अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मत्ती २८:१-२०

२८  विश्राम - दिनपछि, हप्ताको पहिलो दिन बिहान झिसमिसेमै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए। २  अनि हेर, ठूलो भूकम्प भएको रहेछ, किनकि यहोवाका दूत स्वर्गबाट ओर्लेर आएका थिए र चिहानको मुखमा राखिएको ढुङ्गो गुडाएर त्यसमाथि बसिरहेका थिए। ३  तिनको रूप बिजुलीजस्तो चम्किलो थियो अनि तिनको लुगा हिउँजस्तै सेतो थियो। ४  हो, तिनलाई देखेर पहरादारहरू डरले कामेर मुर्दासरी भएका थिए। ५  तर स्वर्गदूतले ती आइमाईहरूलाई भने: “तिमीहरू नडराओ, किनकि तिमीहरू खम्बामा टाँगिनुभएका येशूलाई खोज्दैछौ भनी मलाई थाह छ। ६  उहाँ यहाँ हुनुहुन्न, किनकि उहाँ आफैले भन्नुभएझैं उहाँ ब्यूँतिसक्नुभयो। आओ, उहाँलाई राखिएको ठाउँमा हेर। ७  अनि तुरुन्तै गएर उहाँका चेलाहरूलाई उहाँ मृत्युबाट ब्यूँतिसक्नुभयो भनेर बताइदेओ र तिनीहरूलाई यसो भन: ‘हेर, उहाँ तिमीहरूभन्दा अघि गालील जाँदै हुनुहुन्छ र तिमीहरूले उहाँलाई त्यहीं देख्नेछौ।’ हेर, मैले तिमीहरूलाई यो कुरा भनिदिएको छु।” ८  त्यसैले डराउँदै अनि असाध्यै खुसी पनि हुँदै तिनीहरू तुरुन्तै चिहानबाट निस्के र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। ९  अनि हेर, येशूले तिनीहरूलाई बाटैमा भेट्नुभयो र भन्नुभयो: “तिमीहरूलाई मेरो अभिवादन छ!” तिनीहरू उहाँको नजिक गए र उहाँको पाउ समातेर दण्डवत्‌ गरे। १०  तब येशूले तिनीहरूलाई भन्नुभयो: “नडराओ! जाओ, मेरा भाइहरूलाई खबर गरिदेओ कि तिनीहरू गालील जाऊन्‌ र तिनीहरूले मलाई त्यहीं देख्नेछन्‌।” ११  तिनीहरू जाँदै गर्दा, हेर, केही पहरादार सहरभित्र पसे अनि जे-जे भएको थियो, ती सबै कुरा मुख्य पुजारीहरूलाई खबर गरे। १२  अनि धर्म-गुरुहरूसित एक ठाउँमा भेला भएर सल्लाह गरिसकेपछि तिनीहरूले ती सिपाहीहरूलाई मनग्गे चाँदी दिएर १३  यसो भने: “तिमीहरूले यसो भन्नू: ‘त्यसका चेलाहरू राती हामी निदाइरहेको बेला आएर त्यसको लास चोरेर लगेछन्‌।’ १४  अनि यो कुरा राज्यपालको कानमा पुगेछ भने चिन्ता नगर हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिऔंला।” १५  तब तिनीहरूले चाँदी लिए अनि आफूलाई सिकाएअनुसारै गरे। त्यसैले आजको दिनसम्म यहूदीहरूमाझ चारैतिर यही हल्ला चलेको छ। १६  तब एघार जना चेला गालीलको त्यस डाँडामा गए, जहाँ येशूले तिनीहरूलाई जानू भन्नुभएको थियो। १७  अनि उहाँलाई देखेपछि तिनीहरूले दण्डवत्‌ गरे तर कसै-कसैले भने शङ्का गरे। १८  अनि नजिक गएर येशूले तिनीहरूलाई यसो भन्नुभयो: “स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ। १९  त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ, तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको* नाममा बप्तिस्मा गराओ, २०  मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ। अनि हेर, यस युगको आखिरी समयसम्म म सधैंभरि तिमीहरूसितै छु।”

फुटनोटहरू

मत्ती २८:१९ * ग्रीकमा न्युमा। अतिरिक्त लेख ७ख हेर्नुहोस्।