अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १५:१-४१

१५  यहूदियाबाट केही मानिसहरू आएर भाइहरूलाई यसो भनेर सिकाउन थाले: “मोशाको व्यवस्थाअनुसार खतना नगरेसम्म तपाईंहरूको उद्धार हुन सक्दैन।” २  पावल र बर्णाबासको उनीहरूसित निकै मतभेद र बहस भएपछि यस विषयमा कुरा गर्न भाइहरूले पावल र बर्णाबासका साथै आफूहरूमध्येका अरू केही मानिसहरूलाई यरूशलेममा भएका प्रेषित र एल्डरहरूकहाँ पठाए। ३  त्यसैले मण्डलीले तिनीहरूलाई केही परसम्म पुऱ्याइसकेपछि, फोनिसिया र सामरिया हुँदै ती मानिसहरूले आफ्नो यात्रा जारी राखे। अनि अन्यजातिका मानिसहरूले गरेको धर्म परिवर्तनबारे सविस्तार सुनाए र यो सुनेर सबै भाइहरू असाध्यै रमाए। ४  तिनीहरू यरूशलेम पुग्दा मण्डलीले, प्रेषितहरूले अनि एल्डरहरूले न्यानो स्वागत गरे। अनि तिनीहरूले उनीहरूलाई आफूहरूमार्फत परमेश्वरले गर्नुभएका थुप्रै कामका विषयमा बताए। ५  तर फरिसी गुटका केही मानिसहरू, जसले प्रभुमा विश्वास गर्न थालेका थिए, उनीहरू आफू बसेको ठाउँबाट खडा भए र भने: “तिनीहरूको खतना गराउनुपर्छ अनि तिनीहरूलाई मोशाको व्यवस्था पालन गर्ने आदेश दिनुपर्छ।” ६  यस विषयमा छलफल गर्न प्रेषित र एल्डरहरू एकै ठाउँमा भेला भए। ७  निकै बहस भइसकेपछि, पत्रुस खडा भए र उनीहरूलाई भने: “भाइहरू हो, तपाईंहरूलाई थाहै छ, अन्यजातिका मानिसहरूले मेरो मुखबाट सुसमाचार सुनून्‌ र विश्वास गरून्‌ भनेर परमेश्वरले सुरुदेखि तपाईंहरूको माझबाट मलाई रोज्नुभयो। ८  अनि मनको कुरा जान्नुहुने परमेश्वरले हामीलाई जस्तै उनीहरूलाई पनि पवित्र शक्ति दिएर उनीहरूलाई रोजेको प्रमाण दिनुभयो। ९  हामी र उनीहरूबीच उहाँले कुनै भेदभाव गर्नुभएन तर विश्वासद्वारा उनीहरूको मन शुद्ध पार्नुभयो। १०  त्यसैले अब तपाईंहरू ती चेलाहरूको गर्दनमा किन यस्तो जुवा लादेर परमेश्वरको परीक्षा लिनुहुन्छ, जुन न हाम्रा पुर्खाहरूले बोक्न सके न त हामीले नै बोक्न सक्यौं? ११  बरु, प्रभु येशूको असीम अनुग्रहद्वारा उद्धार पाउनेछौं भनी हामी भरोसा गर्छौं अनि ती मानिसहरू पनि त्यसै गर्छन्‌।” १२  यो सुनेर सबै जना चुप लागे अनि परमेश्वरले आफूहरूमार्फत अन्यजातिहरूबीच गर्नुभएका थुप्रै चमत्कार अनि आश्चर्यजनक कार्यबारे बर्णाबास र पावलले बताउँदा उनीहरूले सुन्न थाले। १३  तिनीहरू बोल्न छोडेपछि याकूबले यसो भने: “भाइहरू हो, मेरो कुरा सुन्नुहोस्। १४  अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्न परमेश्वरले कसरी पहिलो चोटि तिनीहरूलाई ध्यान दिनुभयो भनेर शिमियोनले* विस्तृत रूपमा बताइसकेका छन्‌। १५  अनि भविष्यवक्ताहरूले बताएको कुरा पनि यससित मेल खान्छ, जस्तो लेखिएको छ, १६  ‘यी कुराहरूपछि म फर्कनेछु र दाऊदको भत्किएको बासस्थान पुनर्निर्माण गर्नेछु; त्यसको भग्नावशेषलाई पुनर्निर्माण गर्नेछु र त्यसलाई फेरि खडा गर्नेछु, १७  ताकि बाँकी रहेका मानिसहरूले सबै गैर-यहूदीहरूसित मिलेर जोडतोडले यहोवाको खोजी गर्न सकून्‌, जसको विषयमा यी सबै काम गर्ने यहोवा भन्नुहुन्छ, यी मेरो नामद्वारा पुकारिने मानिसहरू हुन्‌। १८  यो कुरा उहाँलाई पहिल्यैदेखि थाह थियो।’ १९  त्यसकारण मेरो निर्णय यो छ, परमेश्वरतर्फ फर्किरहेका अन्यजातिहरूलाई हामी दुःख नदेऔं, २०  बरु मूर्तिपूजाद्वारा अपवित्र भएका कुराहरू, अवैध यौनसम्बन्ध,* गला अँठ्याएर मारेको जनावरको मासु * र रगतबाट अलग रहनू भनेर लेखौं। २१  मोशाका पुस्तकहरूमा लेखिएका कुराहरू प्रचार गर्ने मानिसहरू प्राचीन समयदेखि नै सहरैपिच्छे छन्‌, किनकि हरेक विश्राम-दिनमा तिनीहरूले सभाघरहरूमा ठूलो सोरले यी पुस्तकहरू पढ्ने गर्छन्‌।” २२  तब भाइहरूमाझ अगुवाइ लिइरहेका बर्साबास भनिने यहूदा र सिलासलाई आफूहरूमध्येबाट रोजेर पावल र बर्णाबाससित एन्टिओक पठाउनु प्रेषित र एल्डरहरूलाई अनि सम्पूर्ण मण्डलीलाई उचित लाग्यो। २३  उनीहरूको हातमा तिनीहरूले यस्तो पत्र पठाए: “तपाईंका भाइहरू अर्थात्‌ प्रेषितहरू र एल्डरहरूको तर्फबाट एन्टिओक, सिरिया र सिलिसियाका गैर-यहूदी भाइहरूलाई अभिवादन! २४  हाम्रा केही मानिसहरूले तपाईंहरूलाई आफ्नो वचनद्वारा दुःख दिएर तपाईंहरूको पतन गराउन खोजेका छन्‌ भनेर हामीले सुन्यौं तर हामीले तिनीहरूलाई त्यसो गर्ने कुनै निर्देशन दिएका थिएनौं। २५  त्यसैले हाम्रो सर्वसम्मतिद्वारा केही भाइहरूलाई रोजेर हाम्रा प्रिय बर्णाबास र पावलसित तपाईंहरूकहाँ पठाउन हामीलाई उचित लाग्यो। २६  यी दुवैले हाम्रा प्रभु येशू ख्रीष्टको नामको खातिर आफ्नो ज्यानको* खतरा मोलेका छन्‌। २७  यस पत्रमा लेखिएका कुराहरू यहूदा र सिलासले पनि आफ्नो मुखैले बताऊन्‌ भनेर हामी तिनीहरूलाई पठाउँदैछौं। २८  यी आवश्यक कुराहरूबाहेक अरू थप बोझ तपाईंहरूलाई नबोकाउन पवित्र शक्ति र हामीलाई उचित लाग्यो: २९  मूर्तिलाई बलि चढाइएका थोकहरू, रगत, गला अँठ्याएर मारेको जनावरको मासु र अवैध यौनसम्बन्धबाट सधैं अलग रहनूहोस्। यी कुराहरूबाट अलग रहन होसियार हुनुभयो भने तपाईंहरूको कल्याण हुनेछ। तपाईंहरूको भलो होस्!” ३०  त्यसैले ती मानिसहरू बिदा भएर एन्टिओक झरे अनि थुप्रै चेलालाई भेला गरेर त्यो पत्र बुझाए। ३१  तब उनीहरूले त्यो पत्र पढे र त्यसबाट पाएको प्रोत्साहनले गर्दा रमाए। ३२  साथै, यहूदा र सिलास आफै पनि भविष्यवक्ताहरू भएकोले धेरै भाषण दिएर तिनीहरूले भाइहरूलाई प्रोत्साहन दिनुका साथै ढाडस दिए। ३३  यसरी भाइहरूसित केही समय बिताइसकेपछि बिदाबारी भएर तिनीहरू यरूशलेम फर्के। ३४  * ३५  तथापि, पावल र बर्णाबास भने एन्टिओकमै बसेर सिकाउन थाले र अरू धेरै जनासित मिलेर सुसमाचार अर्थात्‌ यहोवाको वचन प्रचार गरे। ३६  केही दिनपछि पावलले बर्णाबासलाई यसो भने: “आऊ, हामीले जुन-जुन सहरमा यहोवाको वचन प्रचार गरेका थियौं, त्यहाँ फेरि गएर भाइहरूलाई भेटौं र तिनीहरूको हालखबर बुझौं।” ३७  बर्णाबासले मर्कूस भनिने यूहन्नालाई पनि सँगै लैजाने निश्चय गरेका थिए। ३८  तर पावललाई भने उनलाई सँगै लैजानु ठीक लागेन, किनकि उनी तिनीहरूसित काममा नगई पाम्फिलियाबाट छुट्टिएर फर्केका थिए। ३९  यो कुरामा तिनीहरूबीच चर्को भनाभन भयो र तिनीहरू एक-अर्काबाट छुट्टिए। तब बर्णाबासले मर्कूसलाई आफूसित लगे अनि समुद्री यात्रा गरेर साइप्रसतिर लागे। ४०  पावलले भने सिलासलाई रोजे अनि भाइहरूले तिनीहरूमाथि यहोवाको असीम अनुग्रह रहोस् भनेर बिन्ती चढाएपछि तिनीहरू आफ्नो बाटो लागे। ४१  मण्डलीहरूलाई सुदृढ बनाउँदै तिनी सिरिया र सिलिसियाको इलाकाभरि गए।

फुटनोटहरू

प्रे १५:१४ * सिमोन (पत्रुस) नामको अर्को रूप।
प्रे १५:२० * अतिरिक्त लेख ४ हेर्नुहोस्।
प्रे १५:२० * वा, “रगत ननिथारेको जनावरको मासु।”
प्रे १५:२६ * ग्रीकमा पुस्खे। अतिरिक्त लेख ७क हेर्नुहोस्।
प्रे १५:३४ * विभिन्न प्रमुख पुराना ग्रीक पाण्डुलिपिहरूमा यो पद पाइँदैन; तर बाइबलका केही अनुवादहरूमा भने यस पदमा यस्तो लेखिएको छ: “तर सिलासलाई केही समय त्यहीं रहन असल लाग्यो; त्यसैले यहूदा एक्लै यरूशलेम फर्के।”