अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

मत्ती १४:१-३६

१४  त्यसबेला प्रान्तीय शासक हेरोदले* येशूको विषयमा सुने २  र आफ्ना नोकरहरूलाई भने: “यिनी मृत्युबाट ब्यूँताइएका बप्तिस्मा गराउने यूहन्ना हुन्‌। त्यसैले त तिनले शक्तिशाली कामहरू गरिरहेका छन्‌।” ३  हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई पक्रेर बाँधी झ्यालखानामा हालेका थिए। ४  किनकि यूहन्ना हेरोदलाई यसो भन्ने गर्थे: “तपाईंले उसलाई आफ्नी पत्नी बनाउनु ठीक होइन।” ५  हेरोद तिनलाई मार्न चाहन्थे तर मानिसहरूसित उनी डराउँथे किनभने तिनीहरूले यूहन्नालाई भविष्यवक्ता ठान्थे। ६  तर हेरोदको जन्मोत्सवको बेला हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्न बनाइन्‌ कि ७  तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै उनले कसम खाए। ८  तब आफ्नी आमाले सिकाएबमोजिम तिनले भनिन्‌: “बप्तिस्मा गराउने यूहन्नाको टाउको यही किस्तीमा राखेर मलाई दिनुहोस्।” ९  तिनको कुरा सुनेर हेरोद दुःखी भए। तर पाहुनाहरूको अगाडि आफूले कसम खाइसकेको हुनाले उनले यूहन्नाको टाउको त्यस केटीलाई दिने हुकुम गरे, १०  र मानिसहरू पठाएर झ्यालखानामा यूहन्नाको टाउको काट्न लगाए। ११  अनि उनको टाउको किस्तीमा राखेर ल्याइयो अनि त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमालाई दिइन्‌। १२  पछि यूहन्नाका चेलाहरू आए अनि लास लगेर गाडे र गएर येशूलाई खबर गरे। १३  यो सुनेपछि येशू एकान्तको खोजीमा डुङ्गा चढेर सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर सहर-सहरबाट निस्केको भीड पनि हिंड्दै उहाँको पछि लाग्यो। १४  डुङ्गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो भीड देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो। १५  तर साँझ परेपछि चेलाहरू उहाँकहाँ आएर यसो भने: “यो ठाउँ सुनसान छ र निकै ढिला पनि भइसक्यो। त्यसैले यो भीडलाई पठाइदिनुहोस् र तिनीहरूले गाउँमा गएर आफ्नो निम्ति खानेकुरा किनून्‌।” १६  तर येशूले भन्नुभयो: “उनीहरू जान आवश्यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” १७  चेलाहरूले उहाँलाई भने: “हामीसित यहाँ पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही पनि छैन।” १८  उहाँले भन्नुभयो: “ती मकहाँ ल्याओ।” १९  त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्ने आज्ञा दिनुभयो र पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे। २०  तिनीहरू सबैले खाए र तृप्त भए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा बाह्र डालो भरियो। २१  खाने मानिसहरू आइमाई र साना केटाकेटीबाहेक लगभग पाँच हजार थिए। २२  तब उहाँले भीडलाई बिदा गर्दै गर्दा आफ्ना चेलाहरूलाई चाहिं डुङ्गा चढेर तुरुन्तै उहाँभन्दा अघि पारि जान कर लगाउनुभयो। २३  भीडलाई पठाइसकेपछि आखिरमा उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो। रात निकै छिप्पिसकेको थियो तर उहाँ भने त्यहाँ एक्लै हुनुहुन्थ्यो। २४  यतिखेरसम्ममा डुङ्गा सयौं मिटर पर पुगिसकेको थियो र विपरीत दिशाबाट बतास चलिरहेको हुँदा छालले डुङ्गालाई बेस्सरी हानिरहेको थियो। २५  रातको चौथो प्रहरमा* उहाँ समुद्रमा हिंड्दै चेलाहरूकहाँ आउनुभयो। २६  उहाँलाई समुद्रमा हिंडिरहनुभएको देखेपछि चेलाहरू विचलित भएर भन्न थाले: “यो पक्कै दृष्टिभ्रम हुनुपर्छ!” अनि तिनीहरू डराएर चिच्याए। २७  तर येशूले तुरुन्तै तिनीहरूलाई यसो भन्नुभयो: “साहस गर, मै हुँ, नडराओ।” २८  पत्रुसले उहाँलाई यस्तो जवाफ दिए: “प्रभु, यदि तपाईं नै हुनुहुन्छ भने मलाई पानीमाथि हिंडेर तपाईंकहाँ आउने आज्ञा दिनुहोस्।” २९  उहाँले भन्नुभयो: “हुन्छ, आऊ!” अनि पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिंड्दै येशू भएतिर गए। ३०  तर आँधी चलिरहेको देखेर तिनी डराए अनि डुब्न थालेपछि यसो भन्दै चिच्याए: “प्रभु, मलाई बचाउनुहोस्!” ३१  येशूले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई समाउनुभयो र भन्नुभयो: “ए थोरै विश्वास हुने मानिस, तिमीले किन शङ्का गऱ्यौ?” ३२  अनि दुवै जना डुङ्गामा चढेपछि आँधी थामियो। ३३  त्यसपछि डुङ्गामा बसिरहेका चेलाहरूले उहाँलाई दण्डवत्‌ गर्दै भने: “तपाईं साँच्चै परमेश्वरको छोरा हुनुहुँदो रहेछ।” ३४  अनि तिनीहरू पारि तरेर गनेसरेतमा उत्रे। ३५  जब त्यहाँका मानिसहरूले उहाँलाई चिने, तब तिनीहरूले वरपरका इलाकामा खबर पठाए र मानिसहरूले बिरामीजति सबैलाई उहाँकहाँ ल्याए। ३६  अनि उहाँको लुगाको किनारा मात्र भए पनि छुन पाऊँ भनी तिनीहरूले उहाँलाई बिन्ती गर्न थाले र ज-जसले छोए, तिनीहरू पूरै निको भए।

फुटनोटहरू

मत्ती १४:१ लूका ३:१ को फुटनोट हेर्नुहोस्।
मत्ती १४:२५ * बाइबलकालमा रातलाई चार भागमा बाँड्ने चलन थियो: पहिलो भाग साँझ छ बजेदेखि राती नौ बजेसम्म, दोस्रो भाग नौ बजेदेखि बाह्र बजेसम्म, तेस्रो भाग बाह्र बजेदेखि बिहान तीन बजेसम्म र चौथो भाग तीन बजेदेखि बिहान छ बजेसम्म।