अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मर्कूस ४:१-४१

 अनि उहाँले समुद्रको छेउमा फेरि सिकाउन थाल्नुभयो। तब उहाँको नजिकै एउटा असाध्यै ठूलो भीड जम्मा भयो। त्यसैले उहाँ डुङ्गामा चढेर त्यसमा बस्नुभयो र किनाराबाट अलि पर जानुभयो तर समुद्रको छेउमा भएका सबै भीड भने किनारामै बसे। २  त्यसपछि उहाँले दृष्टान्तहरू चलाएर तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो र भन्नुभयो: ३  “लौ सुन। हेर, एक जना बीउ छर्ने मानिस बीउ छर्नलाई निस्क्यो। ४  बीउ छर्दै जाँदा केही बीउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर खाइदिए। ५  अरूचाहिं चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले। ६  तर घाम लागेपछि ती ओइलाए अनि जरा राम्ररी गाडिन नपाएकोले सुकिहाले। ७  अझ अरू बीउचाहिं काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्दै जाँदा ती निसास्सिए र कुनै फल फलाएनन्‌। ८  तर बाँकी भने असल माटोमा परे अनि अङ्कुराएर हुर्के र तिनीहरूले फल फलाउन थाले, कुनैले तीस गुणा, कुनैले साठी गुणा अनि कुनैले सय गुणा।” ९  त्यसपछि उहाँले यसो पनि भन्नुभयो: “जसको सुन्ने कान छ, त्यसले सुनोस्।” १०  उहाँ एक्लै हुनुभएपछि केही चेलाहरू र बाह्र जना प्रेषित उहाँकहाँ आए अनि दृष्टान्तहरूबारे सोध्न थाले। ११  अनि उहाँले तिनीहरूलाई भन्न थाल्नुभयो: “तिमीहरूलाई परमेश्वरको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर अरूहरूका लागि त दृष्टान्त, दृष्टान्तमै सीमित हुनेछ। १२  किनकि तिनीहरूले हेर्न त हेर्नेछन्‌ तर देख्नेछैनन्‌, सुन्न त सुन्नेछन्‌ तर बुझ्नेछैनन्‌। न त तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछन्‌ र क्षमा पाउनेछन्‌।” १३  उहाँले तिनीहरूलाई यसो पनि भन्नुभयो: “तिमीहरूले यो दृष्टान्त त बुझेनौ भने बाँकी सबै दृष्टान्तहरू कसरी बुझौला? १४  “बीउ छर्नेले परमेश्वरको वचन छर्छ। १५  बाटोको छेउछाउमा छरिएकाहरू ती हुन्‌, जसले परमेश्वरको वचन सुन्नेबित्तिकै सैतान आउँछ र तिनीहरूको मनमा छरिएको परमेश्वरको वचन खोसेर लैजान्छ। १६  त्यसैगरि चट्टानमा छरिएकाहरू ती हुन्‌, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्वीकार्छन्‌। १७  आफ्नै जरा नभए तापनि तिनीहरू केही समयसम्म रहिरहन्छन्‌ तर परमेश्वरको वचनको कारण सङ्कष्ट वा खेदो आउने बित्तिकै तिनीहरू ठेस खान्छन्‌। १८  काँडाहरूको बीचमा छरिएका बाँकी अरू भने यी हुन्‌, जसले परमेश्वरको वचन सुन्छन्‌, १९  तर यस संसारको फिक्री र धनसम्पत्तिको भ्रामक शक्ति अनि बाँकी अरू कुराहरूको इच्छा तिनीहरूको मनमा घुस्छ र परमेश्वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन। २०  अन्तमा असल माटोमा छरिएकाचाहिं ती हुन्‌, जसले वचन सुन्छन्‌ र खुसीसाथ त्यसलाई स्वीकार्छन्‌ अनि कुनैले तीस गुणा, कुनैले साठी गुणा अनि कुनैले सय गुणा फल फलाउँछन्‌।” २१  अनि उहाँले तिनीहरूलाई फेरि यसो