‌। ५  हुन त तिमीहरूलाई सबै कुरा थाहै छ, तैपनि म के सम्झाउन चाहन्छु भने यहोवाले आफ्ना मानिसहरूलाई मिश्र देशबाट उद्धार गरेर ल्याउनुभए तापनि पछि तिनीहरूमध्ये ज-जसले विश्वास देखाएनन्‌, तिनीहरूलाई नाश गर्नुभयो। ६  त्यसैगरि, आफ्नो ठाउँमा नबसेर आफ्नो उचित बासस्थान त्याग्ने स्वर्गदूतहरूलाई महादिनमा न्याय गर्न उहाँले घोर अन्धकारमा अनन्त बन्धनमा राख्नुभएको छ। ७  सदोम र गमोरा अनि वरपरका सहरहरूले पनि ती स्वर्गदूतहरूले जस्तै अचाक्ली अवैध यौनसम्बन्ध राखे अनि कामातुर भएर अप्राकृतिक इच्छाको पछि लागे। त्यसैले तिनीहरूले अनन्त आगोको दण्ड भोगे अनि हाम्रो निम्ति चेतावनीमूलक उदाहरण बने। ८  यी सबै कुरा थाह हुँदा हुँदै पनि कल्पनाको दुनियाँमा डुब्ने यी मानिसहरू आफ्नो अनि अरूको शरीरलाई अशुद्ध तुल्याउँछन्‌, प्रभुत्वलाई तुच्छ ठान्छन्‌ अनि महिमा पाएका जनहरूको निन्दा गर्छन्‌। ९  मोशाको शरीरबारे दियाबलसित वाद-विवाद हुँदा प्रधान दूत माइकलले अपशब्द बोलेर त्यसलाई दोष लगाउने हिम्मत गर्नुभएन, बरु “यहोवाले नै तिमीलाई हप्काऊन्‌” भन्नुभयो। १०  तर यी मानिसहरू भने आफूलाई राम्ररी थाह नभएका कुराहरूविरुद्ध अपशब्द बोल्दै हिंड्छन्‌। वास्तवमा, तिनीहरू नासमझ पशुहरूजस्तै छन्‌ अनि पशुकै जस्तो बेहोरा देखाउँछन्‌ र त्यस्तो काम गरेर आफूलाई भ्रष्ट पारिरहन्छन्‌। ११  तिनीहरूलाई धिक्कार छ, किनभने तिनीहरू कयिनको बाटोमा हिंडेका छन्‌, इनाम पाउनका लागि बालामजस्तै गलत बाटोमा हिंड्न आतुर गरेका छन्‌ अनि कोरहले जस्तै विद्रोही कुरा गरेर नाश भएका छन्‌! १२  यिनीहरू पानीमुनि लुकेका चट्टानहरू हुन्‌, जो तिमीहरूले आफ्ना भाइहरूको निम्ति लगाएको भोजमा तिमीहरूसँगै खान्छन्‌। तर यिनीहरू डर नमानी आफ्नै पेट मात्र भर्न खोज्ने गोठालाहरू हुन्‌। यिनीहरू बतासले यताउता हुर्ऱ्याइरहेका त्यस्ता बादलहरू हुन्‌, जसबाट पानी बर्सिंदैन। यिनीहरू फल लाग्ने मौसममा पनि फल नफलाउने त्यस्ता रूखहरू हुन्‌, जो सुकेर खङ्ग्रङ्ग परिसेकका छन्‌,* अनि जो जरैसमेत उखेलिसकिएका छन्‌। १३  यिनीहरू समुद्रमा जथाभाबी उर्लने त्यस्ता छालहरू हुन्‌, जो आफ्नै बेइज्जती निम्त्याउँछन्‌। यिनीहरू लक्ष्यहीन ताराहरू हुन्‌, जो निस्पट्ट अन्धकारमा सधैंभरिका लागि फ्याँकिनेछन्‌। १४  हो, आदमपछि सातौं पुस्ताका हनोकले यसो भन्दै तिनीहरूको विषयमा भविष्यवाणी गरेका थिए: “हेर, यहोवा आफ्ना लाखौं-लाख पवित्र स्वर्गदूतहरूसित १५  सबैलाई दण्ड दिन, दुष्टहरूलाई तिनीहरूका सबै दुष्ट कामहरूको दोषी ठहराउन अनि दुष्ट पापीहरूलाई उहाँविरुद्ध बोलेका सबै घिनलाग्दा कुराहरूको सजाय दिन आउनुभयो।” १६  यी मानिसहरू गनगनाउँछन्‌, आफ्नो जीवनसित असन्तोष व्यक्त गर्छन्‌, आफ्नै कुइच्छामा चल्छन्‌, ठूलठूला कुरा गर्छन्‌ अनि आफ्नो मतलब पूरा गर्न चापलुसी गर्छन्‌। १७  तर हे प्रियहरू हो, तिमीहरूचाहिं हाम्रा प्रभु येशू ख्रीष्टका प्रेषितहरूले* पहिले भनेका कुराहरू सम्झ। १८  तिनीहरू तिमीहरूलाई यसो भन्ने गर्थे: “आखिरी समयमा, आफ्ना कुइच्छाहरू पूरा गर्न गिल्ला गर्नेहरू देखा पर्नेछन्‌।” १९  यिनीहरू फूट ल्याउने अनि पाशविक मानिसहरू हुन्‌, जससित परमेश्वरको पवित्र शक्ति हुँदैन। २०  तर हे प्रियहरू हो, तिमीहरूचाहिं आफ्नो अति पवित्र विश्वासलाई बलियो बनाएर अनि पवित्र शक्तिको* डोऱ्याइमुताबिक प्रार्थना गरेर २१  आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख अनि प्रभु येशू ख्रीष्टको कृपाले तिमीहरूका निम्ति अनन्त जीवन पाउने बाटो खुलोस् भनी आशा गर। २२  साथै, जो शङ्कालु भएका छन्‌, तिनीहरूमाथि कृपा देखाउन नछोड; २३  तिनीहरूलाई आगोबाट तानेर बचाओ। त्यसैगरि, अरूहरूमाथि पनि कृपा देखाउन नछोड। तिनीहरूले शरीरका कामहरूद्वारा आफ्नो लुगा दूषित पारेका छन्‌। त्यसैले तिनीहरूको लुगाले आफूलाई दूषित पार्ला भनेर डराउँदै तिनीहरूमाथि कृपा देखाओ। २४  जसले तिमीहरूलाई ठेस खानदेखि बचाउन सक्नुहुन्छ अनि जसले आफ्नो महिमासामु ठूलो आनन्दसहित तिमीहरूलाई निष्खोट राख्न सक्नुहुन्छ, २५  हो, उहाँ एक मात्र परमेश्वरको महिमा होस्, जसले हाम्रा प्रभु येशू ख्रीष्टमार्फत हाम्रो उद्धार गर्नुहुन्छ। बितेका युगहरूमा, अहिले अनि सदासर्वदा महिमा, वैभव, शक्ति र अख्तियार उहाँकै होस्। आमिन।

फुटनोटहरू

यहू १:४ गलाती ५:१९ को फुटनोट हेर्नुहोस्।
यहू १:१२ * शाब्दिक, “दुई चोटि मरिसकेका छन्‌।”
यहू १:१७ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
यहू १:२० * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।