अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मत्ती २०:१-३४

२०  “स्वर्गको राज्य दाखबारीको मालिकजस्तै हो, जो ज्यालादारी खेतालाहरू खोज्न बिहान सबेरै निस्क्यो। २  अनि उसले एक दिनको ज्याला एक दिनार* दिने कबुल गरेर खेतालाहरूलाई दाखबारीमा पठायो। ३  बिहानको नौ बजेतिर बाहिर जाँदा उसले केही खेतालाहरू काम नपाएर बजारमा त्यत्तिकै उभिरहेको देख्यो। ४  अनि उसले तिनीहरूलाई भन्यो: ‘तिमीहरू पनि मेरो दाखबारीमा जाओ र म तिमीहरूलाई त्यसको उचित ज्याला दिऊँला।’ ५  त्यसैले तिनीहरू गए। ऊ फेरि मध्यान्ह बाह्र बजे र दिउँसोको तीन बजेतिर बाहिर गयो र त्यसै गऱ्यो। ६  अन्तमा, ऊ साँझको पाँच बजेतिर फेरि गयो र केही खेतालाहरू उभिरहेका देख्यो र उसले तिनीहरूलाई सोध्यो: ‘तिमीहरू किन काम नगरेर दिनभरि त्यत्तिकै उभिरहेको?’ ७  तिनीहरूले उसलाई भने: ‘किनभने कसैले पनि हामीलाई काममा लगाएन।’ अनि उसले तिनीहरूलाई भन्यो: ‘त्यसोभए तिमीहरू पनि मेरो दाखबारीमा जाओ।’ ८  “जब साँझ पऱ्यो, तब दाखबारीको मालिकले आफ्नो घरको रेखदेख गर्ने नाइकेलाई भन्यो: ‘खेतालाहरूलाई बोलाऊ अनि काममा सबैभन्दा पछि आउनेहरूबाट सुरु गरेर पहिला आउनेहरूलाई तिनीहरूको ज्याला देऊ।’ ९  तब साँझको पाँच बजे काम सुरु गर्ने खेतालाहरू आए र तिनीहरू हरेकले एक दिनार पाए। १०  जब सुरुमा काम थाल्नेहरू आए, तिनीहरूले बढी ज्याला पाउँछौं भन्ठाने तर तिनीहरूले पनि एक दिनारको हिसाबले नै पाए। ११  एक दिनार मात्र पाएपछि तिनीहरूले दाखबारीको मालिकविरुद्ध गनगन गर्न थाले १२  र भने: ‘यी पछि आउनेहरूले एक घण्टा मात्र काम गरे। हामीले भने दिनभरि घाममा जोतिएर काम गऱ्यौं तैपनि तपाईंले तिनीहरूलाई हामीसरह ज्याला दिनुभयो।’ १३  अनि तिनीहरूमध्ये एक जनालाई मालिकले यस्तो जवाफ दियो: ‘हेर भाइ, मैले तिमीलाई केही अन्याय गरेको छैन। के तिमीले मसित एक दिनारमै काम गर्ने कबुल गरेका होइनौ? १४  तिम्रो जे हो, लिएर जाऊ। पछि आउने यसलाई पनि म तिमीलाई जति नै दिन चाहन्छु। १५  मेरो सम्पत्ति म जेसुकै गरूँ, के त्यो मेरो अधिकार होइन र? वा मैले भलाइ गरेको देखेर तिमीलाई डाह लाग्यो?’ १६  यसरी पछिल्लाहरूचाहिं पहिला हुनेछन्‌ अनि पहिलाहरूचाहिं पछिल्ला हुनेछन्‌।” १७  तब बाह्र जना चेलालाई अलग्गै लिएर येशू यरूशलेमतर्फ उक्लनुभयो र बाटोमा यसो भन्नुभयो: १८  “हेर, हामी यरूशलेमतर्फ उक्लँदैछौं, अब मानिसको छोरा मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌ १९  र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌, अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई कोर्रा लगाउनेछन्‌ र काठमा टाँग्नेछन्‌ र त्यसपछि तेस्रो दिनमा उसलाई ब्यूँताइनेछ।” २०  तब जब्दीकी पत्नी आफ्ना दुई छोरा लिएर उहाँकहाँ आइन्‌ र उहाँलाई दण्डवत्‌ गरिन्‌। तिनी उहाँसित केही कुरा माग्न चाहन्थिन्‌। २१  उहाँले तिनलाई सोध्नुभयो: “तिमी के चाहन्छयौ?” तिनले उहाँलाई भनिन्‌: “मलाई वचन दिनुहोस्, तपाईंको राज्यमा मेरा यी दुई छोराहरू एक जना तपाईंको दाहिने हाततिर र अर्को देब्रे हाततिर बस्न पाऊन्‌।” २२  येशूले तिनका छोराहरूलाई यस्तो जवाफ दिनुभयो: “तिमीहरू के माग्दैछौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिउन लागेको कचौरा के तिमीहरू पिउन सक्छौ?” तिनीहरूले उहाँलाई भने: “सक्छौं।” २३  उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूले मेरो कचौरा निश्चय पिउनेछौ तर मेरो दाहिने र देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। मेरो बुबाले जसको लागि यो तयार पार्नुभएको हो, ऊ नै त्यहाँ बस्नेछ।” २४  जब अरू दस जनाले यो कुरा सुने, तब तिनीहरू ती दुई दाजुभाइसित रिसाए। २५  तर येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌। २६  तिमीहरूबीच भने यस्तो नहोस् तर तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ। २७  अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ तिमीहरूको दास हुनुपर्छ। २८  जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान* दिन आयो।” २९  उहाँहरू यरिहोबाट निस्केर जाँदै गर्दा ठूलो भीड उहाँको पछि लाग्यो। ३०  अनि हेर, दुई जना अन्धा बाटोको छेउमा बसिरहेका थिए। जब तिनीहरूले येशू त्यही बाटो भएर जाँदै हुनुहुन्छ भनी सुने, तब तिनीहरूले यसो भन्दै पुकारे: “हे प्रभु, दाऊदका छोरा, हामीमाथि कृपा गर्नुहोस्!” ३१  भीडले तिनीहरूलाई चूप लाग् भनी हप्कायो तर तिनीहरू भने यसो भन्दै झन्‌ चिच्याए: “हे प्रभु, दाऊदका छोरा, हामीमाथि कृपा गर्नुहोस्!” ३२  त्यसैले येशू रोकिनुभयो र तिनीहरूलाई बोलाएर सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३३  तिनीहरूले उहाँलाई भने: “हे प्रभु, हाम्रो आँखा खुलोस्।” ३४  तब येशूले टिठाउँदै तिनीहरूको आँखा छुनुभयो अनि तिनीहरूले उत्तिखेरै देख्न थाले र तिनीहरू उहाँको पछि लागे।

फुटनोटहरू

मत्ती २०:२ * दिनार ३.८५ ग्राम तौल भएको चाँदीको रोमी सिक्का हो, जुन एक दिनको ज्याला बराबर हुन्थ्यो।
मत्ती २०:२८ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।