अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १९:१-४१

१९  अपोल्लस कोरिन्थमै भएको बेला पावल तटवर्ती इलाकाबाट भित्र पर्ने ठाउँहरू हुँदै एफिसस झरे र त्यहाँ तिनले केही चेलाहरूलाई भेटे। २  तिनले उनीहरूलाई सोधे: “येशूको अनुयायी बन्दा के तपाईंहरूले पवित्र शक्ति पाउनुभयो?” उनीहरूले जवाफ दिए: “अहँ, पाएनौं। अनि पवित्र शक्तिबारे हामीले कहिल्यै सुनेका पनि छैनौं।” ३  तब तिनले भने: “त्यसोभए, तपाईंहरूले कुन किसिमको बप्तिस्मा गर्नुभयो त?” उनीहरूले जवाफ दिए: “यूहन्नाले सिकाउने गरेको चाहिं।” ४  पावलले भने: “यूहन्नाले त पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न पो प्रचार गरे अनि आफूपछि आउन लागेको जन अर्थात्‌ येशूमाथि विश्वास गर्नू भनी मानिसहरूलाई बताए।” ५  यो कुरा सुनेर उनीहरूले प्रभु येशूको नाममा बप्तिस्मा गरे। ६  अनि पावलले उनीहरूमाथि हात राख्नेबित्तिकै पवित्र शक्ति उनीहरूमाथि आयो र उनीहरूले विभिन्न भाषाहरूमा बोल्नुका साथै भविष्यवाणी गर्न थाले। ७  उनीहरू जम्माजम्मी बाह्र जना थिए। ८  त्यसपछि सभाघरभित्र पसेर परमेश्वरको राज्यको विषयमा साहसका साथ भाषण दिंदै अनि मानिसहरूलाई मनाउँदै तिनले तीन महिना बिताए। ९  तर कसै-कसैले आफ्नो मन कठोर बनाएर तिनको कुरा पत्याउन मानेनन्‌ अनि मानिसहरूसामु त्यस मार्गको* बदनाम गरे। त्यसैले उनीहरूदेखि तिनी अलग भए र चेलाहरूलाई पनि उनीहरूदेखि अलग राखे। अनि तिनी हरेक दिन टिरान्नसको पाठशालाको सभाकक्षमा भाषण दिन्थे। १०  तिनले दुई वर्षसम्म यसै गरे, जसले गर्दा के यहूदी के ग्रीक, एसिया प्रान्तका सबै बासिन्दाहरूले प्रभुको वचन सुने। ११  अनि परमेश्वरले पावलमार्फत असामान्य शक्तिशाली कामहरू गरिरहनुभयो; १२  यहाँसम्म कि, तिनले लगाइरहेको लुगा वा रुमाल लगेर छुवाउँदा मात्र पनि बिरामीहरू निको हुन्थे र दुष्ट स्वर्गदूतहरू निस्कन्थे। १३  त्यतिखेर केही यहूदीहरू ठाउँ-ठाउँमा डुल्दै अनि दुष्ट स्वर्गदूतहरूलाई निकाल्दै हिंडिरहेका थिए। प्रभु येशूको नाम लिएर तिनीहरूले पनि यसो भन्दै दुष्ट स्वर्गदूतहरूलाई धपाउन खोजे: “पावलले प्रचार गर्ने गरेको येशूको नाममा म तँलाई हुकुम गर्छु।” १४  स्केवा नाम गरेको यहूदी मुख्य पुजारीका सात जना छोराले त्यसै गरिरहेका थिए। १५  तर दुष्ट स्वर्गदूतले तिनीहरूलाई यस्तो जवाफ फर्कायो: “म येशूलाई चिन्छु अनि पावललाई पनि चिन्छु तर तिमीहरू को हौ?” १६  तब त्यो दुष्ट स्वर्गदूत बास गरेको मानिसले तिनीहरूलाई झम्ट्यो र पालैसित सातै जनालाई न्याक्यो। तब जीउभरि घावैघाव लिएर तिनीहरू त्यस घरबाट नाङ्गै भागे। १७  यो कुरा एफिससमा हुनेजति सबै यहूदी अनि ग्रीकहरूलाई थाह भयो र तिनीहरूमा डर छायो। साथै, प्रभु येशूको नाम पनि महिमित हुँदै गयो। १८  अब येशूका अनुयायी बनिसकेका थुप्रै मानिस आउँथे र आफ्ना पापहरू खुलेआम स्वीकार्थे अनि आफूले गरेका खराब कामहरू बताउँथे। १९  हुन पनि, पहिले-पहिले जादुगरी गर्ने थुप्रै मानिसले आफ्ना पुस्तकहरू ल्याए अनि सबैसामु ती जलाए। अनि तिनीहरूले त्यसको मोल निकाल्दा पचास हजार चाँदीको टुक्रा बराबर पाए। २०  यसरी यहोवाको वचन शक्तिशाली ढङ्गमा बढ्दै अनि प्रबल हुँदै गयो। २१  अब यी सबै कुरा भइसकेपछि पावलले म्यासिडोनिया अनि अखैया हुँदै यरूशलेम जाने निधो गरे अनि भने: “त्यहाँ पुगेपछि जसरी भए पनि म रोम जानै पर्छ।” २२  त्यसैले तिनले आफ्नो सेवा गर्ने मानिसहरूमध्ये