अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मर्कूस ७:१-३७

 तब यरूशलेमबाट फरिसीहरू अनि केही शास्त्रीहरू आएर उहाँकहाँ भेला भए। २  अनि उहाँका केही चेलाहरूले अशुद्ध हातले अर्थात्‌ हात नधोई खाना खाएको तिनीहरूले देखे* . . . ३  किनकि फरिसीहरू अनि सबै यहूदीहरू आफ्ना पुर्खाहरूले बसालेको परम्पराअनुसार कुहिनासम्म हात नधोई खाँदैनन्‌। ४  त्यसैगरि बजारबाट फर्केपछि पानी छर्केर आफूलाई नचोख्याएसम्म तिनीहरू खाँदैनन्‌ अनि कचौरा, सुराही र तामाका भाँडाहरूलाई पानीमा डुबाएर चोख्याउँछन्‌। तिनीहरू यस्तै-यस्तै अरू थुप्रै रीतिथिति मान्छन्‌ . . . ५  त्यसैले यी फरिसीहरू अनि शास्त्रीहरूले उहाँलाई सोधे: “तपाईंका चेलाहरू पुर्खाहरूले बसालेको परम्पराअनुसार नचलेर किन अशुद्ध हातले खाना खान्छन्‌?” ६  उहाँले तिनीहरूलाई भन्नुभयो: “ए कपटीहरू हो, यशैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए: ‘यी मानिसहरू आफ्नो ओठले त मेरो आदर गर्छन्‌, तर तिनीहरूको मन भने मबाट धेरै टाढा छ। ७  तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌, किनकि तिनीहरू मानिसहरूले बनाएका आज्ञाहरूलाई परमेश्वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’ ८  तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्वरको आज्ञालाई लत्याउँछौ।” ९  उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “आफ्नो परम्परा टिकाइराख्न तिमीहरू परमेश्वरको आज्ञालाई चतुऱ्याइँसित पन्छाउँछौ। १०  उदाहरणका लागि, मोशाले भनेका थिए: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू,’ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्।’ ११  तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई “तपाईंहरूले मबाट लाभ पाउन सक्ने जे-जति कुराहरू मसित छन्‌, त्यो कुर्बानी (अर्थात्‌, परमेश्वरलाई अर्पण गरेको भेटी) हो भन्छ” ’ . . . १२  तिमीहरू उसलाई आफ्नो बुबा वा आमाको निम्ति केही पनि गर्न दिंदैनौ। १३  यसरी तिमीहरू आफ्नो परम्पराको खातिर परमेश्वरको वचनलाई बेकामको तुल्याउँछौ। अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।” १४  अनि भीडलाई नजिक बोलाएर उहाँले तिनीहरूलाई यसो भन्न थाल्नुभयो: “तिमीहरू सबै मेरो कुरा सुन अनि त्यसको अर्थ बुझ। १५  यस्तो कुनै कुरा छैन, जसले मानिसभित्र पसेर उसलाई अशुद्ध बनाउन सक्छ। बरु मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।” १६  * — १७  जब उहाँ भीडबाट टाढा कुनै एउटा घरमा पस्नुभयो, तब चेलाहरूले उहाँलाई यस दृष्टान्तको अर्थ सोध्न थाले। १८  त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो: “के तिमीहरू पनि तिनीहरूजस्तै अबुझ छौ? मानिसभित्र पस्ने कुनै पनि कुराले उसलाई अशुद्ध बनाउन सक्दैन भनेर के तिमीहरूलाई थाह छैन? १९  किनकि त्यो उसको मनमा होइन तर पेटमा पुग्छ र शरीरबाट बाहिर निस्कन्छ।” यसप्रकार उहाँले सबै खानेकुरालाई शुद्ध ठहराउनुभयो। २०  उहाँले अझै यसो भन्नुभयो: “जे कुरा मानिसबाट बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ। २१  किनकि भित्रबाट, मानिसको मनबाटै हानिकारक विचार निस्कन्छ, जसका उपज हुन्‌: अवैध यौनसम्बन्ध,* चोरी, हत्या, २२  आफ्नो पति वा पत्नीबाहेक अरूसित राखिने यौनसम्बन्ध, लालच, दुष्ट्याइँ, छल, छाडा आचरण,* ईर्ष्यालु नजर, निन्दा, अहङ्कार, मूर्खता। २३  यी सबै दुष्ट कुराहरू भित्रबाटै निस्कन्छन्‌ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।” २४  त्यहाँबाट उठेर उहाँ टायर र सीदोनको इलाकामा जानुभयो अनि एउटा घरमा पस्नुभयो। आफू त्यहाँ छु भनी कसैले थाह नपाऊन्‌ भन्ने उहाँ चाहनुहुन्थ्यो। तर उहाँ मानिसहरूको नजरबाट लुक्न सक्नुभएन। २५  त्यसै इलाकामा बस्ने एउटी स्त्रीकी छोरीमा दुष्ट स्वर्गदूत बास गरेको थियो। त्यसैले उहाँको विषयमा सुन्नेबित्तिकै त्यो स्त्री उहाँकहाँ आई र उहाँको पाउ परी। २६  ऊ सिरियाको फोनिसियामा बस्ने ग्रीक थिई। उसले आफ्नी छोरीमा बास गरेको दुष्ट स्वर्गदूतलाई धपाइदिन उहाँलाई बिन्ती गरेको गऱ्यै गरी। २७  तर उहाँले उसलाई यस्तो जवाफ दिनुभयो: “पहिला केटाकेटीले पेटभरि खान पाउनुपर्छ। किनकि केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” २८  तर उसले उहाँलाई जवाफ दिई: “हो हजुर, तर टेबुलमुनि बसेका छाउराहरूले पनि त साना केटाकेटीले झारेका टुक्राटाक्री खान पाउँछन्‌ नि।” २९  उहाँले उसलाई भन्नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, दुष्ट स्वर्गदूत तिम्री छोरीबाट निस्केर गइसकेको छ।” ३०  त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी अनि दुष्ट स्वर्गदूतले तिनलाई छोडेर गइसकेको भेट्टाई। ३१  अनि टायरको इलाकाबाट निस्केर उहाँ सीदोन र डेकापोलिसको इलाका हुँदै गालील समुद्र फर्कनुभयो। ३२  यहाँ तिनीहरूले उहाँकहाँ एक जना बहिरा अनि भकभके मानिस ल्याए र त्यस मानिसमाथि आफ्नो हात राखिदिन उहाँलाई अनुरोध गरे। ३३  उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो र उसको कानमा आफ्नो औंला हाल्नुभयो अनि थुकेर उसको जिब्रो छुनुभयो। ३४  त्यसपछि आकाशतिर हेरेर लामो सास तान्नुभयो र उसलाई भन्नुभयो: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” ३५  तब ऊ फेरि सुन्न सक्ने भयो अनि उसको बोली पनि फुट्यो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६  अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो तर उहाँ जति मनाही गर्नुहुन्थ्यो तिनीहरू झन्‌ त्यति नै उहाँको कुरा फैलाउँदै हिंड्थे। ३७  हुन पनि, उहाँका कामहरू देखेर तिनीहरू असाध्यै छक्क परेका थिए र भन्थे: “उहाँले गर्नुभएका सबै कुरा असल छन्‌। यहाँसम्म कि, उहाँले बहिरालाई सुन्न सक्ने र गुँगालाई बोल्न सक्ने बनाउनुहुन्छ।”

फुटनोटहरू

मर्कू ७:२ मत्ती १५:२ को फुटनोट हेर्नुहोस्।
मर्कू ७:१६ * विभिन्न प्रमुख पुराना ग्रीक पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “यदि कसैको सुन्ने कान छ भने त्यसले सुनोस्।”
मर्कू ७:२१ * अतिरिक्त लेख ४ हेर्नुहोस्।
मर्कू ७:२२ गलाती ५:१९ को फुटनोट हेर्नुहोस्।