अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

फिलिप्पी ३:१-२१

 अन्तमा, हे मेरा भाइहरू हो, प्रभुमा आनन्द गरिरहो। तिमीहरूलाई फेरि एउटै कुरा लेखिरहन मलाई झर्को लाग्दैन तर यो तिमीहरूको सुरक्षाको लागि हो। २  कुकुरहरूदेखि होसियार बस, हानि पुऱ्याउनेहरूदेखि होसियार बस अनि शरीरको अङ्ग काट्नेहरूदेखि* होसियार बस। ३  किनकि साँच्चैको खतना* भएकाहरू त हामी हौं र हामीले परमेश्वरको पवित्र शक्तिद्वारा पवित्र सेवा चढाइरहेका छौं अनि शरीरको कुरामा भरोसा गर्दैनौं बरु ख्रीष्ट येशूमा घमन्ड गर्छौं। ४  यद्यपि, यदि कसैले शरीरको कुराको आधारमा भरोसा राख्छ भने म पनि राख्छु। यदि अरू कोही मानिसले आफूसित शरीरको कुरामा भरोसा राख्ने आधार छ भन्ठान्छ भने मसित झन्‌ धेरै छ, ५  किनकि म आठौं दिनमा खतना गरिएको, इस्राएली खानदानको, बिन्यामीनको कुलको, हिब्रू आमाबाबुबाट जन्मेको हिब्रू; व्यवस्थाको कुरा गर्ने हो भने एक जना फरिसी; ६  जोसको कुरा गर्ने हो भने मण्डलीलाई खेदो गर्ने; व्यवस्था पालन गरेर परमेश्वरको नजरमा असल ठहरिने सन्दर्भमा भन्ने हो भने आफूलाई निर्दोष साबित गरेको मानिस हुँ। ७  तैपनि जुन कुराहरू मेरो निम्ति फाइदाजनक थिए, ती कुराहरूलाई मैले ख्रीष्टको खातिर हानिकारक सम्झेको छु। ८  भन्ने नै हो भने, मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको उत्कृष्ट मोलसामु सबै कुरालाई म हानिको सम्झन्छु। उहाँको खातिर मैले सबै हानि बेहोरेको छु अनि ती कुराहरूलाई रद्दी ठान्छु, ताकि मैले ख्रीष्टलाई प्राप्त गर्न सकूँ ९  अनि उहाँसित एकतामा रहेको पाइन सकूँ, अर्थात्‌ व्यवस्था पालन गरेको कारण त होइन, बरु ख्रीष्टमाथिको विश्वासद्वारा परमेश्वरको नजरमा असल ठहरिन सकूँ। यसरी विश्वासको आधारमा असल ठहराउनुहुने परमेश्वर स्वयम् हुनुहुन्छ। १०  यसरी मैले ख्रीष्टबारे अनि पुनर्जीवित* गर्ने शक्तिबारे थाह पाउन सकूँ अनि उहाँको जस्तै दुःख झेल्न र उहाँको जस्तै मृत्यु भोग्न सकूँ, ११  ताकि मैले पनि कसै गरी सुरुको पुनर्जीवन पाउन सकिहाल्छु कि। १२  मैले यो इनाम पाइसकेको छु वा सर्वगुणी भइसकेको छु भनेर म ठान्दिनँ तर जुन कुराका लागि ख्रीष्ट येशूले मलाई रोज्नुभयो, त्यसलाई पक्रन सकूँ भनेर त्यसको पछि लाग्दैछु। १३  भाइहरू हो, मैले त्यो पक्रिसकें भनेर म सोच्दिनँ तर त्यसबारे एउटा कुरा छ: म पछाडिका कुराहरूलाई बिर्सेर अनि अगाडिका कुराहरूतिर लम्केर १४  ख्रीष्ट येशूमार्फत परमेश्वरबाट पाएको माथिको बोलावटको पुरस्कार पाउने लक्ष्यसम्म पुग्न त्यसको पछि लागिरहेको छु। १५  त्यसैले, हामीमध्ये धेरै जना परिपक्व भएकोले यस्तै मनोवृत्ति राखौं। यदि कुनै कुरामा तिमीहरूको मानसिक झुकाव अर्कै छ भने पनि परमेश्वरले तिमीहरूलाई माथिबाट दिइने मनोवृत्ति प्रकट गरिदिनुहुनेछ। १६  जे होस्, हामीले जुन हदसम्म प्रगति गरिसकेका छौं, त्यहीबमोजिम व्यवस्थित ढङ्गमा अघि बढिरहौं। १७  भाइहरू हो, तिमीहरू सबै एक भएर मेरो अनुकरण गर अनि हामीबाट तिमीहरूले पाएको उदाहरणबमोजिम चलिरहेकाहरूलाई ध्यान दिएर हेर। १८  किनकि यस्ता धेरै मानिस छन्‌, जसको विषयमा मैले बारम्बार लेख्ने गरेको थिएँ र अहिले पनि आँसु बगाउँदै तिनीहरूबारे लेख्छु, कि तिनीहरू ख्रीष्टको यातनाको खम्बाका* शत्रुहरू भएका छन्‌ १९  अनि तिनीहरूको अन्त विनाश हो, तिनीहरूको पेट नै तिनीहरूको ईश्वर हो, सरम मान्नुपर्ने कुरामा तिनीहरू गर्व गर्छन्‌ अनि पृथ्वीका कुराहरूमा तिनीहरू ध्यान दिन्छन्‌। २०  जहाँसम्म हाम्रो कुरा छ, हाम्रो नागरिकता स्वर्गको हो र त्यहीं हुनुहुने एक जना उद्धारक, प्रभु येशू ख्रीष्टलाई हामी उत्सुकतासाथ पर्खिरहेका छौं, २१  जससित सबै कुरालाई आफ्नो अधीनमा राख्ने शक्ति छ। यही शक्तिद्वारा उहाँले हाम्रो पतित शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेछ।

फुटनोटहरू

फिलि ३:२ * अर्थात्‌, “खतना गर्नेहरूदेखि।”
फिलि ३:३ लूका १:५९ को फुटनोट हेर्नुहोस्।
फिलि ३:१० * वा, “पुनरुत्थान।”
फिलि ३:१८ * अतिरिक्त लेख ६ हेर्नुहोस्।