सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित २८:१-३१

२८  हामी किनारामा सकुशल पुगेपछि त्यस टापुलाई माल्टा भनिंदोरहेछ भनेर थाह पायौं। २  अर्कै भाषा बोल्ने त्यहाँका मानिसहरूले हामीप्रति मानवताको नाताले असाधारण दया देखाए; पानी परिरहेको र जाडो भएकोले उनीहरूले आगो बालिदिए अनि हामी सबैलाई स्वागत गरे। ३  पावलले झिंजा बटुलेर आगोमा हाल्दा त्यसबाट आगोको रापले गर्दा एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेरियो। ४  तिनको हातमा विषालु सर्प झुन्डिरहेको देखेर अर्कै भाषा बोल्ने ती मानिसहरू आपसमा यसो भन्न थाले: “यो मानिस पक्कै हत्यारा हो। त्यसैले त समुद्रबाट सकुशल बचेर निस्के पनि इन्साफबाट उम्कन भने सकेन।” ५  तर तिनले हात झट्कारेर त्यो विषालु सर्पलाई आगोमा फ्याँके र तिनलाई केही हानि हुन पाएन। ६  तर उनीहरू भने तिनको हात सुनिएर आउँछ होला वा तिनी एक्कासि पछारिएर मर्छन्‌ होला भनेर सोचिरहेका थिए। निकै बेर पर्खंदा पनि तिनलाई केही हानि नभएको देखेर उनीहरूले आफ्नो विचार बदले र तिनी कुनै ईश्वर हुनुपर्छ भन्न थाले। ७  त्यस ठाउँको नजिकै पब्लियस नाम गरेका मानिसको जग्गा-जमिन थियो, जो त्यस टापुका मुखिया थिए। उनले हामीलाई स्वागत गरे अनि निकै माया गरेर तीन दिनसम्म हाम्रो सत्कार गरे। ८  पब्लियसका बुबा ज्वरो र आउँले थला परेका थिए। त्यसैले पावल उनीकहाँ गएर प्रार्थना गरे अनि त्यसपछि उनीमाथि आफ्नो हात राखेर उनलाई निको पारे। ९  यो घटना भएपछि त्यस टापुका अरू बिरामी मानिसहरू पनि तिनीकहाँ आउन थाले र उनीहरू निको भए। १०  अनि हामीलाई थुप्रै उपहार दिएर उनीहरूले हाम्रो सम्मान गरे। साथै, हामी समुद्री यात्रामा निस्कन लाग्दा हामीलाई चाहिने सरसामानहरू पनि प्रशस्त ल्याए। ११  तीन महिनापछि हामी एउटा जहाजमा चढ्यौं, जुन जहाज अलेक्जेन्ड्रियाबाट आएर हिउँद काट्न त्यही टापुमा रोकिएको थियो र त्यसको अघिल्लो भागमा “ज्युसका छोराहरूको” प्रतिमा थियो। १२  अनि हामी सिराक्युसको बन्दरगाहमा पुगेर तीन दिन त्यहाँ बस्यौं १३  र त्यहाँबाट घुमेर रेगियम पुग्यौं। त्यसको एक दिनपछि दक्षिणी बतास चल्यो र दोस्रो दिनमा हामी पटिओली पुग्यौं। १४  त्यहाँ हामीले भाइहरू भेट्यौं, जसले हामीलाई उनीहरूसँग सात दिन बस्न आग्रह गरे। यसरी हामी रोमको नजिक पुग्यौं। १५  हामी आउँदै गरेको खबर पाएपछि हामीलाई भेट्न त्यहाँका भाइहरू तीन पाटी भन्ने ठाउँसम्म आए अनि कोही-कोहीचाहिं अप्पियसको बजारसम्मै आइपुगे। उनीहरूलाई देखेपछि पावलले परमेश्वरलाई धन्यवाद दिए र हौसला पाए। १६  अन्तमा, हामी रोम पसेपछि पावलले छुट्टै बस्ने अनुमति पाए अनि तिनलाई पहरा दिन एक जना सिपाही खटाइयो। १७  तीन दिनपछि तिनले यहूदीहरूका गण्यमान्य मानिसहरूलाई एकै ठाउँमा बोलाए। उनीहरू भेला भएपछि तिनले यसो भन्न थाले: “भाइहरू हो, मैले मानिसहरूविरुद्ध वा हाम्रा पुर्खाहरूको रीतिथितिविपरीत केही नगरे तापनि मलाई यरूशलेममा कैदी बनाएर रोमीहरूको हातमा सुम्पिइयो। १८  केरकार गरेपछि उनीहरूले मलाई छोड्न चाहेका थिए, किनकि मैले मृत्युदण्ड पाउन लायकको केही काम गरेको थिइनँ। १९  तैपनि यहूदीहरूले मेरो छुटकाराविरुद्ध बोलिरहेको हुनाले सम्राट्लाई* अपिल गर्न म बाध्य भएँ तर यसरी आफ्नै जातिलाई दोष लगाउन खोजेको त होइन। २०  भनौं भने, तपाईंहरूसित भेट्न र कुरा गर्न पाऊँ भनेर मैले बिन्ती गर्नुको कारण यही हो, किनकि इस्राएलको आशाको खातिर म साङ्लाले बाँधिएको छु।” २१  उनीहरूले तिनलाई भने: “तपाईंको विषयमा हामीले यहूदियाबाट कुनै पत्र पाएका छैनौं, न त यहाँ आइपुगेका भाइहरूमध्ये कसैले तपाईंको विषयमा खबर गरेको वा केही खराब कुरा बताएको छ। २२  तर हामीलाई लाग्छ, तपाईंको विचार के छ, सो तपाईंबाटै सुन्नु उचित हुन्छ, किनकि हामीलाई थाह भएसम्म जताततै मानिसहरू यस गुटविरुद्ध बोल्छन्‌।” २३  उनीहरूले तिनीसित एक दिन तोके र तिनको डेरामा पहिलेभन्दा धेरै जना भेला भए। तिनले उनीहरूलाई परमेश्वरको राज्यको विषयमा राम्ररी साक्षी दिए अनि मोशाको व्यवस्था र भविष्यवक्ताहरूको पुस्तकबाट येशूको विषयमा चित्तबुझ्दो तर्क दिएर उनीहरूलाई मनाए। यसरी तिनले बिहानदेखि बेलुकीसम्मै उनीहरूसित कुरा गरे। २४  तिनले भनेका कुराहरूमा कतिपयले विश्वास गर्न थाले तर अरूले भने गरेनन्‌। २५  आपसमा कुरा बाझिएकोले उनीहरू त्यहाँबाट जान लागे। तब पावलले अझै यो एउटा कुरा भने: “पवित्र शक्तिले भविष्यवक्ता यशैयामार्फत तपाईंहरूका पुर्खाहरूलाई यसरी ठीकै भनेको थियो, २६  ‘यी मानिसहरूकहाँ गएर भन: “सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ। २७  किनकि यी मानिसहरूको मन बोधो भएको छ र तिनीहरूको कान बाक्लो भएको छ अनि तिनीहरूले आफ्नो आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्नो आँखाले देख्नेथिए, कानले सुन्नेथिए, बुझेर मनमा लिनेथिए र मकहाँ फर्केर आउनेथिए अनि म तिनीहरूलाई निको पार्नेथिएँ।” ’ २८  त्यसैले तपाईंहरूलाई यो कुरा थाह होस्, परमेश्वरले जुन माध्यमद्वारा उद्धार गर्नुहुन्छ, त्यससित सम्बन्धित सन्देश अन्यजातिहरूकहाँ पठाइएको छ र तिनीहरूले त्यो पक्कै सुन्नेछन्‌।” २९  * — ३०  तब तिनले पूरा दुई वर्ष आफ्नै डेरामा बिताए। तिनले आफूकहाँ आउनेजति सबैलाई न्यानो स्वागत गर्थे ३१  अनि उनीहरूलाई परमेश्वरको राज्यको विषयमा प्रचार गर्थे र निर्धक्क भई साहसका साथ प्रभु येशू ख्रीष्टको विषयमा विनारोकटोक सिकाउँथे।

फुटनोटहरू

प्रे २८:१९ * ग्रीकमा “सिजर।”
प्रे २८:२९ * विभिन्न प्रमुख पुराना युनानी पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “तिनले यी कुरा भनेपछि यहूदीहरू आपसमा धेरै वाद-विवाद गर्दै त्यहाँबाट गए।”