मर्कूस ५:१-४३
५ तब उहाँहरू समुद्रको पारिपट्टि गेरासिनीको इलाकामा पुग्नुभयो।
२ अनि उहाँ डुङ्गाबाट ओर्लिनेबित्तिकै, दुष्ट स्वर्गदूतको वशमा परेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो।
३ त्यो मानिस चिहानहरूमा भौंतारिरहन्थ्यो। त्यतिबेलासम्म कसैले पनि उसलाई साङ्लाले समेत बाँध्न सकेको थिएन।
४ किनकि उसलाई नेल र साङ्लाले धेरै चोटि बाँधे पनि उसले साङ्ला चुँडाल्थ्यो र नेललाई टुक्राटुक्रा पार्थ्यो अनि कसैसित त्यसलाई काबूमा राख्ने तागत थिएन।
५ ऊ चिहान र पहाडहरूमा रातदिन कराइरहन्थ्यो अनि आफ्नो जीउमा ढुङ्गाले काटेर चोटै-चोट बनाउँथ्यो।
६ तर टाढाबाट येशूलाई देख्नेबित्तिकै ऊ दौडेर गयो र उहाँलाई दण्डवत् गऱ्यो।
७ अनि ठूलो स्वरले चिच्याएपछि उसले भन्यो: “हे सर्वोच्च परमेश्वरको छोरा येशू, तपाईंको मसित के सरोकार?* मलाई नसताउनुहोस् भनेर म तपाईंलाई परमेश्वरको नाममा कसम खान लाउँछु।”
८ उहाँले “ए दुष्ट स्वर्गदूत, त्यस मानिसबाट निक्लेर आइज” भनिरहनुभएकोले ऊ यसरी चिच्याएको थियो।
९ अनि उहाँले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले उहाँलाई जवाफ दियो: “मेरो नाम पल्टन हो किनभने हामी धेरै छौं।”
१० अनि उसले आफूलाई त्यस इलाकाबाट बाहिर नपठाउन उहाँलाई धेरै चोटि बिन्ती गऱ्यो।
११ त्यतिखेर सुँगुरको एउटा ठूलो बथान त्यही पहाडमा चरिरहेको थियो।
१२ त्यसैले तिनीहरूले उहाँलाई यसो भन्दै बिन्ती गरे: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस् र तिनीहरूभित्र पस्न दिनुहोस्।”
१३ अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। तब ती दुष्ट स्वर्गदूतहरू बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि बथान भीरतिर हुत्तिंदै समुद्रमा खस्यो। यसरी झन्डै दुई हजारजति सुँगुर एक-एक गर्दै समुद्रमा खसेर डुबे।
१४ तब गोठालाहरू भागे अनि सहर र गाउँमा पसेर यसबारे सबैलाई सुनाए। अनि के भएको रहेछ भनी हेर्न मानिसहरू त्यहाँ गए।
१५ त्यसैले तिनीहरू येशूकहाँ आए अनि दुष्ट स्वर्गदूत बास गरेको त्यस मानिसलाई लुगा लगाएर बसेको र सद्दे भएको तिनीहरूले देखे। यो त्यही मानिस थियो, जसमा पल्टन बास गर्थ्यो। यो सब देखेर तिनीहरू डराए।
१६ साथै, दुष्ट स्वर्गदूत बास गरेको यो मानिस कसरी सद्दे भयो अनि सुँगुरहरूलाई के भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए।
१७ त्यसैले तिनीहरूले उहाँलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गर्न थाले।
१८ उहाँ डुङ्गा चढ्दै गर्नुहुँदा पहिला दुष्ट स्वर्गदूत बास गरेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गर्न थाल्यो।
१९ तर उहाँले उसलाई सँगै आउन दिनुभएन, बरु यसो भन्नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवाले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।”
२० अनि ऊ गयो र येशूले उसको लागि गर्नुभएका सबै कुरा डेकापोलिसमा* बताउन थाल्यो अनि सबै मानिस आश्चर्यचकित भए।
२१ येशू डुङ्गा चढेर फेरि पारिपट्टि जानुभयो। त्यहाँ एउटा ठूलो भीड भेला भयो र उहाँ समुद्रको किनारामै हुनुहुन्थ्यो।
