अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १६:१-४०

१६  तब पावल यात्रा गर्दै डर्बी र लिस्त्रामा पनि आइपुगे। अनि हेर, त्यहाँ तिमोथी नाम गरेका एक जना चेला थिए। उनको आमा प्रभुमा विश्वास गर्ने यहूदी स्त्री थिइन्‌ तर उनको बुबा भने ग्रीक थिए। २  अनि लिस्त्रा र आइकोनियमका भाइहरूले उनको असाध्यै तारिफ गर्थे। ३  पावलले यिनलाई आफूसँगै लैजाने इच्छा व्यक्त गरे र ती ठाउँहरूमा भएका यहूदीहरूको कारण उनलाई आफूसँगै लगेर खतना गराए, किनकि उनका बुबा ग्रीक हुन्‌ भनेर सबैलाई थाह थियो। ४  तिनीहरू जुन-जुन सहर जान्थे, त्यहाँ-त्यहाँ यरूशलेमका प्रेषित र एल्डरहरूले गरेको फैसला सुनाएर ती पालन गर्नू भनी बताउँथे। ५  यसरी मण्डलीमा हुनेहरूको विश्वास बलियो हुँदै जानुका साथै उनीहरूको सङ्ख्या पनि दिनप्रतिदिन बढ्दै गयो। ६  त्यसपछि, तिनीहरू फ्रिजिया र गलातियाको इलाका हुँदै गए, किनकि पवित्र शक्तिले तिनीहरूलाई एसिया प्रान्तमा परमेश्वरको वचन प्रचार गर्न निषेध गरेको थियो। ७  साथै, माइसिया पुगेपछि तिनीहरूले बिथिनिया जाने प्रयास गरे तर येशूले पवित्र शक्तिद्वारा तिनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभएन। ८  त्यसैले तिनीहरू मिसिया हुँदै त्रोआस आइपुगे। ९  अनि राती पावलले एउटा दर्शन देखे: एक जना म्यासिडोनियाली पुरुष खडा भएर तिनलाई यस्तो बिन्ती गरिरहेका थिए: “म्यासिडोनिया आउनुहोस् र हामीलाई मदत गर्नुहोस्।” १०  पावलले दर्शन देख्नेबित्तिकै हामी म्यासिडोनियातिर लाग्यौं, किनकि उनीहरूलाई सुसमाचार सुनाउन परमेश्वरले हामीलाई बोलाउनुभएको हो भन्ने निष्कर्षमा हामी पुगेका थियौं। ११  त्यसैले हामी त्रोआसबाट जहाज चढेर बीचमा कतै नरोकी सीधै सामोथ्रेस गयौं र भोलिपल्ट नियापोलिस आइपुग्यौं। १२  अनि त्यहाँबाट फिलिप्पी गयौं। यो रोमी उपनिवेश र म्यासिडोनिया प्रान्तको प्रमुख सहर पनि हो। हामीले यहाँ केही दिन बितायौं। १३  अब विश्राम-दिनमा, सहरको ढोकाबाहिर निस्केर नदीको किनारामा गयौं, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ हुनुपर्छ भनी हामीले अनुमान लगाएका थियौं। हामी त्यहीं बस्यौं र त्यहाँ भेला भएका स्त्रीहरूसित कुरा गर्न थाल्यौं। १४  थिआटीरा सहरकी लिडिया नाम गरेकी एउटी स्त्रीले हाम्रो कुरा सुनिरहेकी थिइन्‌। उनी बैजनी वस्त्रको* व्यापारी थिइन्‌ र परमेश्वरको उपासना गर्थिन्‌। अनि पावलले भनिरहेका कुराहरू ध्यान दिएर सुनून्‌ भनेर यहोवाले उनको मन खोलिदिनुभयो। १५  उनी र उनको घरमा हुने सबैको बप्तिस्मा भएपछि उनले हामीलाई यसरी बिन्ती गरिन्‌: “यदि तपाईंहरू म यहोवाप्रति वफादार छु भनी सम्झनुहुन्छ भने कृपया मेरो घरमा आएर बस्नुहोस्।” अनि उनले कर गरेर हामीलाई आफ्नो घर लगिछाडिन्‌। १६  एक चोटि, प्रार्थना गर्ने ठाउँतिर गइरहेको बेला एउटी नोकर्नीसित हाम्रो भेट भयो। उसमा भावी बताउने दुष्ट स्वर्गदूत बास गरेको थियो र भावी बताएर उसले आफ्ना मालिकहरूको निम्ति निकै कमाइ गर्नेगर्थी। १७  पावल र हाम्रो पछि-पछि लागेर त्यो केटी यसो भन्दै चिच्याइरही: “यी मानिसहरू सर्वोच्च परमेश्वरका दास हुन्‌ र यिनीहरूले तिमीहरूलाई उद्धारको मार्गको सन्देश घोषणा गरिरहेका छन्‌।” १८  धेरै दिनसम्म उसले त्यसै गरिरही। अन्तमा वाक्क भएर फनक्क फर्कंदै पावलले त्यस दुष्ट स्वर्गदूतलाई भने: “येशू ख्रीष्टको नाममा म तिमीलाई आज्ञा गर्छु, त्यसबाट निस्किहाल।” अनि उत्तिखेरै त्यो दुष्ट स्वर्गदूत