अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

फिलिप्पी २:१-३०

 ख्रीष्टसित एक हुँदा पाइने प्रोत्साहन, प्रेमपूर्वक दिइने सान्त्वना, एक-अर्काप्रतिको चासो, कोमल स्नेह र करुणा तिमीहरूमाझ छ भने २  एउटै सोचाइका भएर, आपसमा प्रेम गरेर, एकै मनका भएर अनि एउटै विचार राखेर तिमीहरू मेरो आनन्द पूरा गरिदेओ। ३  वैमनस्यता वा फोस्रो घमन्डले केही नगर तर विनम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान, ४  तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ। ५  ख्रीष्ट येशूमा भएको यस्तो मनोभाव तिमीहरूले पनि राख। ६  परमेश्वरको स्वरूपमा भईकन पनि उहाँले अख्तियार हडप्ने अर्थात्‌ परमेश्वरको बराबरीमा पुग्ने सोचाइ कहिल्यै राख्नुभएन। ७  बरु उहाँले आफूलाई रित्याउनुभयो अनि दासजस्तो भएर मानिसको स्वरूपमा आउनुभयो। ८  त्यति मात्र होइन, मानिसको रूपमा देखापरेपछि उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो; हो, यातनाको खम्बाको* मृत्युसम्मै आज्ञाकारी हुनुभयो। ९  यही कारणले गर्दा पनि परमेश्वरले उहाँलाई अझ उच्च पद दिनुभयो र दयालु भई अरू सबै नामहरूभन्दा उत्तम नाम दिनुभयो, १०  ताकि स्वर्गमा भएका, पृथ्वीमा भएका र जमिनमुनि भएकाहरू हरेकले येशूको नाममा घुँडा टेकून्‌ ११  अनि येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्वीकारून्‌, जसद्वारा परमेश्वर, हाम्रा बुबाको महिमा हुनेछ। १२  हे मेरा प्रियहरू हो, तिमीहरूले सधैं आज्ञा पालन गर्दै आएका छौ। मेरो उपस्थितिमा मात्र होइन तर अहिले म अनुपस्थित हुँदा झनै तत्परतासाथ त्यसो गर्दैछौ। आफ्नो उद्धारको निम्ति पनि त्यसरी नै डर र कम्पसहित प्रयत्न गरिरहो, १३  किनकि तिमीहरूले इच्छा गर्न र त्यसअनुसार काम गर्न सकोस् भनेर परमेश्वरले नै आफूले चाहेअनुसार तिमीहरूभित्र काम गरिरहनुभएको छ। १४  सबै काम विनागनगन र विनावादविवाद गरिरहो, १५  ताकि तिमीहरू निर्दोष र सुधो बन्न अनि टेढो र भ्रष्ट पुस्ताबीच परमेश्वरको निष्खोट सन्तान बन्न सक, जुन पुस्तामाझ तिमीहरू यस संसारमा ज्योतिझैं चम्किरहेका छौ। १६  साथै, जीवनको वचनलाई बलियोसित पक्रिराख, ताकि म व्यर्थमा दगुरिनँ र मैले व्यर्थमा परिश्रम गरिनँ भनेर ख्रीष्टको दिनमा म रमाउन सकूँ। १७  तर विश्वासले गर्दा तिमीहरू जुन जनसेवा र त्यागहरू गर्न उत्प्रेरित भयौ, त्यसैका लागि म दाखमद्य-भेटीको रूपमा अर्पित हुनुपऱ्यो भने पनि म खुसी छु र तिमीहरू सबैसित रमाउनेछु। १८  अब त्यसरी नै तिमीहरू पनि खुसी होओ र मसित रमाओ। १९  जहाँसम्म मेरो कुरा छ, तिमीहरूको विषयमा सुनेर म हर्षित हुन सकूँ भनेर प्रभु येशूको इच्छा भए, तिमोथीलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दैछु, २०  किनकि तिनको जस्तो मनोभाव भएको अरू कोही मसित छैन, जसले तिमीहरूको साँचो चासो राख्नेछन्‌। २१  अरू सबै जना ख्रीष्ट येशूको कुरामा होइन, आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌। २२  तर तिनले आफ्नो विषयमा दिएको प्रमाण त तिमीहरूलाई थाहै छ। छोराले आफ्नो बुबालाई सघाएजस्तै सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे। २३  त्यसकारण, मलाई के हुने हो, त्यो थाह हुनेबित्तिकै तिमीहरूकहाँ तिनैलाई पठाउने आशा गर्दैछु। २४  अनि प्रभुको इच्छा भएमा, म आफै पनि चाँडै तिमीहरूकहाँ आइपुग्नेछु भनेर विश्वस्त छु। २५  तथापि, मेरा भाइ र सहकर्मी अनि सँगी सिपाही इपाफ्रोडाइटस, जो तिमीहरूको प्रतिनिधि र मलाई खाँचो पर्दाका निजी सेवक हुन्‌, तिनलाई तिमीहरूकहाँ पठाउनु म आवश्यक ठान्छु, २६  किनकि तिनी तिमीहरू सबैलाई भेट्न तीव्र इच्छा गर्दैछन्‌ अनि आफू बिरामी परेको खबर तिमीहरूले सुन्यौ रे भनेर निराश भएका छन्‌। २७  हो, वास्तवमा तिनी बिरामी परेर मर्नै आँटेका थिए तर परमेश्वरले तिनलाई कृपा देखाउनुभयो। साँच्चै भन्ने हो भने, मलाई शोकमाथि शोक नथपियोस् भनेर उहाँले तिनलाई मात्र होइन, मलाई पनि कृपा देखाउनुभयो। २८  त्यसकारण, तिनलाई भेटेर तिमीहरू फेरि रमाउन सक अनि मेरो शोक पनि अलि कम होस् भनेर तिनलाई तुरुन्तै पठाउन अझ हतारिएको छु। २९  त्यसकारण, प्रभुका जनहरूलाई जसरी स्वागत गरिन्छ, तिनलाई पनि त्यसरी नै खुसीसाथ स्वागत गर अनि त्यस्ता मानिसहरूलाई आदरणीय ठान, ३०  किनकि प्रभुको कामको खातिर आफ्नो ज्यानलाई* दाउमा लगाएर तिनी मृत्युको मुखैमा परेका थिए। हो, तिमीहरू यहाँ नहुँदाको अभाव अलिकता पनि महसुस हुन नदिन तिमीहरूको सट्टा तिनले मेरो सेवा गरे।

फुटनोटहरू

फिलि २:८ * अतिरिक्त लेख ६ हेर्नुहोस्।
फिलि २:३० * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।