२२ तब सभाघरको पदाधिकारी, जसको नाम याइरस हो, तिनी आए र उहाँलाई देख्नेबित्तिकै उहाँको पाउ परे
२३ अनि यसो भन्दै उहाँलाई धेरै पटक बिन्ती गरे: “मेरी सानी छोरीको अवस्था असाध्यै चिन्ताजनक छ। बिन्ती छ, तपाईं आउनुहोस् अनि ऊमाथि आफ्नो हात राख्नुहोस् र ऊ निको होस् र बाँचोस्।”
२४ तिनको कुरा सुनेर उहाँ तिनीसित जानुभयो। अनि एउटा ठूलो भीड पनि ठेलमठेल गर्दै उहाँको पछि लाग्यो।
२५ रगत बग्ने व्यथाले च्यापेको बाह्र वर्ष भइसकेको एक जना स्त्री पनि त्यही भीडमा थिई।
२६ उसले थुप्रै डाक्टरबाट उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो।
२७ जब उसले येशूको विषयमा सुनी, तब भीडमा उहाँको पछिल्तिर आएर उहाँको लुगा छोई।
२८ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा मात्र छोएँ भने पनि म निको हुनेछु।”
२९ अनि उत्तिखेरै उसको रगत बग्न बन्द भयो र आफू त्यस पीडादायी रोगबाट मुक्त भएको उसले महसुस गरी।
३० उत्तिखेरै येशूले पनि आफूभित्रबाट शक्ति निस्केर बाहिर गएको चाल पाउनुभयो र भीडतिर फनक्क फर्केर सोध्नुभयो: “मेरो लुगा कसले छोयो?”
३१ अनि चेलाहरूले उहाँलाई भने: “यत्रो भीडले तपाईंलाई ठेलिरहेको देख्नुभएकै छ, तैपनि तपाईं ‘मलाई कसले छोयो’ भनी सोध्नुहुन्छ?”
३२ तर उहाँ भने आफूलाई छुने स्त्रीलाई खोजिरहनुभएको थियो।
३३ तब आफू निको भएको चाल पाएपछि त्यो स्त्री डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर एक-एक गरी सबै सत्य कुरा बताई।
३४ उहाँले उसलाई भन्नुभयो: “नानी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ, तिम्रो रोग निको भयो।”
३५ उहाँ बोल्दै गर्नुहुँदा सभाघरको पदाधिकारीको घरबाट केही मानिसहरू आए र तिनलाई भने: “तपाईंकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”
३६ तर तिनीहरू कुरा गर्दै गरेको सुनेर येशूले सभाघरको त्यस पदाधिकारीलाई भन्नुभयो: “चिन्ता नगर, विश्वास मात्र गर।”
३७ तब उहाँले पत्रुस, याकूब र तिनका भाइ यूहन्नाबाहेक अरू कसैलाई आफूसित आउन दिनुभएन।
३८ अनि उहाँहरू सभाघरको पदाधिकारीको घरमा पुग्नुभयो। त्यहाँ पुग्दा उहाँले मानिसहरूको रुवाबासी र अलापविलापले गर्दा खैलाबैला मच्चिरहेको देख्नुभयो।
३९ अनि भित्र पसेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन खैलाबैला र रुवाबासी गरिरहेका छौ? सानी नानी मरेकी छैन तर निदाइरहेकी छे।”
४० यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। तर तिनीहरू सबैलाई बाहिर पठाएपछि उहाँले त्यस सानी नानीको बुबा र आमालाई अनि आफूसित आएकाहरूलाई लिएर भित्र त्यो सानी नानी भएको ठाउँमा जानुभयो।
४१ अनि उहाँले त्यो सानी नानीको हात समातेर उसलाई यसो भन्नुभयो: “तालिता कूमी,” जसको अनुवाद गर्दा अर्थ यस्तो हुन्छ: “ए ठिटी, म तिमीलाई भन्छु, उठ!”
४२ तब त्यो ठिटी उत्तिखेरै जुरुक्क उठी र हिंडडुल गर्न थाली। ऊ बाह्र वर्षकी थिई। यो देखेर तिनीहरूको खुसीको सीमा रहेन।
४३ तर यसबारे कसैलाई थाह नदिनू भनी उहाँले तिनीहरूलाई दोहोऱ्याई-तेहऱ्याई आदेश दिनुभयो र त्यस ठिटीलाई केही खानेकुरा दिनू भनी भन्नुभयो।