सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

मर्कूस १३:१-३७

१३  अनि उहाँ मन्दिरबाट बाहिर निस्कँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले यसो भने: “गुरुज्यू, हेर्नुहोस् त! कस्ता-कस्ता ढुङ्गा अनि कस्ता-कस्ता भवनहरू!” २  तर येशूले तिनलाई भन्नुभयो: “तिमीले यी भव्य भवनहरू देखिरहेका छौ, होइन? यी सब एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढल्नेछन्‌।” ३  अनि जैतुन डाँडामा उहाँ मन्दिर देखिने ठाउँमा बसिरहनुभएको बेला पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोध्न थाले: ४  “हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्‌ अनि यी सब कुराहरूको आखिरी समयको चिन्ह के हुनेछ?” ५  तब येशूले तिनीहरूलाई बताउन थाल्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्। ६  धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ भन्दै आउनेछन्‌ र धेरैलाई बहकाउनेछन्‌। ७  साथै, युद्धको कोलाहल अनि युद्धको खबर सुन्दा तिमीहरू नआत्तिओ। यी सब हुनु आवश्यक छ, तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन। ८  “किनकि जातिको विरुद्धमा जाति अनि राज्यको विरुद्धमा राज्य उठ्नेछ र ठाउँ-ठाउँमा भूकम्प हुनेछ अनि अनिकाल पर्नेछ। यी त प्रसववेदनाको सुरुवात मात्र हुन्‌। ९  “तिमीहरूचाहिं सतर्क रहो। किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌। अनि तिमीहरू सभाघरहरूमा कुटिनेछौ र मेरो नामको खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले तिनीहरूलाई साक्षी दिनेछौ। १०  साथै, सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ। ११  तिनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्तिको मदत पाएर बोल्नेछौ। १२  साथै, दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबाबुको विरुद्ध उठ्नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌। १३  तिमीहरू मेरा चेला भएकाले सबै मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌; तर जसले अन्तसम्म सहन्छ, त्यसले उद्धार पाउनेछ। १४  “त्यसैले, तिमीहरूले जब उजाड पार्ने घृणित कुरालाई त्यो हुनु नपर्ने ठाउँमा खडा भएको देखौला, (पढ्नेले समझ चलाओस्) तब यहूदियामा हुने जति डाँडाहरूतिर भाग्न थालून्‌। १५  कौसीमा हुने मानिस ओर्लेर तल नआओस्, न त केही लिन आफ्नो घरभित्र पसोस्। १६  अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्। १७  ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय! १८  तिमीहरू हिउँदको बेला भाग्नु नपरोस् भनेर प्रार्थना गरिरहो। १९  किनकि त्यतिखेर यस्तो महासङ्कष्ट हुनेछ, जो परमेश्वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिल्यै हुनेछ। २०  भनौं भने, यहोवाले ती दिन नघटाउनुहुने हो भने कोही मानिस बच्नेछैन। तर आफूले चुनेका जनहरूका लागि उहाँले ती दिन घटाउनुहुनेछ। २१  “तब यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ’ वा ‘हेर, उहाँ त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ। २२  किनकि झूटा ख्रीष्ट अनि झूटा भविष्यवक्ताहरू देखा पर्नेछन्‌ र हुन सक्छ भने चुनिएका जनहरूलाई समेत बहकाउन चमत्कार अनि अचम्मका कामहरू गर्नेछन्‌। २३  त्यसैले तिमीहरू होसियार बस, मैले तिमीहरूलाई सबै कुरा पहिल्यै भनिदिएको छु। २४  “तर ती दिनमा, त्यस सङ्कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन, २५  ताराहरू आकाशबाट खस्नेछन्‌ र आकाशका शक्तिहरू डगमगाउनेछन्‌। २६  तब तिनीहरूले मानिसको छोरालाई ठूलो शक्ति र गौरवसहित बादलहरूमा आउँदै गरेको देख्नेछन्‌। २७  अनि उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र परमेश्वरले चुन्नुभएका जनहरूलाई तिनीहरूले पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्‌। २८  “अब अन्जीरको रूखलाई दृष्टान्तको रूपमा हेरेर यो कुरा सिक: हाँगाहरू पलाएर पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। २९  त्यसैगरि जब तिमीहरू यी कुरा भइरहेको देख्छौ तब ऊ* नजिकै, ढोकामै छ भनेर जान। ३०  म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन। ३१  आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू बितेर जानेछैनन्‌। ३२  “त्यस दिन वा समयको* विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र। ३३  सधैं सचेत रहो अनि जागा बस, किनकि परमेश्वरले तोक्नुभएको समय कुन हो, तिमीहरू जान्दैनौ। ३४  यो त त्यो मानिस जस्तै हो, जसले विदेश जानुअघि आफ्ना दासहरूलाई आफ्नो घर जिम्मा लगायो अनि हरेकलाई आ-आफ्नो काम बाँड्नुका साथै ढोकेलाई जागा रहने आदेश दियो। ३५  त्यसकारण जागा रहो, किनकि घरमालिक साँझमा* वा मध्यरातमा वा भाले बास्ने बेलामा वा बिहान सबेरै, कुन बेला आउँछ, तिमीहरूलाई थाह छैन। ३६  नत्रता ऊ अकस्मात्‌ आइपुग्दा तिमीहरूलाई निदाइरहेको भेट्टाउनेछ। ३७  म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु, जागा रहो।”

फुटनोटहरू

मर्कू १३:२७ * शाब्दिक, “चारै बतासबाट।”
मर्कू १३:२९ * अर्थात्‌, “मानिसको छोरा।”
मर्कू १३:३२ * शाब्दिक, “घण्टाको।”
मर्कू १३:३५ मत्ती १४:२५ को फुटनोट हेर्नुहोस्।