सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित ८:१-४०

 तिनको हत्यामा शावलको समर्थन थियो। त्यस दिनदेखि यरूशलेममा भएको मण्डलीलाई अत्यन्तै खेदो गर्न थालियो; तब प्रेषितहरूबाहेक सबै जना यहूदिया र सामरियाका इलाकाभरि तितरबितर भए।  तर भक्त जनहरूले स्तिफनसको लास लगेर गाडे अनि उनीहरूले तिनको लागि असाध्यै शोक गरे।  तब शावलले मण्डलीसित निर्मम व्यवहार गर्न थाले। तिनी घर-घर पसेर पुरुष र स्त्रीहरूलाई घिस्याउँदै बाहिर ल्याउँथे अनि तिनीहरूलाई झ्यालखानामा हालिदिन्थे।  तर ती तितरबितर भएकाहरूले आफू जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँ परमेश्वरको वचनको सुसमाचार घोषणा गरे।  तिनीहरूमध्ये एक जना फिलिप थिए, जो सामरियाको एउटा सहरमा गए र त्यहाँ ख्रीष्टको विषयमा प्रचार गर्न थाले।  भीडले एकै मनको भएर फिलिपलाई ध्यान दिंदै तिनले गरिरहेका चमत्कारहरू हेऱ्यो अनि तिनको कुरा सुन्यो।  किनकि त्यहाँ यस्ता मानिसहरू धेरै थिए, जसमा दुष्ट स्वर्गदूतहरू बास गरेका थिए र ती ठूलो सोरले कराउँदै बाहिर निस्कन्थे। यसबाहेक, थुप्रै पक्षाघाती र लङ्‌गडा पनि सद्दे भए।  यसले गर्दा त्यस सहरमा ठूलो रमाहट भयो।  त्यस सहरमा सिमोन नाम गरेका एक जना मानिस पनि थिए, जो पहिले जादुगरी गरेर सामरियाका मानिसहरूलाई चकित पार्ने गर्थे अनि आफूलाई को-को न हुँ भन्थे। १०  अनि सानादेखि ठूला सबैले तिनको कुरा ध्यान दिएर सुन्थे र यसो भन्थे: “यो मानिस त महाशक्ति भन्न मिल्ने ‘परमेश्वरको शक्ति’ हो।” ११  त्यसैले उनीहरू तिनको कुरा ध्यान दिएर सुन्थे, किनकि तिनले आफ्नो जादुगरीद्वारा निकै समयदेखि उनीहरूलाई चकित पारिराखेका थिए। १२  तर जब फिलिपले परमेश्वरको राज्य र येशू ख्रीष्टको नाममा सुसमाचार सुनाए, तब तिनीहरूले विश्वास गरे अनि पुरुष तथा स्त्री दुवैले बप्तिस्मा गरे। १३  सिमोन आफैले पनि विश्वास गरे अनि बप्तिस्मा गरेपछि तिनी सधैं फिलिपसँगै हिंड्‌न थाले; चमत्कार अनि ठूलठूला शक्तिशाली कामहरू भइरहेको देखेर तिनी चकित भएका थिए। १४  जब सामरियाका मानिसहरूले परमेश्वरको वचन स्वीकारे भनी यरूशलेममा भएका प्रेषितहरूले सुने, तब पत्रुस र यूहन्नालाई तिनीहरूकहाँ पठाए; १५  अनि उनीहरू त्यहाँ गए र तिनीहरूले पनि पवित्र शक्ति पाऊन्‌ भनेर प्रार्थना गरे। १६  किनकि त्यतिबेलासम्म तिनीहरूमध्ये कसैले पनि पवित्र शक्ति पाएको थिएन; तिनीहरूले प्रभु येशूको नाममा मात्र बप्तिस्मा गरेका थिए। १७  तब उनीहरूले तिनीहरूमाथि आफ्नो हात राखे अनि तिनीहरूले पनि पवित्र शक्ति पाउन थाले। १८  अब प्रेषितहरूले हात राख्दा पवित्र शक्ति पाउन सकिने रहेछ भन्ने देखेपछि सिमोनले तिनीहरूलाई पैसा दिन खोज्दै १९  यसो भने: “मलाई पनि यो अख्तियार दिनुहोस्, ताकि जसमाथि म आफ्नो हात राख्छु, उसले पवित्र शक्ति पाओस्।” २०  तर पत्रुसले तिनलाई भने: “तिम्रो चाँदी तिमीसँगै नाश होस्, किनकि तिमीले परमेश्वरले सित्तैंमा दिनुहुने वरदान पैसा तिरेर किन्न सकिन्छ भन्ठान्यौ। २१  यसमा तिम्रो न कुनै भाग छ, न हिस्सा, किनकि परमेश्वरको नजरमा तिम्रो मन सोझो छैन। २२  त्यसैले, तिम्रो यस खराबीको लागि पश्‍चात्ताप गर अनि सम्भव भए, आफ्नो यस्तो कुविचारको लागि क्षमा पाऊँ भनी यहोवालाई व्यग्र प्रार्थना गर; २३  किनकि म देख्दैछु, तिमी विषालु पित्त र खराबीको पोको हौ।” २४  यो सुनेपछि सिमोनले भने: “भाइहरू हो, तपाईंहरूले भन्नुभएको कुनै कुरा ममाथि नआइपरोस् भनेर मेरो लागि यहोवासित उत्कट बिन्ती गरिदिनुहोस्।” २५  तब तिनीहरूले पूरै इलाकामा राम्ररी साक्षी दिए अनि यहोवाको वचन पनि बताए। त्यसपछि तिनीहरू यरूशलेम फर्के अनि बाटोमा सामरियाका थुप्रै गाउँमा सुसमाचार सुनाउँदै हिंडे। २६  तथापि, यहोवाको स्वर्गदूतले फिलिपलाई भने: “उठ र दक्षिणतिर त्यो बाटोमा जाऊ, जुन यरूशलेमबाट गाजातर्फ जान्छ।” (यो मरुभूमिको बाटो हो।) २७  तब फिलिप उठेर गए अनि हेर, तिनले एक जना इथियोपियाली नपुंसकलाई* भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका उच्च अख्तियारवाला थिए र महारानीको सारा सम्पत्तिको हेरविचार गर्ने जिम्मा उनलाई सुम्पिएको थियो। यरूशलेममा उपासना गरेर उनी २८  फर्किरहेका थिए अनि आफ्नो रथमा बसेर भविष्यवक्ता यशैयाको पुस्तक आवाज निकालेर पढिरहेका थिए। २९  तब पवित्र शक्तिले फिलिपलाई भन्यो: “रथ नजिक गएर त्यसको छेउ लाग्दै हिंड।” ३०  फिलिप रथसँगसँगै दौडे अनि त्यस नपुंसकले भविष्यवक्ता यशैयाको पुस्तक पढिरहेको सुने। तब तिनले सोधे: “के तपाईंले आफूले पढिरहेको कुरा साँच्चै बुझिरहनुभएको छ?” ३१  उनले जवाफ दिए: “कसैले नबुझाईकन म कसरी बुझ्न सक्छु र?” अनि उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्न आग्रह गरे। ३२  उनले आवाज निकालेर पढिरहेको धर्मशास्त्रको अंश यो थियो: “भेडालाई मार्न लगेझैं तिनलाई मार्न लगियो अनि ऊन कत्रनेको सामु पाठो चुप लागेझैं तिनले आफ्नो मुख खोलेनन्‌। ३३  तिनको अपमान हुँदा तिनको न्याय खोसियो। तिनको पुस्ताको विवरण कसले सुनाउने? किनकि तिनको जीवन पृथ्वीबाट खोसेर लगिएको छ।” ३४  तब नपुंसकले फिलिपलाई सोधे: “भविष्यवक्ताले यो कसको विषयमा भनेका हुन्‌, कृपया मलाई बताइदिनुहोस्। आफ्नै कि अरू कसैको विषयमा?” ३५  तब फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यो अंशबाट सुरु गर्दै येशूको सुसमाचार तिनलाई सुनाए। ३६  अब बाटोमा जाँदै गर्दा तिनीहरू पानी भएको ठाउँनेर आइपुगे। अनि ती नपुंसकले भने: “हेर्नुहोस्, यहाँ पानी रहेछ; बप्तिस्मा गर्नदेखि मलाई रोक्ने कुरा के छ र?” ३७  * ३८  तब उनले रथ रोक्ने आदेश दिए अनि फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा पसे; अनि फिलिपले उनलाई बप्तिस्मा गराए। ३९  जब तिनीहरू पानीबाट निस्के, तब यहोवाको पवित्र शक्तिले फिलिपलाई डोऱ्याएर तुरुन्तै त्यहाँबाट लगिहाल्यो। त्यसपछि ती नपुंसकले तिनलाई देखेनन्‌। अनि उनी रमाउँदै आफ्नो बाटो लागे। ४०  तर फिलिप भने अश्दोदमा भेटिए र सिजरिया नपुगुन्जेल उनले त्यस इलाकामा अनि सबै सहरहरूमा सुसमाचार सुनाउँदै हिंडे।

फुटनोटहरू

वा, “उच्च पदाधिकारीलाई।” यसले शारीरिक अवस्थालाई नभई ओहोदालाई बुझाउँछ।
विभिन्न प्रमुख पुराना ग्रीक पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “फिलिपले उनलाई भने: ‘यदि तपाईं आफ्नो सारा मनले विश्वास गर्नुहुन्छ भने सक्नुहुन्छ।’ उनले जवाफ दिए: ‘येशू ख्रीष्ट परमेश्वरको छोरा हुनुहुन्छ भनेर म विश्वास गर्छु।’ ”