अशक्तता सेटिङ

भाषा रोज्ने

सीधै दोस्रो तहको मेनुमा जाने

सीधै विषयसूचीमा जाने

सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू

नेपाली

अनलाइन बाइबल

पवित्र बाइबल—नयाँ संसार अनुवाद

प्रेषित १२:१-२५

१२  त्यसैबेलातिर राजा हेरोदले* मण्डलीका कसै-कसैको खेदो गर्न थाले। २  उनले यूहन्नाको दाइ याकूबलाई तरबारले मारे। ३  यसबाट यहूदीहरू खुसी भएको देखेर उनी पत्रुसलाई पनि गिरफ्तार गर्न अघि सरे। (त्यतिबेला अखमिरा रोटीको चाड चलिरहेको थियो।) ४  हेरोदले तिनलाई पक्रेर झ्यालखानामा हाले अनि चार-चार जना सिपाहीको चार वटा समूह बनाएर पालैसित पहरा दिन खटाए, किनकि उनले निस्तार-चाड सिद्धिएपछि तिनलाई जनतासामु उभ्याउने विचार गरेका थिए। ५  त्यसैले पत्रुस झ्यालखानामै रहिरहे तर मण्डलीले तिनको लागि परमेश्वरलाई तनमनले प्रार्थना गरिरहेको थियो। ६  हेरोदले पत्रुसलाई जनतासामु उभ्याउन चाहेको अघिल्लो रात तिनी दुई जना सिपाहीको बीचमा सुतिरहेका थिए। तिनी दुइटा साङ्लोले बाँधिएका थिए अनि पहरेदारहरूले ढोकामा पहरा दिइरहेका थिए। ७  तर हेर, यहोवाका स्वर्गदूत तिनको छेवैमा उभिए अनि झ्यालखानाको त्यो कोठा उज्यालो भयो। पत्रुसको कोखामा थपथपाएर तिनलाई यसो भन्दै जगाए: “छिटो उठ!” अनि तिनको हातको साङ्लो खुस्कियो। ८  ती स्वर्गदूतले तिनलाई भने: “तयार होऊ र आफ्नो जुत्ताको फित्ता कस।” तिनले त्यसै गरे। फेरि उनले तिनलाई भने: “तिम्रो खास्टो ओढ र मेरो पछि-पछि आऊ।” ९  अनि तिनी बाहिर निस्के र उनको पछि-पछि लागे तर स्वर्गदूतले जे-जे गरिरहेका छन्‌, ती सबै साँच्चै भइरहेको हो कि होइन तिनलाई थाह थिएन। वास्तवमा, तिनले दर्शन देखिरहेको छु भन्ठानेका थिए। १०  अनि जब तिनीहरू पहिलो र दोस्रो सेन्टरी पार गरेर सहरतिर जाने फलामे ढोकामा पुगे, तब त्यो तिनीहरूका लागि आफसेआफ खुल्यो। बाहिर निस्केपछि तिनीहरू सडकमा हिंड्दै तल ओर्ले; तब उत्तिखेरै ती स्वर्गदूत तिनलाई छोडेर गए। ११  तब पत्रुसको होस फर्क्यो र भने: “अब भने मलाई थाह भयो, यहोवाले आफ्नो स्वर्गदूत पठाएर मलाई हेरोदको हातबाट छुटाउनुभएछ अनि यहूदीहरूले जे आशा गरिरहेका थिए, त्यस्तो हुनबाट बचाउनुभएछ।” १२  यो कुरा बुझेपछि तिनी मर्कूस नाम गरेको यूहन्नाकी आमा मरियमको घरमा गए। त्यहाँ निकै जना चेला भेला भएर प्रार्थना गरिरहेका थिए। १३  तिनले मूलढोका ढकढक्याउँदा रोदा नाम गरेकी नोकर्नी ढोका खोल्न आइन्‌। १४  तर पत्रुसको सोर चिनेपछि तिनी असाध्यै खुसी भइन्‌ र ढोकै नखोली दगुर्दै भित्र फर्किन्‌ अनि पत्रुस बाहिर ढोकामा उभिरहेका छन्‌ भनेर खबर गरिन्‌। १५  उनीहरूले तिनलाई भने: “तिमी बौलायौ कि के हो?” तर तिनले पत्रुस साँच्चै आएका हुन्‌ भनेर जिद्दी गरिरहिन्‌। तब उनीहरूले भन्न थाले: “त्यसोभए त्यो तिनको स्वर्गदूत होला।” १६  तर पत्रुसले ढोका ढकढक्याइरहे। जब उनीहरूले ढोका खोले, तब तिनलाई देखेर उनीहरू छक्क परे। १७  तर तिनले हातले चुप लाग्ने इशारा गरे अनि यहोवाले तिनलाई कसरी झ्यालखानाबाट बाहिर ल्याउनुभयो भनी उनीहरूलाई सविस्तार सुनाए। त्यसपछि यसो भने: “यो कुरा याकूब र अरू भाइहरूलाई खबर गर।” तब त्यहाँबाट निस्केर तिनी अर्कै ठाउँमा गए। १८  जब उज्यालो भयो, तब पत्रुस कहाँ गए होला भनेर सिपाहीहरूबीच खैलाबैला मच्चियो। १९  हेरोदले तिनलाई धुइँधुइँती खोजे तर कतै नभेटेपछि उनले पहरेदारहरूलाई केरकार गरे अनि तिनीहरूलाई सजाय दिने हुकुम गरे। त्यसपछि उनी यहूदियाबाट सिजरिया ओर्ले र केही समय त्यहीं बिताए। २०  उनी टायर र सीदोनका मानिसहरूसित लडाइँ गर्ने सुरमा थिए। त्यसैले त्यहाँका मानिसहरू एकै मतका भएर हेरोदसामु उपस्थित भए अनि राजघरानाको रेखदेख गर्ने बलस्तसलाई मनाएर तिनीहरूले शान्ति-प्रस्ताव अघि सारे, किनकि तिनीहरूले हेरोदकै देशबाट खाद्यान्न पाउँथे। २१  तब तोकिएको दिनमा हेरोद शाही पोसाक पहिरिएर न्यायआसनमा बसे अनि जनसम्बोधन गरे। २२  उनको कुरा सुनेर त्यहाँ भेला भएका मानिसहरू यसो भन्दै कराउन थाले: “यो त मानिसको होइन, देवताको बोली हो!” २३  परमेश्वरलाई महिमा नदिएकोले यहोवाका स्वर्गदूतले उत्तिखेरै उनलाई प्रहार गरे अनि स्याउँस्याउँती कीरा परेर उनी मरे। २४  तर यहोवाको वचन बढ्दै र फैलँदै गयो। २५  तब यरूशलेममा राहत सामग्री वितरण गर्ने काम सकेर बर्णाबास र शावल एन्टिओक फर्के। तिनीहरूले मर्कूस नाम गरेका यूहन्नालाई पनि आफूसँगै ल्याए।

फुटनोटहरू

प्रे १२:१ * अर्थात्‌, “हेरोद अग्रिपा प्रथमले।”