अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मर्कूस १२:१-४४

१२  उहाँले तिनीहरूसित दृष्टान्तहरू चलाएर कुरा गर्न थाल्नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले दाख पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्यो। अनि मोहीहरूलाई जिम्मा लगाएर आफूचाहिं विदेशतिर लाग्यो। २  फल टिप्ने बेला भएपछि उसले दाखबारीको कुत उठाउन आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। ३  तर तिनीहरूले उसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। ४  अनि उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। ५  अनि उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिं मारे। ६  ऊसँग अब एक जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा। ‘मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्ने सोच्दै अन्तमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ७  तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो, त्यसैले आओ, यसलाई मारौं अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ ८  त्यसैले तिनीहरूले उसलाई समातेर मारे अनि दाखबारीबाहिर फ्याँकिदिए। ९  दाखबारीको मालिकले अब के गर्नेछ? ऊ आएर ती मोहीहरूलाई मार्नेछ र दाखबारीचाहिं अरूलाई जिम्मा दिनेछ। १०  के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्गो नै कुनाको शिरढुङ्गो बनेको छ। ११  यहोवाले त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?” १२  यो सुनेर तिनीहरूले उहाँलाई पक्रने उपाय खोजे, किनकि यो दृष्टान्त उहाँले तिनीहरूकै विषयमा भनिरहनुभएको हो भनेर तिनीहरूले बुझे तर तिनीहरू भीडसित डराए। त्यसैले तिनीहरू उहाँलाई छोडेर गए। १३  त्यसपछि उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाउन तिनीहरूले केही फरिसीहरू र हेरोदवादीहरूलाई उहाँकहाँ पठाए। १४  तिनीहरू त्यहाँ पुगेपछि उहाँलाई भने: “गुरुज्यू, हामीलाई थाह छ, तपाईं सत्यवादी हुनुहुन्छ र कसैको बहकाउमा पर्नुहुन्न, किनकि तपाईं मानिसहरूको मुख हेरेर व्यवहार गर्नुहुन्न तर परमेश्वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीलाई भन्नुहोस्, सम्राट्लाई* कर * तिर्नु उचित हो कि होइन? १५  हामी कर तिरौं कि नतिरौं?” तिनीहरूको कपट थाह पाएर उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन मेरो परीक्षा गर्छौ? मलाई एक दिनारको* सिक्का देखाओ।” १६  तिनीहरूले एउटा सिक्का ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “सम्राट्को।” १७  तब येशूले भन्नुभयो: “जे-जे सम्राट्का हुन्‌, सम्राट्लाई र जे-जे परमेश्वरका हुन्‌, परमेश्वरलाई देओ।” उहाँको कुरा सुनेर तिनीहरू जिल्ल परे। १८  तब सदुकीहरू, जो मरेकाहरू पुनर्जीवित* हुँदैनन्‌ भन्छन्‌, तिनीहरू उहाँकहाँ आए र सोधे: १९  “गुरुज्यू, मोशाले हाम्रो लागि लेखेका छन्‌ कि यदि कुनै मानिस निस्सन्तान मऱ्यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नो दाइकी पत्नीसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ। २०  एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्यो र निस्सन्तान मऱ्यो। २१  अनि माइलोले आफ्नो दाइकी पत्नीसित विवाह गऱ्यो तर ऊ पनि निस्सन्तान मऱ्यो अनि साइँलो पनि त्यसरी नै मऱ्यो। २२  यसरी सातै जनाको कुनै सन्तान भएन। अन्तमा त्यो स्त्री पनि मरी। २३  पुनर्जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि त्यो सातै जनाकी पत्नी भइसकेकी थिई।” २४  येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ, किनकि तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिलाई नै बुझेका छौ। २५  किनकि मृत्युबाट ब्यूँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन्‌ तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌। २६  मरेकाहरू ब्यूँतने विषयमा के तिमीहरूले पोथ्रासम्बन्धी मोशाको विवरण पढेका छैनौ? परमेश्वरले तिनलाई यसो भन्नुभएको थियो: ‘म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।’ २७  उहाँ मरेकाहरूको होइन, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।” २८  उहाँहरूबीच वाद-विवाद चलिरहेको बेला त्यहाँ आएर सुनिरहेका एक जना शास्त्रीले उहाँले राम्रो जवाफ दिएको देखेर उहाँलाई सोधे: “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?” २९  येशूले जवाफ दिनुभयो: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा हाम्रा परमेश्वर एक मात्र यहोवा हुनुहुन्छ। ३०  त्यसैले तिमीले यहोवा तिम्रा परमेश्वरलाई आफ्नो सारा मनले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’ ३१  दोस्रोचाहिं यो हो: ‘तिमीले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” ३२  ती शास्त्रीले उहाँलाई भने: “गुरुज्यू, तपाईंले सत्य कुरा भन्नुभयो, ‘उहाँ एक मात्र परमेश्वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही छैन।’ ३३  उहाँलाई आफ्नो सारा मनले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु, सबै अग्निभेटी र बलिदानभन्दा धेरै उत्तम हो।” ३४  उसले बुद्धिमानीसाथ जवाफ दिएको सुनेर येशूले उसलाई भन्नुभयो: “तिमी परमेश्वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले उहाँसित अरू प्रश्न सोध्ने आँट गरेन। ३५  तर मन्दिरमा सिकाउँदा उहाँले तिनीहरूलाई यसो भन्न थाल्नुभयो: “ख्रीष्ट दाऊदको छोरा हुन्‌ भनी शास्त्रीहरूले कसरी भन्न सके? ३६  किनकि पवित्र शक्ति पाएर दाऊद आफैले यसो भने: ‘यहोवाले मेरा प्रभुलाई भन्नुभयो, “मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि नराखुन्जेल मेरो दाहिने हाततिर बस।” ’ ३७  दाऊद आफैले उनलाई ‘प्रभु’ भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन सक्छ र?” उहाँको कुरा एउटा ठूलो भीडले मक्ख परेर सुनिरहेको थियो। ३८  अनि उहाँले अझ यसो भन्दै सिकाउनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, किनकि तिनीहरू लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन गरेको चाहन्छन्‌, ३९  सभाघरहरूमा सबैभन्दा अगाडि बस्न रुचाउँछन्‌ अनि रात्रि-भोजहरूमा मुख्य-मुख्य आसन खोज्छन्‌। ४०  विधवाहरूको घर हडप्ने र लामा-लामा देखावटी प्रार्थना गर्ने यिनीहरू नै हुन्‌। यिनीहरूले चर्को दण्ड भोग्नेछन्‌।” ४१  अनि उहाँ दानपात्रहरू देखिने ठाउँमा गएर बस्नुभयो र मानिसहरूले दानपात्रहरूमा पैसा खसालेको हेर्न थाल्नुभयो। त्यहाँ थुप्रै धनी मानिसले धेरै सिक्का खसाल्दैथिए। ४२  त्यत्तिकैमा एक जना गरिब विधवा आई र असाध्यै थोरै मोलका दुई साना सिक्का* खसाली। ४३  तब उहाँले आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, दानपात्रहरूमा पैसा खसाल्ने सबै जनाले भन्दा यस गरिब विधवाले धेरै खसाली। ४४  किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”

फुटनोटहरू

मर्कू १२:१४ * ग्रीकमा “सिजर।”
मर्कू १२:१४ मत्ती १७:२५ को फुटनोट हेर्नुहोस्।
मर्कू १२:१५ * दिनार ३.८५ ग्राम तौल भएको चाँदीको रोमी सिक्का हो।
मर्कू १२:१८ * वा, “पुनरुत्थान।”
मर्कू १२:३० * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
मर्कू १२:४२ * शाब्दिक, “दुई लेप्टन।” दुई लेप्टन बराबर एक दिनको ज्यालाको १/६४ भाग हुन्छ। यहूदीहरूले चलाउने तामा वा ढलौटको सबैभन्दा सानो मोलको सिक्का एक लेप्टन थियो।