उसबाट निस्किहाल्यो। १९  अब आफ्नो कमाइ गर्ने बाटो बन्द भएको देखेपछि उसका मालिकहरूले पावल र सिलासलाई पक्रेर तिनीहरूलाई घिस्याउँदै बजारमा शासकहरूकहाँ पुऱ्याए। २०  अनि तिनीहरूलाई नगर प्रशासकहरूकहाँ लगेर भने: “यी मानिसहरू यहूदी हुन्‌ र यिनीहरूले हाम्रो सहरमा ठूलो खलबली मच्चाइरहेका छन्‌, २१  अनि हामी रोमीहरूले स्वीकार्न वा पालन गर्न उचित नहुने रीतिथिति सिकाइरहेका छन्‌।” २२  अनि भीड तिनीहरूमाथि जाइलाग्यो; त्यसपछि नगर प्रशासकहरूले तिनीहरूको लुगा च्यातिदिए र तिनीहरूलाई छडी लगाउने हुकुम गरे। २३  अनि पिट्नुसम्म पिटिसकेपछि तिनीहरूलाई झ्यालखानामा जाकिदिए र कडा सुरक्षाका साथ तिनीहरूको निगरानी गर्नू भनी जेलरलाई आदेश दिए। २४  आफूले यस्तो आदेश पाएको हुँदा जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा भित्रको खोरमा लगेर थुने अनि तिनीहरूको खुट्टा ठिंगुरोमा हालिदिए। २५  तर मध्यराततिर पावल र सिलास प्रार्थना गर्दै परमेश्वरको स्तुतिगान गाइरहेका थिए र अरू कैदीहरूले पनि सुनिरहेका थिए। २६  तब अचानक ठूलो भूकम्प भयो र झ्यालखानाको जग हल्लियो। यति मात्र होइन, एकाएक सबै ढोकाहरू खुले अनि सबैका बन्धन फुस्किए। २७  निद्राबाट झसङ्ग ब्यूँझिएका जेलरले झ्यालखानाका ढोकाहरू खुल्लै भएको देखेपछि सबै कैदी भागिसके होलान्‌ भन्ठाने। त्यसैले आफ्नो तरबार थुतेर आत्महत्या गर्ने सुर कसे। २८  तर ठूलो सोरले कराउँदै पावलले भने: “आफूलाई कुनै चोट नपुऱ्याउनुहोस्, किनकि हामी सबै जना यहीं छौं!” २९  तब बत्ती मागेर उनी हामफाल्दै भित्र आए अनि थरथर काम्दै पावल र सिलासको अगाडि घोप्टो परे। ३०  अनि तिनीहरूलाई बाहिर ल्याएर उनले भने: “हे हजुर, उद्धार पाउन मैले के गर्नुपर्छ?” ३१  तिनीहरूले जवाफ दिए: “प्रभु येशूमा विश्वास गर्नुहोस् अनि तपाईं र तपाईंको घरमा हुनेहरूको उद्धार हुनेछ।” ३२  अनि तिनीहरूले उनलाई र उनको घरमा हुनेहरू सबैलाई यहोवाको वचन सुनाए। ३३  उत्तिखेरै राती उनले तिनीहरूलाई लगेर तिनीहरूको घाउमा मलहमपट्टी लगाइदिए। त्यसपछि, उनले र उनको घरमा हुनेजति सबैले तुरुन्तै बप्तिस्मा गरे। ३४  साथै, उनले तिनीहरूलाई आफ्नो घरमा लगेर खाना खुवाए अनि आफूले परमेश्वरमाथि विश्वास गर्न पाएकोमा आफ्नो सारा घरपरिवारसँगै अत्यन्तै रमाए। ३५  तब उज्यालो भएपछि नगर प्रशासकहरूले आफ्ना अङ्गरक्षकहरूलाई यसो भन्न पठाए: “ती मानिसहरूलाई छोडिदिनू।” ३६  त्यसैले जेलरले उनीहरूको सन्देश सुनाउँदै यसो भने: “तपाईंहरू दुई जनालाई छोडिदिनू भन्ने खबर दिन नगर प्रशासकहरूले आफ्ना मानिसहरू पठाएका छन्‌। त्यसैले बाहिर निस्कनुहोस् र शान्तिसित आफ्नो बाटो लाग्नुहोस्।” ३७  तर पावलले उनीहरूलाई भने: “हामी रोमी नागरिकहरूलाई दोषी नठहराईकनै तिनीहरूले खुलमखुला पिटे र झ्यालखानामा हालिदिए; अनि के अहिलेचाहिं हामीलाई सुटुक्क निकाल्न खोज्दैछन्‌? अहँ, हामी त्यसरी जाँदैनौं! उनीहरू आफै आएर हामीलाई बाहिर निकालून्‌।” ३८  तब ती अङ्गरक्षकहरूले नगर प्रशासकहरूलाई यो कुरा सुनाइदिए। अनि यिनीहरू त रोमी नागरिकहरू पो रहेछन्‌ भन्ने सुनेर उनीहरू डराए। ३९  यसैले उनीहरू आएर तिनीहरूलाई बिन्ती गरे। अनि तिनीहरूलाई बाहिर ल्याएपछि सहर छोडेर जान आग्रह गरे। ४०  तर झ्यालखानाबाट बाहिर निस्केर तिनीहरू लिडियाको घर गए। त्यहाँ भाइहरूलाई देखेपछि उनीहरूलाई प्रोत्साहन दिए अनि आफ्नो बाटो लागे।

फुटनोटहरू

प्रे १६:१४ * वा, “बैजनी रङ्गको।”