सीधै सामग्रीमा जाने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल | पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित २४:१-२७

२४  पाँच दिनपछि केही धर्म-गुरु र तर्तुल्लस नाम गरेका अधिवक्तासित प्रधान पुजारी हननिया तल ओर्ले र राज्यपालसामु पावलविरुद्ध मुद्दा हाले।  जब तिनीहरूले तर्तुल्लसलाई बोल्ने इशारा गरे, तब उनले यसो भन्दै पावललाई आरोप लगाउन थाले: “हे महामहिम फेलिक्स, हजुरको कृपाले गर्दा हामीले ठूलो शान्ति अनुभव गरेका छौं र हजुरको दूरदर्शिताको परिणामस्वरूप यस राष्ट्रमा सुधारहरू भइरहेका छन्‌।  यसको फाइदा हामीले हरबखत अनि हरठाउँमा अनुभव गरिरहेका छौं, जसको लागि हामी हजुरप्रति अत्यन्तै आभारी छौं।  तर म हजुरको धेरै समय लिन चाहन्नँ; त्यसैले हजुरले आफ्नो थोरै समय दिएर हाम्रो कुरा दयापूर्वक सुनिदिन म बिन्ती बिसाउँछु।  यो मानिस समस्याको जड हो; यसले पृथ्वीभरि रहेका यहूदीहरूलाई विद्रोह गर्न उक्साउँदै हिंडेको हामीले पायौं। अनि यो नासरी गुटको नाइके हो  र यसले मन्दिरलाई पनि बिटुलो पार्ने दुष्प्रयास गऱ्यो। त्यसकारण हामीले यसलाई समात्यौं।  *  अब हजुर आफैले यसलाई केरकार गरेर हामीले यसमाथि लगाएका यी सबै आरोपहरूबारे जानकारी लिन सक्नुहुन्छ।”  उनले भनेको कुरामा सहमति जनाउँदै यहूदीहरूले पनि पावलविरुद्ध बोल्न थाले। १०  अनि राज्यपालले मुन्टो हल्लाएर बोल्ने इशारा गरेपछि पावलले भने: “धेरै वर्षदेखि हजुर यस जातिको न्यायाधीश हुनुहुन्छ भनेर मलाई थाह छ; त्यसैले ममाथि लगाइएका अभियोगहरूको खण्डन गर्न म सहर्ष तयार भएको छु, ११  हजुर आफैले पनि यो पत्ता लगाउन सक्नुहुन्छ, कि उपासना गर्न म यरूशलेम उक्लिएको बाह्र दिनभन्दा बढी भएको छैन, १२  अनि यिनीहरूले मलाई न मन्दिरमा कसैसित वाद-विवाद गरिरहेको फेला पारेका हुन्‌ न त सभाघरहरूमा वा सहरमा हूलदङ्‌गा गरिरहेको नै फेला पारेका हुन्‌। १३  न यिनीहरूले मलाई अहिले जे-जे आरोप लगाउँदैछन्‌, त्यसको प्रमाण नै हजुरलाई दिन सक्छन्‌। १४  तर हजुरसामु म यो कुरा स्वीकार्छु, कि जुन कुरालाई यिनीहरू ‘गुट’ भन्छन्‌, त्यहीबमोजिम मेरा पुर्खाहरूको परमेश्वरलाई म पवित्र सेवा चढाउँदैछु, किनकि मोशाको व्यवस्थामा दिइएका र भविष्यवक्ताहरूको पुस्तकमा लेखिएका सबै कुराहरूमा म विश्वास गर्छु। १५  अनि परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌ भनेर यी मानिसहरूले जस्तै मैले पनि परमेश्वरमा आशा राखेको छु। १६  त्यसकारण परमेश्वर र मानिसहरूविरुद्ध कुनै खराबी नगरुँ भनेर आफ्नो अन्तस्करण सफा राख्न म हरबखत प्रयास गर्दैछु। १७  मेरो आफ्नै जातिका मानिसहरूलाई दान दिन र भेटी चढाउन धेरै वर्षपछि म आएँ। १८  जब म यसो गर्दै थिएँ, यिनीहरूले मलाई शुद्धीकरणको विधिअनुसार शुद्ध भइसकेपछि मन्दिरमा फेला पारेका हुन्‌ तर कुनै भीडसित वा होहल्ला मच्चाइरहेको बेला होइन। अनि त्यहाँ एसिया प्रान्तका केही यहूदीहरू पनि थिए। १९  यदि तिनीहरूसित मेरो विरुद्धमा भन्नुपर्ने केही कुरा भएको भए तिनीहरू आफै हजुरसामु उपस्थिति भएर मलाई आरोप लगाउनुपर्ने थियो। २०  होइन भने, म यहूदी न्यायपरिषद्‌सामु खडा हुँदा मेरो के दोष भेट्टाइयो, यहाँ उपस्थित भएकाहरूले नै भनून्‌। २१  ‘मरिसकेका मानिसहरू पुनर्जीवित हुनेछन्‌ भनेर मैले विश्वास गरेको हुनाले आज मेरो न्याय हुँदैछ!’ भनी तिनीहरूसामु खडा भएर मैले ठूलो सोरमा भनेको थिएँ। यसबाहेक अरू कुनै कुरामा यिनीहरूले मलाई दोष लगाउन सक्दैनन्‌।” २२  त्यस मार्गबारे फेलिक्सलाई राम्ररी थाह भएको हुनाले उनले यसो भन्दै ती मानिसहरूलाई पन्छयाउन थाले: “सेनापति लायसिअस तल आएपछि म तिमीहरूको मुद्दा छिनोफानो गरिदिउँला।” २३  अनि पावललाई पहरा दिएर राखे तापनि ज्यादै कडिकडाउ नगर्नू अनि तिनका मानिसहरूमध्ये कसैले तिनको सेवा-सुसार गर्न चाहे भने कुनै रोकटोक नगर्नू भनेर उनले सैनिक अफिसरलाई आदेश दिए। २४  केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लासित आए, जो यहूदी थिइन्‌। अनि उनले पावललाई बोलाउन लगाएर ख्रीष्ट येशूमाथि विश्वास गर्ने विषयमा सुने। २५  तर जब तिनले परमेश्वरको स्तरबमोजिमको असल काम, आत्मसंयम र आउँदै गरेको न्यायको विषयमा बताए, तब फेलिक्स डराए र यसो भने: “अहिलेलाई तिमी जाऊ, पछि मौका मिल्यो भने फेरि तिमीलाई बोलाउन पठाउँला।” २६  साथै, उनले पावलबाट केही पैसा पाइहाल्छु कि भन्ने आशा पनि गरेका थिए। त्यसैले उनी तिनलाई घरीघरी बोलाउँथे र तिनीसित कुराकानी गर्थे। २७  तर दुई वर्ष बितेपछि, फेलिक्सको ठाउँमा पोर्सिअस फेस्तस आए। फेलिक्स यहूदीहरूलाई खुसी पार्न चाहन्थे; त्यसैले उनले पावललाई कैदमै छोडेर गए।

फुटनोटहरू

विभिन्न प्रमुख पुराना ग्रीक पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “र हाम्रो व्यवस्थाअनुसार न्याय गर्न चाहन्थ्यौं। (७) तर सेनापति लायसिअस आएर त्यसलाई जबरजस्ती हाम्रो हातबाट खोसेर लैजानुभयो (८) र यसका आरोपकहरूलाई हजुरकहाँ हाजिर हुने आदेश दिनुभयो।”