भन्नुभयो: “के दियो बालेर पाथीमुनि वा खाटमुनि राखिन्छ र? त्यो त पानसमाथि राखिन्छ नि, होइन र? २२  किनकि लुकाइएको जुनसुकै कुरा अन्तमा प्रकट हुने नै छ, होसियारीपूर्वक छिपाइएको जुनसुकै कुरा पर्दाफास भइछाड्नेछ। २३  जसको सुन्ने कान छ, त्यसले सुनोस्।” २४  उहाँले तिनीहरूलाई यो कुरा पनि भन्नुभयो: “तिमीहरू अहिले जे सुनिरहेका छौ, त्यसलाई ध्यान देओ। किनकि जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरू नापिनेछौ। हो, तिमीहरूलाई त्योभन्दा अझ धेरै दिइनेछ। २५  किनकि जससित छ, त्यसलाई अझ धेरै दिइनेछ। तर जससित छैन, त्यससित भएको समेत त्यसबाट खोसिनेछ।” २६  उहाँले फेरि यसो भन्नुभयो: “परमेश्वरको राज्य यस्तो हो: एक जना मानिसले जमिनमा बीउ छर्छ। २७  हरेक रात ऊ सुत्छ र बिहान उठ्छ अनि बीउ पनि अङ्कुराउँछ र बढ्दै जान्छ तर यी सब कसरी हुन्छ, त्यो उसले जान्दैन। २८  जमिनले आफ्नै सुरले बाली उमार्छ, पहिले पात, त्यसपछि बाला, अनि अन्तमा अन्नको गेडा। २९  अनि अन्न पाक्नेबित्तिकै उसले हँसिया लगाउँछ, किनकि बाली काट्ने समय आएको छ।” ३०  अनि उहाँले फेरि यसो भन्नुभयो: “परमेश्वरको राज्यलाई हामी केसित तुलना गरौं अथवा कुन दृष्टान्त चलाएर बुझाऔं? ३१  त्यो त रायोको एउटा दानाजस्तो हो, जुन छर्ने बेला पृथ्वीमा पाइने बीउहरूमध्ये सबैभन्दा सानो हुन्छ . . . ३२  तर छरेपछि त्यो उम्रन्छ, अनि सबै सागपातहरूभन्दा अग्लो हुन्छ र त्यसमा ठूलठूला हाँगाहरू लाग्छन्‌, यहाँसम्म कि त्यसको छायामुनि आकाशका चराचुरुङ्गी बास बस्न सक्छन्‌।” ३३  तिनीहरूले बुझ्न सकुन्जेल उहाँ यस्ता थुप्रै दृष्टान्त चलाएर तिनीहरूलाई परमेश्वरको वचन सुनाउनुहुन्थ्यो। ३४  हो, विनादृष्टान्त उहाँ तिनीहरूसित कुरा गर्नुहुन्नथ्यो, तर कोही नभएको बेला आफ्ना चेलाहरूलाई मात्रै सबै कुरा बुझाउनुहुन्थ्यो। ३५  अनि त्यो दिन साँझ परेपछि उहाँले तिनीहरूलाई भन्नुभयो: “आओ, हामी पारिपट्टि जाऔं।” ३६  त्यसैले भीडलाई बिदा गरिसकेपछि तिनीहरूले उहाँलाई त्यही डुङ्गामा लगे। त्यतिखेर त्यहाँ अरू डुङ्गाहरू पनि थिए। ३७  तब ठूलो बतास चल्यो र छाल उर्लेर डुङ्गालाई हिर्काउन थाल्यो, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो। ३८  तर उहाँ भने डुङ्गाको पछिल्तिर सिरानी हालेर निदाइरहनुभएको थियो। त्यसैले तिनीहरूले उहाँलाई ब्यूँझाए र यसो भने: “हे गुरु, हामी मर्नै आँट्यौं तैपनि तपाईंलाई चिन्ता छैन?” ३९  यो सुनेर उहाँ उठ्नुभयो। त्यसपछि बतासलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्नुभयो: “चुप लाग्! शान्त भइजा!” तब बतास थामियो अनि समुद्र पूरै शान्त भयो। ४०  अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन डराउँछौ? के तिमीहरूसित अझैसम्म अलिकति पनि विश्वास छैन?” ४१  तर तिनीहरू असाध्यै डराए र आपसमा यसो भन्न थाले: “यिनी साँच्चै को हुन्‌, किनकि बतास र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌?”

फुटनोटहरू