अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मत्ती २६:१-७५

२६  यी सबै कुरा बताइसकेपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: २  “तिमीहरूलाई थाहै छ, अबको दुई दिनपछि निस्तार-चाड* मनाइनेछ अनि तिनीहरूले मानिसको छोरालाई टाँग्नको लागि शत्रुहरूको हातमा सुम्पिनेछन्‌।” ३  तब मुख्य पुजारीहरू र धर्म-गुरुहरू कैयाफा नाम गरेका प्रधान पुजारीको घरको चोकमा भेला भए ४  र येशूलाई कसरी छल गरेर पक्रने अनि मार्ने भनी आपसमा मतो गरे। ५  तर तिनीहरूले यसो भनिरहे: “चाडको बेलामा त होइन नत्र मानिसहरूले हूलदङ्गा गर्नेछन्‌।” ६  येशू बेथानीमा कुष्ठरोगी सिमोनको घरमा छँदा, ७  एउटी स्त्री सङ्गमर्मरको भाँडोमा महँगो सुगन्धित तेल लिएर उहाँकहाँ आई र खान बसिरहनुभएको बेला उहाँको टाउकोमा त्यो खन्याउन थाली। ८  यो देखेर चेलाहरूलाई चित्त बुझेन र यसो भने: “किन यत्रो नोक्सानी? ९  किनकि यो निकै महँगो दाममा बेचेर गरिबहरूलाई दिन सकिन्थ्यो।” १०  तिनीहरू के कुरा गर्दैछन्‌ भनी थाह पाएर येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? किनकि उसले मेरो लागि असल काम गरेकी छे। ११  गरिबहरू त तिमीहरूसित सधैंभरि हुन्छन्‌ तर म तिमीहरूसित सधैंभरि हुँदिनँ। १२  किनकि यस स्त्रीले मेरो शरीरमा यो सुगन्धित तेल लगाइदिएर मेरो मृत्युपछि मलाई गाड्न तयारी गरेकी हो। १३  म तिमीहरूलाई साँचो-साँचो भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेकी कुरा पनि उसको सम्झनामा सुनाइनेछ।” १४  तब बाह्र जनामध्ये एक, जसको नाम यहूदा इस्करियोत हो, तिनी मुख्य पुजारीहरूकहाँ गए १५  र भने: “मैले उहाँलाई धोका दिएर तपाईंहरूको हातमा सुम्पें भने तपाईंहरू मलाई के दिनुहुन्छ?” तिनीहरूले तिनलाई तीस टुक्रा चाँदी दिने कबुल गरे। १६  त्यसैले त्यस बेलादेखि तिनले उहाँलाई धोका दिने दाउ खोज्न थाले। १७  अखमिरा रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने: “हामीले निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?” १८  उहाँले भन्नुभयो: “तिमीहरू सहरमा जाओ र त्यहाँ फलानो-फलानो मानिसलाई यसो भन, गुरुज्यू भन्नुहुन्छ: ‘मेरो मृत्यु हुने बेला नजिकै छ; त्यसैले म आफ्ना चेलाहरूसित तिम्रो घरमा निस्तार-चाड मनाउनेछु।’ ” १९  अनि येशूले अह्राउनु भएबमोजिमै चेलाहरूले गरे र निस्तार-चाड मनाउने बन्दोबस्त मिलाए। २०  साँझ परेपछि उहाँ बाह्र जना चेलासित खान बसिरहनुभएको थियो। २१  खाँदै गर्दा उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।” २२  यो सुनेर असाध्यै दुःखी हुँदै तिनीहरूले पालैसित उहाँलाई सोध्न थाले: “प्रभु, के त्यो म हुँ?” २३  उहाँले यस्तो जवाफ दिनुभयो: “जसले मसँग कचौरामा हात चोप्छ, उसैले मलाई धोका दिनेछ। २४  यो कुरा साँचो हो कि मानिसको छोरा आफ्नो विषयमा लेखिएअनुसारै जाँदैछ तर मानिसको छोरालाई धोका दिनेलाई धिक्कार छ! त्यो त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।” २५  उहाँलाई धोका दिनै आँटेका यहूदाले कुरैकुरामा सोधे: “रब्बी, के त्यो म हुँ?” उहाँले तिनलाई भन्नुभयो: “तिमी आफैले भन्यौ।” २६  खाँदै गर्दा येशूले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो र चेलाहरूलाई दिंदै भन्नुभयो: “लेओ, खाओ। यो मेरो शरीरको प्रतीक हो।” २७  साथै, उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिंदै भन्नुभयो: “तिमीहरू सबैले यसबाट पिओ; २८  किनकि यो ‘करारको मेरो रगतको’ प्रतीक हो, जो पापहरूको क्षमा होस् भनेर थुप्रैका लागि बगाइनेछ। २९  तर म तिमीहरूलाई भन्छु, मेरो बुबाको राज्यमा तिमीहरूसित नयाँ दाखमद्य नपिएसम्म अबदेखि म कुनै पनि हालतमा यो दाखमद्य पिउँदिनँ।” ३०  अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो। ३१  अनि येशूले तिनीहरूलाई भन्नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ, किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र बगालका भेडाहरू तितरबितर हुनेछन्‌।’ ३२  मलाई मृत्युबाट ब्यूँताइएपछि म तिमीहरूभन्दा अघि गालील जानेछु।” ३३  तर पत्रुसले उहाँलाई भने: “तपाईंमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैन!” ३४  येशूले तिनलाई भन्नुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, भाले बास्नुअघि आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।” ३५  पत्रुसले उहाँलाई भने: “तपाईंसँगै मर्नु पऱ्यो भने पनि म कुनै हालतमा तपाईंलाई तिरस्कार गर्नेछैन।” अरू सबै चेलाहरूले पनि त्यसै भने। ३६  तब येशू तिनीहरूसित गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले चेलाहरूलाई भन्नुभयो: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीं बसिरहनू।” ३७  अनि पत्रुसलाई र जब्दीका दुई छोरालाई लिएर उहाँ जानुभयो। तब उहाँ दुःखी र असाध्यै विचलित हुन थाल्नुभयो। ३८  उहाँले तिनीहरूलाई भन्नुभयो: “मलाई मेरो ज्यानै* जाला जस्तो गरी अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीं बस र मसँगै जागा रहो।” ३९  अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो: “हे बुबा, यदि सम्भव छ भने यो कचौरा* मेरो सामुन्नेबाट हटाइदिनुहोस्। तर मेरो इच्छाअनुसार त होइन, तपाईंकै इच्छाअनुसार होस्।” ४०  उहाँ फर्केर चेलाहरूकहाँ आउँदा तिनीहरू निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ? ४१  परीक्षामा नपर्न तिमीहरू जागा रहो र निरन्तर प्रार्थना गर। मन त साँच्चै तयार छ तर शरीर भने कमजोर छ।” ४२  फेरि दोस्रो चोटि उहाँ जानुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो: “हे मेरो बुबा, यदि मैले नपिएसम्म यो कचौरा मेरो सामुन्नेबाट हटाउन सम्भव छैन भने तपाईंको इच्छाअनुसारै होस्।” ४३  अनि उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। ४४  त्यसैले तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो अनि तेस्रो पटक पनि फेरि त्यस्तै प्रार्थना गर्नुभयो। ४५  तब चेलाहरूकहाँ फर्केर उहाँले तिनीहरूलाई भन्नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। ४६  उठ, हामी जाऔं। हेर, मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।” ४७  अनि उहाँ बोल्दै गर्नुहुँदा हेर, बाह्र जनामध्ये एक, यहूदा आए र मुख्य पुजारीहरू र धर्म-गुरुहरूले पठाएको एउटा ठूलो भीड पनि तिनीसँगै तरबार र लाठोहरू लिएर आयो। ४८  उहाँलाई धोका दिनेले तिनीहरूलाई यसो भनेर एउटा चिन्ह दिएका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हो; तिमीहरूले उहाँलाई हिरासतमा लेओ।” ४९  अनि सोझै येशूकहाँ गएर तिनले “प्रणाम, रब्बी!” भने र उहाँलाई चुम्बन गरे। ५०  तर येशूले तिनलाई भन्नुभयो: “मित्र, तिमी कुन उद्देश्य लिएर यहाँ उपस्थित भयौ?” तब तिनीहरू अघि बढे र येशूलाई पक्रेर हिरासतमा लिए। ५१  अनि हेर, येशूको साथमा भएकाहरूमध्ये एक जनाले आफ्नो तरबार थुत्यो र प्रधान पुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो। ५२  तब येशूले उसलाई भन्नुभयो: “तिम्रो तरबार म्यानमै राख, किनकि तरबार चलाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌। ५३  अथवा तिमीलाई के लाग्छ, के म मेरो बुबालाई अहिले यतिखेरै बाह्र पल्टनभन्दा बढी स्वर्गदूत पठाइदिन बिन्ती गर्न सक्दिनँ र? ५४  तर यदि मैले त्यसो गरें भने धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” ५५  त्यही बेला येशूले भीडलाई भन्नुभयो: “के तिमीहरू डाँकुलाई जस्तै गरी तरबार र लाठोहरू लिएर मलाई पक्रन आएका छौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथें, तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। ५६  तर भविष्यवक्ताहरूले लेखेका कुरा पूरा होऊन्‌ भनेर यी सब भएका हुन्‌।” तब उहाँलाई छोडेर सबै चेलाहरू भागे। ५७  येशूलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे। त्यहाँ शास्त्री र धर्म-गुरुहरू पनि भेला भएका थिए। ५८  तर पत्रुस भने टाढै रहेर प्रधान पुजारीको चोकसम्म उहाँको पछि-पछि लागे र भित्र पसे अनि के नतिजा हुँदो रहेछ भनी हेर्न घरका चाकरहरूसँगै बसिरहेका थिए। ५९  त्यसबीच मुख्य पुजारीहरू र पूरै यहूदी न्यायपरिषद् येशूलाई मार्न उहाँको विरुद्धमा झूटो आरोप खोजिरहेका थिए। ६०  हुन त, थुप्रै झूटा साक्षी अघि सरे तर तिनीहरूले कुनै आरोप लगाउन सकेनन्‌। पछि दुई जना अघि सरेर ६१  यसो भने: “यस मानिसले ‘परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा बनाउन सक्छु’ भन्यो।” ६२  यो सुनेर प्रधान पुजारी जुरुक्क उठे र उहाँलाई भने: “के तँसित यसको जवाफ छ? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदैछन्‌, त्यसबारे तँ के भन्छस्?” ६३  तर येशू चूप लागेर बस्नुभयो। त्यसैले प्रधान पुजारीले उहाँलाई भने: “जीवित परमेश्वरको नाममा कसम खाएर हामीलाई सत्य कुरा भन्‌, के तँ परमेश्वरको छोरा, ख्रीष्ट होस्!” ६४  येशूले तिनलाई भन्नुभयो: “तपाईं आफैले भन्नुभयो। तर म तपाईंहरू सबैलाई भन्छु, अबदेखि तपाईंहरूले मानिसको छोरालाई सर्वशक्तिमान्‌को दाहिनेपट्टि बसिरहेको र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।” ६५  तब प्रधान पुजारीले आफ्नो लुगा च्याते र यसो भने: “यसले परमेश्वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र? हेर, तिमीहरू आफैले ईश्वरनिन्दा सुनिहाल्यौ। ६६  तिमीहरूको राय के छ?” तिनीहरूले जवाफ दिए: “यो मानिस मारिनै पर्छ।” ६७  तब तिनीहरूले उहाँको अनुहारमा थुके अनि उहाँलाई मुड्कीले हिर्काए। अरूले चाहिं उहाँको गालामा चड्कन हाने ६८  र भने: “ए ख्रीष्ट, लौ भविष्यवाणी गर्, तँलाई हिर्काउने को हो?” ६९  पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईं पनि त गालीली येशूसँगै हुनुहुन्थ्यो नि!” ७०  तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दैछ्यौ, मलाई थाह छैन।” ७१  तिनी निस्केर मूल-ढोकातिर गइरहेको बेला अर्की केटीले तिनलाई देखी र त्यहाँ भएका मानिसहरूलाई भनी: “यो मानिस नासरी येशूसँगै थियो।” ७२  अनि कसम खाँदै तिनले फेरि नकारे: “मैले त्यो मानिसलाई चिनेकै छैन!” ७३  अलिक समयपछि, वरपर उभिरहेका मानिसहरू पत्रुसकहाँ आएर भने: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ, किनकि तिम्रो बोलीबाटै थाह हुन्छ।” ७४  आफूले झूट बोलेको हो भने सराप लागोस् भनेर कसम खाँदै तिनले भने: “मैले त्यो मानिसलाई चिनेकै छैन!” अनि त्यतिखेरै भाले बास्यो। ७५  तब येशूले भन्नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।” अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

फुटनोटहरू

मत्ती २६:२ * निस्तार-चाड इस्राएलीहरूले मिश्रबाट छुटकारा पाएको सम्झनामा मनाइन्छ। यो हरेक वर्ष नीसान महिनाको चौधौं दिनमा अर्थात्‌ ग्रेगोरियन पात्रोअनुसार मार्च/अप्रिल महिनामा पर्छ।
मत्ती २६:३८ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
मत्ती २६:३९ * “कचौरा”-ले परमेश्वरको त्यस इच्छालाई बुझाउँछ जसअनुसार येशू ईश्वर-निन्दाको झूटो आरोपमा मर्नुपर्ने थियो।