अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १८:१-२८

१८  त्यसपछि पावल एथेन्स छोडेर कोरिन्थ गए। २  त्यहाँ तिनले अक्वीला नाम गरेका एक जना यहूदीलाई भेटे। उनी पोन्टसका रैथाने थिए अनि क्लौडियसले सबै यहूदीहरूलाई रोम छाड्ने हुकुम दिएकोले उनी र उनकी पत्नी प्रिस्किला भर्खरै मात्र इटालीबाट आएका थिए। तब तिनी उनीहरूकहाँ गए ३  र एउटै पेसा भएकोले उनीहरूको घरमा बसेर सँगै काम गरे, किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो। ४  तर तिनले हरेक विश्राम-दिनमा सभाघरमा भाषण दिन्थे अनि यहूदी र ग्रीकहरूलाई मनाउँथे। ५  सिलास र तिमोथी म्यासिडोनियाबाट आएपछि पावल वचन प्रचार गर्नमा व्यस्त भए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने प्रमाण दिन यहूदीहरूलाई साक्षी दिन थाले। ६  तर उनीहरूले विरोध गर्न र दुर्वचन बोल्न नछोडेपछि तिनले आफ्नो लुगा टकटकाएर* उनीहरूलाई भने: “तपाईंहरूको रगत तपाईंहरूकै थाप्लोमा परोस्। म निर्दोष छु। अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।” ७  त्यसैले तिनी त्यहाँबाट टाइटस जस्तस नाम गरेको मानिसको घरमा गए। उनी परमेश्वरका उपासक थिए र उनको घर सभाघरसँगै जोडिएको थियो। ८  सभाघरका पदाधिकारी क्रिस्पसले प्रभुमा विश्वास गरे अनि उनको घरमा भएकाहरू सबैले पनि त्यसै गरे। सुसमाचार सुन्ने कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्वास गर्न थाले अनि बप्तिस्मा गरे। ९  साथै, राती दर्शनमा प्रभुले पावललाई यसो भन्नुभयो: “नडराऊ। चुपचाप नबस, बरु निरन्तर बोलिरह, १०  किनकि म तिमीसित छु र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्याउन सक्नेछैन, किनकि यस सहरमा यस्ता धेरै मानिस छन्‌, जसले ममाथि विश्वास गर्न बाँकी नै छ।” ११  त्यसैले उनीहरूलाई परमेश्वरको वचन सिकाउँदै तिनी एक वर्ष छ महिना त्यहीं बसे। १२  गल्लियो अखैयाका प्रान्तीय राज्यपाल छँदा, यहूदीहरू एक मत भई पावलविरुद्ध खडा भए अनि तिनलाई न्यायआसनसामु लगेर १३  यसो भने: “अर्कै तरिकामा परमेश्वरको उपासना गर्न यसले मानिसहरूलाई कानुनविपरीत उक्साउँदैछ।” १४  तर पावलले केही भन्न आफ्नो मुख खोल्नै लाग्दा गल्लियोले यहूदीहरूलाई भने: “हे यहूदीहरू हो, यदि यिनले वास्तवमै केही गलत काम वा कुनै ठूलो अपराध गरेका भए धैर्य गरेर तिमीहरूको कुरा सुन्ने कारण मसित हुनेथियो। १५  तर यदि कुनै शब्द, नाम वा तिमीहरूको आफ्नै व्यवस्थाको विषयमा विवाद उठेको हो भने तिमीहरू आफै यसको छानबिन गर। म यस्ता कुराहरूको न्यायाधीश बन्न चाहन्नँ।” १६  यति भनेर तिनले उनीहरूलाई न्यायआसनसामुबाट धपाए। १७  त्यसैले उनीहरू सबैले सभाघरका पदाधिकारी सोस्थेनेसलाई समातेर न्यायआसनसामु पिट्न थाले। तर गल्लियोले त्यसको वास्तै गरेनन्‌। १८  अझै केही दिन त्यहाँ बसेपछि पावल भाइहरूसित बिदा भए अनि समुद्री यात्रा गरेर प्रिस्किला र अक्वीलाको साथमा सिरियातिर लागे। अनि सिनक्रिया पुगेर तिनले आफ्नो कपाल ठुटो पारे, किनकि तिनले भाकल गरेका थिए। १९  तब तिनीहरू एफिसस पुगे अनि उनीहरूलाई त्यहीं छोडेर तिनी सभाघरभित्र पसे र यहूदीहरूसित तर्क गर्न थाले। २०  यहूदीहरूले अझै केही समय त्यहीं बस्न अनुरोध गरे तापनि तिनले मानेनन्‌ २१  र तिनीहरूसित बिदा हुँदै यसो भने: “यहोवाको इच्छा भएमा म फेरि तपाईंहरूकहाँ आउनेछु।” त्यसपछि एफिससबाट जहाज चढेर २२  तिनी सिजरिया पुगे। अनि यरूशलेम उक्लेर मण्डलीलाई अभिवादन गरेपछि तिनी एन्टिओक झरे। २३  त्यहाँ केही समय बिताइसकेपछि त्यो ठाउँ छोडेर तिनी सबै चेलाहरूलाई सुदृढ पार्दै गलातिया र फ्रिजियाको इलाकाका विभिन्न ठाउँहरूमा गए। २४  तब अपोल्लस नाम गरेका एक जना यहूदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए। २५  तिनले यहोवाको मार्गको विषयमा मौखिक निर्देशन पाएका थिए र तिनी पवित्र शक्तिले भरिएर जोसिलो भई येशूको विषयमा ठीक-ठीक कुरा बोल्ने र सिकाउने गर्थे तर तिनलाई यूहन्नाले प्रचार गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो। २६  यी मानिस साहसी भई सभाघरमा बोल्न थाले। जब प्रिस्किला र अक्वीलाले तिनको कुरा सुने, तब आफूकहाँ लगे र परमेश्वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए। २७  साथै, तिनले अखैया जाने मन गरेकोले तिनलाई न्यानो स्वागत गर्नू भनेर भाइहरूले त्यहाँका चेलाहरूलाई पत्र लेखे। त्यसैले त्यहाँ पुगेपछि, परमेश्वरको असीम अनुग्रहले गर्दा विश्वास गरेकाहरूलाई तिनले धेरै मदत गरे, २८  किनकि यहूदीहरू गलत हुन्‌ भनी तिनले साहसी भई खुलेआम प्रमाण दिए अनि येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर धर्मशास्त्रबाट देखाए।

फुटनोटहरू

प्रे १८:६ * लुगा टकटकाउनुले आफू जिम्मेवारीबाट मुक्त भएको सङ्केत गर्छ।