अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मर्कूस ३:१-३५

 उहाँ फेरि एउटा सभाघरभित्र पस्नुभयो र त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको थियो। २  उहाँलाई दोष लगाउन फरिसीहरू उहाँले विश्राम-दिनमा निको पार्नुहुन्छ कि हुन्न भनेर उहाँलाई नियालिरहेका थिए। ३  अनि उहाँले हात सुकेको त्यस मानिसलाई भन्नुभयो: “उठ र बीचमा आऊ।” ४  त्यसपछि, उहाँले तिनीहरूलाई भन्नुभयो: “विश्राम-दिनमा असल काम गर्नु ठीक हो कि खराब काम गर्नु? ज्यान* बचाउनु ठीक हो कि ज्यान लिनु?” तर तिनीहरू चूप लागेर बसे। ५  तिनीहरूको मन बोधो भएको देखेर उहाँ असाध्यै दुःखी हुनुभयो अनि रिसाएर चारैतिर हेरेपछि उहाँले त्यस मानिसलाई भन्नुभयो: “तिम्रो हात पसार।” उसले आफ्नो हात पसाऱ्यो अनि उसको हात सद्दे भइहाल्यो। ६  यो देखेर फरिसीहरू बाहिर गए र उहाँलाई मार्न हेरोदवादीहरूसित मिलेर तुरुन्तै षड्यन्त्र रच्न लागे। ७  तर येशू आफ्ना चेलाहरूसित समुद्रतिर लाग्नुभयो। अनि गालील र यहूदियाबाट आएको एउटा ठूलो भीड उहाँको पछि लाग्यो। ८  उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरूको विषयमा सुनेर यरूशलेम, इदुमिआ, यर्दनपारि अनि टायर र सीदोन छेउछाउबाट समेत ठूलो भीड उहाँकहाँ आयो। ९  अनि भीडले नपेलोस् भनेर उहाँले आफ्ना चेलाहरूलाई एउटा सानो डुङ्गा सधैं तयार राख्न लगाउनुभयो। १०  किनकि उहाँले धेरै जनालाई निको पार्नुभएको देखेर पीडादायी रोगहरू लागेका सबै मानिसहरू उहाँलाई छुन ठेलमठेल गर्दै थिए। ११  दुष्ट स्वर्गदूत* बास गरेका मानिसहरूसमेत उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भनेर कराउँथे: “तपाईं परमेश्वरको छोरा हुनुहुन्छ!” १२  तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्नू भनी उहाँले धेरै चोटि तिनीहरूलाई कडा चेतावनी दिनुभयो। १३  त्यसपछि उहाँ एउटा डाँडामा उक्लनुभयो अनि आफूले रोज्न चाहेकाहरूलाई बोलाउनुभयो र तिनीहरू उहाँको पछि लागे। १४  अनि उहाँले बाह्र जनाको एउटा समूह बनाएर “प्रेषितहरू”* भन्ने नाम पनि दिनुभयो। किनकि उहाँ चाहनुहुन्थ्यो कि तिनीहरू उहाँको साथमा रहिरहून्‌ र तिनीहरूलाई प्रचार गर्न पठाउन सकियोस् १५  अनि दुष्ट स्वर्गदूतहरूलाई धपाउने अख्तियार दिन सकियोस्। १६  उहाँले बनाउनुभएको समूहका बाह्र जना यिनै हुन्‌: सिमोन, जसलाई उहाँले पत्रुस भन्ने नाम पनि दिनुभयो, १७  जब्दीको छोरा याकूब, याकूबको भाइ यूहन्ना (उहाँले यी दुईलाई बोनर्गेश भन्ने नाम पनि दिनुभयो, जसको अर्थ हुन्छ, गर्जनका छोराहरू), १८  अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ती, थोमा, अल्फयसको छोरा याकूब, थेदियस, जोसिलो भनिने सिमोन १९  र यहूदा इस्करियोत, जसले पछि उहाँलाई धोका दियो। अनि उहाँ एउटा घरभित्र पस्नुभयो। २०  त्यहाँ पनि भीड जम्मा भयो र उहाँहरूले खाना खाने मौकासमेत पाउनुभएन। २१  जब उहाँका नातेदारहरूले यो कुरा सुने, तब तिनीहरू उहाँलाई लिन गए, किनकि तिनीहरू यसो भन्थे: “उसको दिमाग खुस्केको छ।” २२  साथै, यरूशलेमबाट ओर्लेर आएका शास्त्रीहरूले यसो भनिरहेका थिए: “यसमा बालजिबुलले* बास गरेको छ र दुष्ट स्वर्गदूतहरूको शासकबाट शक्ति पाएको भएरै यसले दुष्ट स्वर्गदूतहरूलाई धपाउँछ।” २३  त्यसैले तिनीहरूलाई आफ्नो नजिक बोलाएर उहाँले दृष्टान्तद्वारा यसो भन्न थाल्नुभयो: “सैतानले सैतानलाई नै कसरी धपाउन सक्छ र? २४  यदि कुनै राज्यभित्र फूट छ भने त्यो राज्य कदापि टिक्न सक्दैन; २५  अनि यदि कुनै घरभित्र फूट छ भने त्यो घर टिक्न सक्नेछैन। २६  त्यसरी नै, यदि सैतान आफ्नै विरुद्धमा खडा भएको छ र त्यो आफैमा फूट छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त हुनेछ। २७  भनौं भने, बलियो मानिसको घरभित्र पसेको मानिसले पहिला त्यो बलियो मानिसलाई नबाँधीकन उसको भाँडाकुँडा कब्जामा लिन सक्दैन। हो, त्यसपछि मात्र त्यसले उसको घर लुट्नेछ। २८  म तिमीहरूलाई साँचो-साँचो भन्छु, मानिसका छोराहरूलाई सबै कुराको क्षमा दिइनेछ, चाहे तिनीहरूले जस्तोसुकै पाप र निन्दा गरेका किन नहोऊन्‌। २९  तर जसले पवित्र शक्तिको निन्दा गर्छ, उसले कहिल्यै क्षमा पाउनेछैन तर सधैंभरि रहिरहने पापको दोषी ठहरिनेछ।” ३०  तिनीहरूले “यसमा दुष्ट स्वर्गदूत बास गरेको छ” भनेको हुनाले उहाँले त्यसो भन्नुभएको थियो। ३१  तब उहाँकी आमा र उहाँका भाइहरू आए अनि तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाउन पठाए। ३२  त्यतिखेर एउटा ठूलो भीड उहाँको वरिपरि बसिरहेको थियो। त्यसैले तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्, तपाईंका आमा र भाइहरू तपाईंलाई बाहिर पर्खिरहेका छन्‌।” ३३  तर उहाँले तिनीहरूलाई यसो भन्नुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ३४  अनि आफ्नो चारैतिर घेरा बनाएर बसिरहेकाहरूलाई हेरिसकेपछि उहाँले भन्नुभयो: “हेर, मेरी आमा अनि मेरा भाइहरू! ३५  जसले परमेश्वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”

फुटनोटहरू

मर्कू ३:४ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
मर्कू ३:११ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।
मर्कू ३:१४ * वा, “पठाइएको जन।” ग्रीकमा “अपोस्टोलोस।”
मर्कू ३:२२ * यो सैतानको अर्को नाम हो।