सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

फिलिप्पी ४:१-२३

 यसकारण, हे मेरा प्रिय भाइहरू हो, तिमीहरू मेरो खुसी र मुकुट हौ अनि तिमीहरूलाई भेट्‌न म तीव्र इच्छा गरिरहेको छु। मेरा प्रियहरू हो, तिमीहरू यसरी नै प्रभुमा दृढ भइरहो।  इयोदियालाई म आग्रह गर्छु र त्यसैगरि सिन्तकेलाई पनि आग्रह गर्छु, कि प्रभुमा एकै मनका होओ।  अनि मेरो साँचो सहकर्मी, तिमीलाई पनि म यो अनुरोध गर्छु, कि यी स्त्रीहरूलाई मदत गरिरह, जसले क्लेमेन्ट र मेरा अरू सहकर्मीहरू, जसको नाम जीवनको पुस्तकमा छ, उनीहरूसित मिलेर सुसमाचार सुनाउन मसँगै परिश्रम गरेका छन्‌।  प्रभुमा सधैं रमाओ। म फेरि एक चोटि भन्छु, रमाओ!  तिमीहरूको व्यावहारिकता सबै मानिसहरूलाई थाह होस्। प्रभु नजिकै हुनुहुन्छ।  कुनै कुराको विषयमा चिन्तित नहोओ तर हरेक कुरामा प्रार्थना, उत्कट बिन्ती र धन्यवादका साथ आफ्नो निवेदन परमेश्वरसमक्ष जाहेर गर।  अनि परमेश्वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा तिमीहरूको मन र सोच्ने क्षमताको रक्षा गर्नेछ।  अन्तमा, हे भाइहरू हो, जुन कुराहरू सत्य छन्‌, जुन कुराहरू गम्भीरतासाथ ध्यान दिन लायकका छन्‌, जुन कुराहरू परमेश्वरको स्तरबमोजिम असल छन्‌, जुन कुराहरू चोखा छन्‌, जुन कुराहरू प्रेम गर्न योग्य छन्‌, जुन कुराहरूले राम्रो नाम कमाएका छन्‌, जुन कुराहरूमा सद्‌गुण छ अनि जुन कुराहरू प्रशंसायोग्य छन्‌, तिनै कुराहरूको विचार गरिरहो।  जुन कुराहरू तिमीहरूले मबाट सिक्यौ, स्वीकाऱ्यौ, सुन्यौ र देख्यौ, तिनै कुराहरू गर्ने गर अनि शान्तिका परमेश्वर तिमीहरूका साथमा हुनुहुनेछ। १०  म प्रभुमा ज्यादै रमाउँछु, किनकि बल्ल तिमीहरूले फेरि मेरो विषयमा सोच्न थालेका छौ। हुन त तिमीहरूले मेरो विषयमा सोचिरहेकै थियौ तर त्यो देखाउने मौका भने पाएका थिएनौ। ११  खाँचोमा परेकोले मैले यसो भनेको त होइन, किनकि जस्तोसुकै परिस्थितिमा परे तापनि सन्तुष्ट हुन मैले सिकेको छु। १२  अभावमा कसरी जीवन बिताउने, त्यो मलाई थाह छ अनि प्रशस्ततामा कसरी जीवन बिताउने, त्यो पनि मलाई थाह छ। पेट टन्न हुँदा होस् वा भोकै रहँदा अनि प्रशस्ततामा होस् वा अभावमा, हरेक कुरामा र सबै परिस्थितिमा कसरी सन्तुष्ट हुने, त्यो रहस्य मैले सिकेको छु। १३  किनकि जसले मलाई शक्ति दिनुहुन्छ, उहाँद्वारै म सबै कुरा गर्ने बल पाउँछु। १४  जे होस्, मेरो सङ्‌कष्टमा मलाई साथ दिएर तिमीहरूले राम्रो गऱ्यौ। १५  वास्तवमा, हे फिलिप्पीका भाइहरू हो, तिमीहरूलाई यो कुरा पनि थाह छ, कि मैले सुसमाचार सुनाउन सुरु गर्दा अनि म्यासिडोनियाबाट बिदा हुँदा तिमीहरूबाहेक अरू कुनै मण्डलीले न मलाई मदत गऱ्यो न त मेरो मदत नै स्वीकाऱ्यो, १६  किनकि थिस्सलोनिकामा पनि मेरो खाँचो टार्न तिमीहरूले एक चोटि मात्र होइन, तर दुई-दुई चोटि सहयोग पठायौ। १७  म तिमीहरूबाट कुनै उपहार पाउने तीव्र इच्छा त गर्दिनँ, बरु यस्तो फल प्राप्त गर्ने तीव्र इच्छा गर्दैछु, जसले गर्दा तिमीहरूको खातामा झन्‌-झन्‌ थपिंदै जाओस्। १८  तथापि, मसित सबै कुरा छ र प्रशस्त छ। तिमीहरूले इपाफ्रोडाइटसमार्फत पठाएका कुराहरू पाएर म तृप्त भएको छु। ती कुराहरू परमेश्वरको लागि ग्रहणयोग्य अनि मीठो बास्ना भएको यस्तो बलिदान हो, जसले उहाँलाई असाध्यै खुसी बनाउँछ। १९  यसको बदलामा मेरा परमेश्वरले आफ्नो प्रशस्त धनसम्पत्तिद्वारा तिमीहरूको सबै खाँचो ख्रीष्ट येशूमार्फत पूरा गरिदिनुहुनेछ। २०  हाम्रा परमेश्वर र बुबाको सदासर्वदा महिमा भइरहोस्। आमिन। २१  ख्रीष्ट येशूसित एकतामा भएका सबै पवित्र जनहरूलाई मेरो अभिवादन छ भनिदेओ। मसित भएका भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २२  सबै पवित्र जनहरू, तर अझ विशेष गरी, सम्राट्‌को* घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। २३  तिमीहरूले देखाउने मनोभावमाथि प्रभु येशू ख्रीष्टको असीम अनुग्रह रहोस्।

फुटनोटहरू

ग्रीकमा “सिजर।”