सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

मत्ती २:१-२३

 हेरोद* राजाको पालामा यहूदियाको बेतलेहेममा येशूको जन्म भएपछि हेर, पूर्वबाट ज्योतिषीहरू यरूशलेम आए,  र भने: “जो यहूदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौं र उहाँको दर्शन गर्न हामी आएका छौं।”  यो सुनेपछि राजा हेरोद व्याकुल भए र सारा यरूशलेममा पनि हलचल मच्चियो।  अनि तिनले सबै मुख्य पुजारीहरू र शास्त्रीहरूलाई भेला गराएर ख्रीष्टको जन्म कहाँ हुने हो भनेर सोधपुछ गर्न लागे।  उनीहरूले तिनलाई भने: “यहूदियाको बेतलेहेममा; किनकि भविष्यवक्ताले यस्तो लेखेका छन्‌:  ‘हे यहूदा मुलुकको बेतलेहेम, तँ कुनै किसिमले यहूदाका शासकहरूमाझ तुच्छ छैनस्, किनकि तँबाट एक जना शासन गर्ने निस्किआउनेछ, जसले मेरो प्रजा इस्राएललाई गोठालोले झैं डोऱ्याउनेछ।’ ”  तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्क बोलाए अनि उनीहरूसित राम्ररी सोधपूछ गरी त्यो तारा सुरुमा देखा परेको समय पत्ता लगाए।  अनि तिनले उनीहरूलाई यसो भनेर बेतलेहेम पठाए: “जाओ, त्यस सानो बालकलाई राम्ररी खोज अनि तिमीहरूले भेट्टाएपछि फर्केर मलाई खबर गर ताकि म पनि गएर उहाँको दर्शन गर्न सकूँ।”  राजाको कुरा सुनेपछि उनीहरू आफ्नो बाटो लागे; औ हेर, पूर्वमा छँदा उनीहरूले देखेको त्यो तारा उनीहरूको अघि-अघि लाग्यो र सानो बालक भएको घरमाथि पुगेपछि टक्क अडियो। १०  त्यो तारा अडिएको देखेर उनीहरू असाध्यै खुसी भए। ११  जब उनीहरू त्यस घरभित्र पसे, उनीहरूले सानो बालकलाई आफ्नी आमा मरियमसँग देखे अनि उनीहरूले घोप्टो परेर उहाँको दर्शन गरे। साथै, उनीहरूले आफ्नो कन्तुरबाट सुन, सेतो धूप र मर्र* झिकेर उहाँलाई उपहार चढाए। १२  तर हेरोदकहाँ फर्केर नजानू भनी परमेश्वरले सपनामा चेतावनी दिनुभएकोले उनीहरू अर्कै बाटो भएर आफ्नो देश फर्के। १३  उनीहरू फर्केपछि, हेर, यहोवाका स्वर्गदूत सपनामा यूसुफकहाँ देखा परेर यसो भने: “उठ, सानो बालक र तिनकी आमालाई लिएर मिश्र देशमा भाग अनि मैले नभनेसम्म त्यहीं बस; किनकि हेरोदले यस बालकलाई खोजेर मार्न आँटेको छ।” १४  त्यसैले तिनी उठे अनि सानो बालक र तिनकी आमालाई लिएर राती नै मिश्र देश गए, १५  अनि हेरोदको मृत्यु नहोउन्जेल तिनी त्यहीं बसे। यसरी यहोवाले आफ्नो भविष्यवक्ताद्वारा भन्नुभएको यो वचन पूरा भयो: “मैले आफ्नो छोरोलाई मिश्र देशबाट बोलाएँ।” १६  जब ज्योतिषीहरूले आफूलाई झुक्याएछन्‌ भनी हेरोदले थाह पाए, तब तिनी रिसले आगो भए अनि आफ्ना चाकरहरूलाई यस्तो हुकुम दिए: ‘जाओ, बेतलेहेम सहर र त्यस वरिपरिका दुई वर्ष र त्यसभन्दा मुनिका सबै बालकहरूलाई मार।’ तिनले ज्योतिषीहरूसित राम्ररी सोधपूछ गरेर पत्ता लगाएको समयको आधारमा यसो गर्न लगाएका थिए। १७  यसरी भविष्यवक्ता यर्मियाद्वारा भनिएको यो वचन पूरा भयो: १८  “रामामा एउटा स्वर सुनियो, रोदन र क्रन्दनको; राहेल आफ्ना बालबच्चाको निम्ति विलाप गर्दै थिई; ऊ शान्त हुन मानिन किनकि तिनीहरू अब रहेनन्‌।” १९  हेरोदको मृत्यु भइसकेपछि, हेर, यहोवाको स्वर्गदूत मिश्रमा यूसुफकहाँ सपनामा देखा परे २०  र यसो भने: “उठ, सानो बालक र तिनकी आमालाई लिएर इस्राएलतिर लाग किनकि बालकको ज्यान* लिन खोज्नेहरू मरिसके।” २१  त्यसैले तिनी उठे अनि बालक र तिनकी आमालाई लिएर इस्राएल पसे। २२  तर अर्खिलाउस आफ्नो बुबा हेरोदको सट्टा यहूदियाका राजा भए भन्ने सुनेपछि तिनी त्यहाँ जान डराए। साथै, परमेश्वरले सपनामा चेतावनी पनि दिनुभएकोले तिनी गालीलको इलाकामा गए। २३  अनि तिनी नासरत नाम गरेको सहरमा आएर बसे। यसरी भविष्यवक्ताहरूको यो वचन पूरा भयो: “उहाँ नासरी कहलाइनुहुनेछ।”

फुटनोटहरू

अर्थात्‌, “महान्‌ हेरोद।”
सुगन्धित चूर्ण।
ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।