दुई जनालाई अर्थात्‌ तिमोथी र इरास्तसलाई म्यासिडोनिया पठाए तर आफूचाहिं केही समय एसिया प्रान्तमै बसे। २३  त्यही दौडान त्यस मार्गलाई लिएर मानिसहरूबीच निकै खैलाबैला मच्चियो। २४  डेमेत्रियस नाम गरेको सुनारले अर्तिमिस* देवीको मन्दिरको चाँदीको प्रतिमूर्ति बनाउन लगाएर कारिगरहरूको निकै आम्दानी गराइरहेका थिए। २५  तब तिनले उनीहरूलाई अनि अरू कारिगरहरूलाई भेला गरेर यसो भने: “साथीहरू हो, यो व्यापारले गर्दा हाम्रो कत्ति फलिफाप भइरहेको छ, त्यो त तपाईंहरूलाई थाहै छ। २६  तर हातले बनाइएका कुराहरू ईश्वर होइनन्‌ भनेर त्यो पावलले यहाँ एफिससमा मात्र होइन, एसिया प्रान्तका लगभग सबै इलाकाहरूमा भीडका भीड मानिसहरूलाई भड्काउँदै कसरी अर्कै मत मान्न लगाइरहेको छ, त्यो पनि तपाईंहरूले देख्नु अनि सुन्नुभएकै छ। २७  त्यसले गर्दा हाम्रो पेसाको बदनाम हुने मात्र होइन, तर महान्‌ देवी अर्तिमिसको मन्दिरको सान घट्ने अनि एसिया प्रान्तका सबै इलाका र सारा संसारले पुज्ने हाम्री देवीको वैभव पनि धूलोमा मिल्ने खतरा देखिएको छ।” २८  यो सुनेर मानिसहरू रिसले चूर भए अनि यसो भन्दै नारा लगाउन थाले: “एफिसीहरूको महान्‌ देवी अर्तिमिसको जय!” २९  तब पूरै सहरभरि हूलदङ्गा भयो र एकै मनका भएर तिनीहरूले पावलका म्यासिडोनियाली सहयात्री, गायस र अरिस्तार्खसलाई जबरजस्ती रङ्गशालामा लगे। ३०  पावल रङ्गशाला भित्र पसेर भीडसामु जान चाहन्थे तर चेलाहरूले तिनलाई जान दिएनन्‌। ३१  तिनीप्रति मित्रभाव राख्ने खेलकूद तथा उत्सवका केही आयोजकहरूले समेत खबर पठाएर रङ्गशालामा आफ्नो ज्यानको खतरा नमोल्न तिनलाई बिन्ती गरे। ३२  तर वास्तवमा के भइरहेको थियो भने, एक जना एक थरी, अरूचाहिं अर्कै थरी नारा लगाइरहेका थिए; किनकि पूरै भीड गोलमालमा परेको थियो अनि तिनीहरूमध्ये धेरैलाई त आफू के कामले भेला भएको हो, त्योसमेत थाह थिएन। ३३  त्यसैले तिनीहरूले अलेक्जेन्डरलाई भीडबाट तानेर निकाले अनि यहूदीहरूले ठेल्दै तिनलाई अगाडि पुऱ्याए। तब अलेक्जेन्डरले हातले इशारा गर्दै मानिसहरूसामु आफ्नो सफाइ पेस गर्ने इच्छा जाहेर गरे। ३४  जब तिनी यहूदी पो रहेछन्‌ भनेर तिनीहरूले थाह पाए, तब सबैले एकैचोटि सोर उचालेर दुई घण्टासम्म “एफिसीहरूको महान्‌ देवी अर्तिमिसको जय!” भन्दै नारा लगाए। ३५  अन्तमा नगरपिताले बल्लतल्ल भीडलाई शान्त पारे अनि भने: “हे एफिससका बासिन्दाहरू हो, एफिसस सहर महान्‌ देवी अर्तिमिसको मन्दिरका साथै आकाशबाट खसेको मूर्तिको रखवाला हो भनेर थाह नहुने मानिस को होला र? ३६  यो कुरामा कसैले विवाद गर्न नसक्ने भएकोले, शान्त हुनुहोस् अनि आवेशमा आएर केही नगर्नुहोस्। ३७  किनकि तपाईंहरूले ल्याउनुभएका यी मानिसहरू न मन्दिरका लुटेराहरू हुन्‌ न त हाम्री देवीका निन्दकहरू नै हुन्‌। ३८  यदि डेमेत्रियस र तिनका कारिगरहरूको कसैसित झगडा परेको छ भने त्यसको लागि अदालत अनि प्रान्तीय राज्यपालहरू छँदैछन्‌; त्यहीं गएर तिनीहरूले आफ्नो झगडाको छिनोफानो गरून्‌। ३९  तर यदि तपाईंहरू अरू नै कुरा खोज्दै हुनुहुन्छ भने त्यसको फैसला नियमित सभाबाटै हुनुपर्छ। ४०  आजको यो घटनाले गर्दा हामीमाथि विद्रोहको आरोप लाग्ने खतरा साँच्चै आइपरेको छ, किनकि यसरी मानिसहरू भेला पारेर हूलदङ्गा मच्चाउने कुनै कारण हामीसित छैन।” ४१  यति भनेर तिनले भीडलाई बिदा गरे।

फुटनोटहरू

प्रे १९:९ * अर्थात्‌, “ख्रीष्टियन मार्गको।”
प्रे १९:२४ * वा, “डायना।”